• शुक्रबार, २ कार्तिक, २०८१
  • ०८:२४:४९

नेपालको पहिलो महिला मुख्य सचिव अर्थात् लीलादेवी गड्तौला

काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो । यो नियुक्तिसंगै गड्तौला नेपालको निजामती प्रशासनको उच्च नेतृत्व मानिने मुख्य सचिव बन्ने पहिलो  महिला  बन्नु भएको छ ।

वि.स. २०२३ साल भदौ १५  गते  तेर्‍हथुममा जिल्लामा जन्मेकी गड्तौला वि.स. २०५२ सालमा न्याय सेवा अन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बन्नुभएको थियो ।  उमेर हदका कारण उहाँ  आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनुहुनेछ । 

 गड्तौला २०६३ मा उपसचिव हुनुभएको थियो भने  २०७० मा सहसचिव हुनुभएको थियो । त्यसैगरी २०७७ मा सचिवमा बढुवा भएकी उहाँलाई मन्त्रीपरिषद्ले  २०८१ असार ३१ मा कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।  भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेकाले हाल मुख्य सचिव पद् खाली थियो । अर्याललाई राष्ट्रिय योजना आयोगमा अतिरिक्त पद सिर्जना गरी जिम्मेवारीमुक्त गरेसँगै मुख्यसचिवको निमित्त जिम्मेवारी गड्तौलालाई दिइएको थियो ।

उमेर हदका कारण उहाँ करिव ३५ दिनका लागि मात्र मुख्य सचिव बनेता पनि नेपालको इतिहासमा पहिलो महिला मुख्य सचिव बन्ने पात्र बन्नुभएको छ । प्रतिनिधि सभा, सर्बोच्च अदालत तथा राष्ट्रपती लगायतका संस्थाहरुको उच्च पदमा नेपाली महिलाहरुले जिम्मेवारी संहालेता पनि निजामति सेवाको उच्च्तम पदमा भने महिलाहरु पुग्न नसकेको अवस्थामा गड्तौलाको नियुक्तिले लैंगिक कोणबाट नेपाल राज्य समावेशीताको उच्चतम अभ्यास गर्ने अवस्थामा पुग्दै गरेको सन्देश प्रवाह भएको सरोकारवालाहरु बताउँछन् । 

पूर्व मुख्य सचिव डा. विमल कोइरालाले नेटिजन नेपालसंगको कुराकानीमा गड्तौलालाई लैंगिक समावेशीताको कोणबाट मात्र नभएर उहाँ एक सक्षम र प्रतिस्पर्धी राष्ट्रसेवक हुनुहुन्छ भनेर पनि हेनुपर्ने बताउँनुभयो । उहाँले समावेशीताको सन्देश पनि जाने भएकाले यसबाट अरु राष्ट्रसेवकलाई पनि उत्प्रेरणा मिल्ने बताउनुभयो । डा. कोइरालाले उहाँको कार्यकाल छोटो भएता पनि ये समयमा निस्पक्षता र कार्यदक्षतामा नयाँपन दिन सकिने बताउनुभयो । 

विद्यालय शिक्षा उहाँको जन्म भएको जिल्ला तेह्रथुमको तत्कालीन पिप्पले गाविस ५  सारदा प्राथामिक विद्यालयमा पुरा गर्नुभएको थियो । यो विद्यालय अहिले जिल्ला सदरमुकासमेत रहेको म्याग्लुङ नगरपालिकाको वडा नं  ४ मा पर्छ । उहाँको उच्च शिक्षा भने काठमाडौमा भयो ।

काठमाडौंमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसबाट आइएल र बीएलको अध्ययन गर्नुभएकी उहाँले  काठमाडौं विश्वविद्यालयको काठमाडौं स्कुल अफ ल बाट ह्युमन राइट्स एण्ड जेन्डर जष्टिजमा  स्नातकोत्तर गर्नु भएको छ । त्रिभुवन विश्वविद्यालयबाट  राजनीतिशास्त्रमा पनि स्नातकोत्तर गरेकी उहाँ एक सक्षम निजामति कर्मचारी मानिनुहुन्छ ।  झण्डै ३० वर्षे सरकारी सेवाकालमा  गड्तौला कुनै विवादमा मुछिनुभएको छैन । त्यसैले पनि मुख्यसचिवका लागि धेरै दाबेदाहरु दोडधुप गर्दैगर्दा उहाँको नियुक्तिप्रति प्रायको सकारात्मक भाव रहेको देखिएको छ ।