• बुधबार, २३ असोज, २०८१
  • ०९:००:५२

सडकबाट बाहिरिँदै १० लाख यात्रु

काठमाडौँ  चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् । घटस्थापनादेखि पाँच दिनसम्म चार लाख २४ हजार यात्रु बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

२४ घण्टामा झन्डै एक लाख यात्रु राजमार्ग भएर बाहिरिरहेका छन् । उक्त सङ्ख्या फूलपातीका दिनसम्म अझ बढ्न सक्ने ट्राफिक प्रहरी कार्यालयको दाबी छ । मङ्गलबार, बुधबार र बिहीबार धेरै सङ्ख्यामा यात्रु बाहिरिने भएकाले ट्राफिक व्यवस्थापन पनि सोही अनुसार गरिएको कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन कार्कीले बताउनुभयो । 

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका दिन पनि यात्रा गर्न सकिने जनाएको छ । सार्वजनिक सवारी नियमित रूपमा सञ्चालन हुने भएकाले लामो तथा छोटो दुरीका सवारी सञ्चालन हुने महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो । बसहरू नियमित रुट र क्यु फ्रीमा सञ्चालन हुने छन् । 

असोज २४ गते फूलपातीका दिनसम्म यात्रुको चाप हुने भएकाले थप गाडी सञ्चालन गरिएको छ तर सडक भत्किएकाले समयमा काठमाडौँ आउनुपर्ने सवारी आउन नसक्दा व्यवस्थापनमा कठिनाइ भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडकको अवस्था विजोग छ । आउनुपर्ने गाडी समयमै आउन सकेका छैनन् । गाडी थपेर सेवा प्रवाह भइरहेको छ । काठमाडौँबाट जाँदा सिटफुल भए पनि आउँदा रित्तै आउनु पर्छ । गोरखापत्र दैनिकबाट