सतीदेवी चलचित्रको अनौठो प्रतियोगिता, प्रथम पुरस्कार रु.२० हजार
- नेटिजन संवाददाता
- सोमबार, १४ श्रावण, २०८१- ०७:२९:००/ Monday 07-29-24
काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा चर्चा कमाएको चलचित्र हो ‘सतीदेवी । यो चलचित्रले नेपालको सामाजिक परिवेश, पारिवारिक बाध्यता अनि लैंगिक दृष्टिबाट आफ्ना सन्तानलाई हेर्ने मनोविज्ञानलाई गहन ढंगले उजागर गरेको छ । हालै मात्र सार्वजनिक भएको चलचित्रको लैजा दैव फिर्ता लैजा भन्ने गीतले धेरैको मन छोएको छ । यसैविच सतीदेवी चलचित्रले आफ्नो प्रचारमा नयाँ शैली प्रयोग गरेको छ । यहि नयाँ शैली मध्येको एक हो ‘ठुङ मार्नूस्, नगद पुरस्कार जित्नूस्’ । यो प्रतियोगितामार्फत ‘सतीदेवी’ निर्माताले पुरस्कारको घोषणा गरेका छन् ।
परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको फोटो खिचेर आफ्नो फेसबुक र इन्स्टाग्राममा ‘फिल्म ‘सतीदेवी’ ०७ भदौबाट प्रदर्शन हुँदै छ’ भन्ने क्याप्सन लेखेर पोस्ट गरी फेसबुक पेज सतीदेवीमा ‘ट्याग मेन्सन’ गर्ने र इनबक्समा पठाउनु पर्ने छ । त्यसै गरी इन्स्टाग्राममा अनिवार्य ‘ट्याग मेन्सन’ गर्नुपर्ने छ । यो नियमको पालना गर्दै प्रतियोगितामा संलग्न मध्येबाट विजेता छानिने छ । प्रतियोगिताका पहिलो विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार रुपियाँ प्राप्त गर्ने चलचित्र निर्माण कम्पनी दिलासा व्रिmएसनले जनाएको छ । फोटो पठाउने अवधि साउन ३१ गते रातिसम्म तोकिएको छ ।
रंग पत्रकारितामाम लामो समयदेखि सक्रिय पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको यो चलचित्र यहि भदौ ७ गतेदेखि देशभर एकैसाथ प्रदर्शन हुदैछ । सुवेदीले यो चलचित्रलाई निकै गुणस्तरको बनाउन मेहनत गरेको यसमा संलग्नहरुले बताएका छन् । चलचित्रले प्रदर्शन अघि नै आधा दर्जन जति अवार्ड समेत जिति सकेको छ । छोराको आशमा छोरीमाथि गरिने विभेद र त्यसले समाज तथा परिवारमा पार्ने नकारात्मक असरलाई चलचित्रले मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
‘सतीदेवी’ मा मलिका महत, सिर्जना अधिकारी, सुजिता शिवाकोटीको अभिनय रहेको छ । हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी बालकलाकार हुनुहुन्छ । चलचित्रमा कुलबहादुर अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, सन्देश लिम्बू, भोला सापकोटा, सुजिता शिवाकोटीलगायतको अभिनय रहेको छ ।
कथवस्तु, गीत, पत्र, जीवन्त अभियन र कुशल निर्देशनले चलचित्रलाई सबै मन छुने बनाउन सकिएको बताइएको छ ।