सुरक्षा मापदण्डविपरीत विमनस्थलमा तेल डिपो : उच्च जोखिममा विमानस्थल र बस्ती
- नेटिजन संवाददाता
- बिहीबार, १७ श्रावण, २०८१- ०७:१४:००/ Thursday 08-01-24
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा रहेको छ । त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामङ्गलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो । विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि १ सय मिटर दुरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ ।
हवाई इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै सो डिपोको स्थापना गरिएको थियो । निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै बेला गम्भीर क्षति गर्न सक्ने उच्च सम्भावना छ ।
५० रोपनी जग्गा रहेको गुह्येश्वरीको खाल्डोनजिक रनवेको उत्तर पश्चिमको कुनामा डिपो सार्न उपयुक्त छ भनेर नेपाल वायुसेवा निगमले पनि अनुरोध गरेकामा सार्ने प्रक्रिया अगाडि नबढ्दा उच्च जोखिम देखिएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले चाहिँ डिपो सार्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कुनै पनि निर्देशन नआएको जानकारी दिनुभयो । उहाँले अर्काे ठाउँमा डिपो सार्न प्राविधिक रूपमा कठिन रहेको दाबी गर्नुभयो ।
यही साउन ९ गते धावनमार्गबाट करिब दुई सय मिटरमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाले त्यो जोखिम अरू उच्च रहेको स्पष्ट देखाएको छ । उक्त दुर्घटना विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा भयो, त्यही दुर्घटना विमानस्थलको दक्षिण पश्चिम क्षेत्रतिर भएको भए डिपोलाई प्रत्यक्ष असर पर्ने थियो ।
नेपाल आयल निगम, हवाई इन्धन डिपो कार्यालय सिनामङ्गलका प्रमुख प्रदीप यादवले यो तथ्यलाई स्विकार्दै भन्नुभयो, “गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्स उत्तरतिरबाट उडेर दायाँ मोडेको भए डिपोमै परी ठुलो क्षति हुने थियो ।”
यो डिपो अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डविपरीत छ । त्यही भएर आइकाओले डिपो त्यहाँबाट हटाउन नागरिक उड्डयन प्राधिकरणमार्फत नेपाल आयल निगमलाई दुई वर्षअघि नै पत्राचार गरेको थियो तर निगम व्यवस्थापनले भने डिपो सार्ने प्रक्रिया अगाडि बढाएका छैन ।
नेपाल आयल निगमको हवाई इन्धन डिपो कार्यालय सिनामङ्गलका प्रमुख यादवले हवाई इन्धन डिपो उच्च जोखिम स्थानमा रहेकाले तत्काल सार्न अति आवश्यक रहेको बताउनुभयो । “डिपो घनाबस्ती र आइकाओको सुरक्षा मापदण्डविपरीत स्थानमा रहेकाले तत्कालै सार्नुपर्ने देखिन्छ, कुनै घटना भयो भने डिपोका कारण स्थानीय बस्तीमा ठुलो जनधनको क्षति पुग्ने देखिन्छ ।”
सुरक्षाको दृष्टिकोणले हंसा कन्सलटेन्सी, आइकाओ र विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाको मास्टर प्लानमा उत्तर पश्चिमको गुह्येश्वरीस्थित गल्फ कोर्सनजिकैको खाल्डो भएको क्षेत्र सबैभन्दा राम्रो मानिएकाले डिपो त्यही सार्न जग्गा उपलब्ध गराए पनि सार्ने प्रक्रिया अगाडि बढ्न नसकेको डिपो प्रमुख यादवले जानकारी दिनुभयो ।
५० रोपनी जग्गा रहेको गुह्येश्वरीको खाल्डोनजिक रनवेको उत्तर पश्चिमको कुनामा डिपो सार्न उपयुक्त छ भनेर नेपाल वायुसेवा निगमले पनि अनुरोध गरेकामा सार्ने प्रक्रिया अगाडि नबढ्दा उच्च जोखिम देखिएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले चाहिँ डिपो सार्ने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कुनै पनि निर्देशन नआएको जानकारी दिनुभयो । उहाँले अर्काे ठाउँमा डिपो सार्न प्राविधिक रूपमा कठिन रहेको दाबी गर्नुभयो ।
यसबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता चण्डी घिमिरेले मन्त्रालय तहमा यस विषयमा कुनै जानकारी नआएको बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निगमलाई डिपो सार्ने विषयमा जानकारी गराए पनि सम्बन्धित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्णय भएर उद्योग मन्त्रालयमा आउनुपर्ने उहाँले बताउनुभयो ।
सिनामङ्गल हवाई इन्धन डिपोमा हाल ७ हजार ६६० किलो हवाई इन्धन भण्डारण क्षमता रहेको छ । दैनिक ४ सय किलोलिटर हवाई इन्धन खपत हुने कार्यालयले जनाएको छ । यो डिपोमा १ हजार ६ सय किलोलिटरका ३ वटा, ७६० किलोलिटरका ३ वटा र ७० किलोलिटर क्षमताको ८ वटा इन्धन भण्डारण गर्ने भाँडा छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सिनामङ्गलको घनाबस्तीबिच अति जोखिम अवस्थामा रहेको उक्त डिपो सार्न पटक पटक निगमको ध्यानाकर्षण गराए पनि निगम संवेदशील बन्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निगमले नै सैद्धान्तिक सहमति नदिएर बारम्बारको आह्वानलाई अटेरी गर्दै तपाईं हाम्रो सुरक्षामा खेलाँची गर्दै आएको छ । त्यसै पनि विमानस्थल साँघुरो बन्दै गएको अवस्थामा निगमले सार्ने उपयुक्त जग्गा छैन भनेर अटेर गर्दै आएको बुझिएको छ ।”
डिपोको विषयलाई सुरक्षासँग पनि जोडेर हेर्नुपर्ने धारणा व्यक्त गर्दै भुलले डिपोवरिपरि रहेका करिब १० हजारभन्दा बढी सर्वसाधारणको जीवनसँग जोडिएको विषयमा निगम मौन भएर बस्न नहुने बताउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार गत बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनासहित हालसम्म त्रिभुवन विमानस्थल परिसरमै ५ पटक हवाई दुर्घटना भएका छन् । जसमा परी ७२ जनाको ज्यान गएको छ भने २७८ जना घाइते भएका छन् ।
सिनामङ्गल हवाई इन्धन डिपोमा हाल ७ हजार ६६० किलो हवाई इन्धन भण्डारण क्षमता रहेको छ । दैनिक ४ सय किलोलिटर हवाई इन्धन खपत हुने कार्यालयले जनाएको छ । यो डिपोमा १ हजार ६ सय किलोलिटरका ३ वटा, ७६० किलोलिटरका ३ वटा र ७० किलोलिटर क्षमताको ८ वटा इन्धन भण्डारण गर्ने भाँडा छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको सो डिपोका कारण विमानस्थल र पार्किङ गरिएका जहाजसमेत उच्च जोखिममा छन् । विज्ञका अनुसार डिपोतर्फ जहाज खसेर डिपोमा ठोक्किएको अवस्थामा १० हजारभन्दा बढी सर्वसाधारण दुर्घटनामा पर्न सक्ने जोखिम छ । गोरखापत्र दैनिकबाट।