रुसमा शक्तिशाली भूकम्प र ज्वालामुखी, ८ किलोमिटर माथिसम्म खरानीको मुस्लो
- नेटिजन संवाददाता
- आइतबार, २ भदौ, २०८१- १०:३१:००/ Sunday 08-18-24
काठमाडौं । रुसको पूर्वी तट नजिकै ७ म्याग्निच्युडको भूकम्प गएपछि ज्वालामुखी पनि विस्फोट भएको छ । रुसी सरकारी संचार माध्यमले सिभेलुच नामक ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको जनाएका छन् ।
सो सहरमा करिब १ लाख ८० हजार मानिसको बसोबास रहेको छ । ज्वालामुखी विस्फोटपछि धुँवा र खरानीको मुस्लो ८ किलोमिटरमाथि आकाशसम्म पुगेको र जमिनको धेरै भागमा लाभा समेत फैलिएको बताइएको छ ।
भूकम्प र ज्वालामुखीमा परी घाइते वा हताहत भएको विवरण हालसम्म प्राप्त भएको छैन ।
भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा ३० माइल गहिराइमा रहेको छ । भूकम्पपछि सुनामीको खतरा भने जारी गरिएको छैन । अहिले जोखिम क्षेत्रमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ ।