• मंगलबार, १ असोज, २०८१
  • १२:३७:४९

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा उडान सुरक्षा प्रणालीको कमजोरी

काठमाडौँ । गत साउन ९ गते काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे गठित जाँचबुझ समितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।प्रतिवेदनमा जहाज दुर्घटनाको मुख्य कारणमा जहाजको तौल सन्तुलन नमिलेको, टेकअफको गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र उडान सुरक्षा प्रणालीको कमजोरीलाई देखाइएको छ । विस्तृत परीक्षण (सि–चेक) का लागि पोखरा उडेको उक्त जहाजमा कम्पनीका प्राविधिक कर्मचारीबाहेकका यात्रु सवार रहेको विषयमा भने जाँचबुझ समितिले कुनै विषय उठान गरेको छैन ।

१८ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनाका कारणमा पाइलटले जहाज टेकअफका क्रममा अस्वाभाविक हाई पिच लिएको (टेकअफ पिचको गति प्रतितीन डिग्री प्रतिसेकेन्ड हुनुपर्नेमा ८.६ डिग्री देखिएको) रिपोर्टमा उल्लेख छ ।

त्यसै गरी जहाज टेकअफको समयमा लोड ब्यालेन्ससमेत नभएको अध्ययन रिपोर्टमा उल्लेख छ । समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत उड्डयन सुरक्षाका विषयमा सुझाव दिँदै (नियमित र चाटर) प्राविधिक जहाज उडान अनुमतिबारे कार्यविधि बनाउन, सबै वायु सेवा प्रदायक कम्पनीलाई स्पिड कार्डको तत्काल पुनरवलोकन गर्न र कार्गो तथा ब्यागेज ह्यान्डलिङका विषयमा पनि मापदण्ड पालना गर्न सिफारिस गरेको छ । कार्गो र ब्यागेज ह्यान्डलिङमा बेवास्ताले समस्या निम्त्याउन सक्ने भन्दै समितिले मापदण्डलाई कडाइका साथ पालना गर्नसमेत आवश्यक रहेको औँल्याएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा गठित आयोगले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई प्रतिवेदन बुझाएको हो । 

समितिले प्रारम्भिक रूपमा दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर सूचनामूलक प्रतिवेदन तयार पारेको जनाउँदै अन्तिम प्रतिवेदनका लागि विस्तृत प्राविधिक अनुसन्धान हुने प्रतिवेदनमा उल्लेख गरेको छ ।

समितिले चालकदलका सदस्यलाई पर्याप्त तालिम र रिफ्रेसमेन्ट तालिम दिनुपर्ने, जहाजमा कुनै समस्या आउनेबित्तिकै क्याप्टेनले एटिसीसँग सहयोग माग्नुपर्ने विषयमा भने कुनै सिफारिस गरिएको छैन । 

आवश्यक प्राविधिक कर्मचारीबाहेक एयर होस्टेसलाई समेत उडाउन नमिल्ने उक्त उडानमा उड्डयन सुरक्षाको नियम अनुसार कम्पनीका प्राविधिकका नाबालक छोरा र श्रीमतीलाई समेत उडाउँदा एउटा परिवारका तीनै जनाले ज्यान गुमाउनु परेको थियो । प्राविधिक श्रीमान्सँगै घुमघामका लागि पोखरा उडेका महिला र उहाँका नाबालक छोरालाई सौर्य एयरलाइन्सले उडान अनुमति दिएको विषयबारे भने जाँचबुझ समिति मौन बसेको छ । गोरखापत्र दैनिकबाट