• शुक्रबार, ७ मङ्सिर, २०८१
  • ०४:२७:५९

आजको नेपाली कला

काठमाडौं ।  नेपालमा समसामयिक कला छरपस्ट कला शैलीका रूपमा देखिन्छन् । यथार्थता अनि अमूर्तताको घेराभित्र चर्चा परिचर्चा गर्ने परम्पराभन्दा धेरै पर अर्थात् विचार, अवधारणमा उभिएका कला भाव–भावनादेखि धेरैमाथि उक्लिएको छ । भक्ति भावका सशक्त माध्यम बनेका परम्परागत कलाका आइकन (देवी–देवताहरू) नै आधुनिक वा उत्तरआधुनिक कलाको आधार भूमिमा देखिनु आजको कलागत विशेषता हो । 


अर्थसँग ज्यादै नजिक हुन खोजिरहेको (व्यावसाय वा कमिसन ओर्क दुवैको अर्थमा) आजका कलाहरू कतै माग अनुसार परिवर्तन भइरहेका छन् भने कतै एक्सपेरिमेन्टल कलाको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक वा राजनीतिक सवालसँग गाँसिएका देखिन्छन् । यसोहुँदा पनि कुनै न कुनै प्रकारबाट अर्थसँग गाँसिएका देखिन्छन् । कला अर्थसँग गाँसिनु शाश्वत आवश्यकता हो तर प्रश्न चाहिँ अर्थका लागि कला बनाइन्छ कि बनाइएका कलाहरूले सामाजिक–आर्थिक मूल्यमान्यताका लागि आग्रह गर्ने गर्छन् । दुवैमा कुन चाहिँ अर्थको सन्दर्भ हाम्रो आजको कलामा गाँसिएको छ यसलाई हेर्न भने आवश्यक देखिन्छ । 

आजका कला परम्परागत कलाहरू, लोककलाहरूमै पनि, असीमित विषयगत रूपमा, पश्चिमी अङ्कन पद्धतिमा अनि माध्यममा विश्वमा अहिले चलिरहेको शैली र प्रवृत्तिसँग नजिक हुन खोज्दा एउटा अलग शैलीमा विकास भएको देखिन्छ । पश्चिमी आधुनिक उत्तरआधुनिक प्रवृत्तिले ज्यादा नै प्रभाव पार्दा, कला स्ट्रिट आर्टदेखि पर्फमेन्स, इन्स्टलेसन, भिडियो आर्ट, ल्यान्ड आर्टदेखि इन्ट¥याटिभ कलादेखि, पार्टिसिपेटोरीसम्मका कला सिर्जना हुँदा यस्ता कलाको पचासौँ अलग अलग स्वरूपहरू देखिन्छन् । हस्तकलासँग मिसिएर देखिने कला अझ अलग्ग देखिन्छ ।

अमूर्त कला पनि एकतिर जिउँदै देखिन्छ । प्रभाववादी कला, यथार्थवादी कला पनि आज पनि छ्याप्छ्याप्ती देखिन्छ । सबैभन्दा रमाइलो कुरा त यी सबैखाले कलाहरू एउटै कला प्रदर्शनीमा प्रदर्शित भएका देखिन्छन् । यो छ्यासमिसे कलालाई मैले समग्रमा छरपस्ट कला शैली भन्ने गरेको छु ।      

उन्नाइसौँ शताब्दीको मध्यतिर (सन् १८५० मा भएको विशेष गरेर तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको राजकीय बेलायत भ्रमण) पश्चिमी कला शैली नेपाली परम्परागत कलामा फ्युजन हुँदा देखापर्दै गएको कलाका प्रवृत्तिले अहिले अनेकौँ मोड समातेको देखिन्छ । तत्कालीन प्रधानमन्त्रीले पश्चिमी कला पद्धति मात्र होइन चित्र मूर्ति, वास्तुकला, नाटक, नाचदेखि बेलायती जीवन शैली, सोच, चाल चलन, नेपाल भिœयाउने काम गर्दा नक्कल गर्ने, गराउने परम्पराको शुभारम्भ गरेका थिए ।

नेपाली कलाको यो एउटा मोड थियो जहाँबाट पश्चिमेली कला दर्शन, कला पद्धति, माध्यम र कला सिर्जना गर्ने प्रवृत्ति नेपालमा पस्यो । सुगौली सन्धिदेखि भित्रिएको, भिœयाइको विदेशीहरूसँगको उठबस, सँगसँगै विदेशी कला पद्धतिले प्रवेश पाएको हो तर यसले यस्तो व्यापकता छाएको पनि देखिएन । यसले समाजलाई नै प्रभाव पार्ने गरी केही क्रियाकलापहरू देखा परेका थिएनन् । यस कारण पनि तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले पश्चिमी रहनसहन, कला वस्तुकला, संस्कृति, संस्कारलाई जसरी भिœयायो यो एउटा ठुलो मोडका रूपमा हेर्नुपर्ने हुन्छ ।   

यसका राम्रा नराम्रा दुवै पक्ष रहे । हाम्रो आफ्नै दोस्रो आयामिक चित्र–अङ्कन पद्धति विस्तारै तेस्रो आयामिकतिर ढल्कन थाले । पश्चिमी पाठ्यक्रममा आधारित कलाका स्कुलहरू खुले तर हजारौँ वर्षदेखि चलिआएको हाम्रो परम्परागत कला, लोककलाकोे औपचारिक कला स्कुल चाहिँ कहिले खुलेन । कलाकारहरू स्वयंको व्यक्तिगत प्रयासमा यस्ता कलागत स्कुलहरू खुले पनि राष्ट्रिय कलाको मूल धारमा प्रवेश, भएको गराइएको, गरिएको कहिले देखिएन । यस प्रकार हाम्रो समाज समुदायमा, अनि समुदायकै सव्रिmयतामा संस्कार चाडवाड, जात्रा कर्मकाण्ड, पूजाआजामा हाम्रा परम्परागत कला, लोक कला बाँच्दै रहे । आज पनि नेपाली कला यसरी नै बाँचिरहेको छ । राष्ट्रको मूल धारको विकासको क्रममा यसले कहिले प्रवेश पाएको छैन । 

यसै बेलादेखि कला दुई फक्ल्याँटो विभाजित हुँदा, समसामयिक कला अनि परम्परागत कलाको नाम आज पनि कायम रहेको देखिन्छ । आजको कला भनेकै यही समसामयिक कला हो । नेपाली प्राचीन वा माध्यमिक कलालाई स्पट रूपमा परम्परागत कला भन्न सकिए पनि आज यही कलामा पनि समसामयिकताको कैयौँ अभिलक्षण देखिँदै गर्दा, गराउँदा यही कलाले पनि आजको समसामयिक कलाकार हुन रुचाउनेको सङ्ख्या पनि ह्वात्तै बढ्दै गएको छ । आजको अन्तर्राष्ट्रिय कला प्रदर्शनी, मेलाहरूमा यस्ता परम्परागत समसामयिक कला सजिलै सहभागिता भएका देखिन्छन् । आजका यस्ता कला मेलाहरूमा समसामयिक कला माझ, हस्तकला, उपयोगी कलादेखि परम्परागत कला अनि लोककला समेत सगोलमा प्रदर्शन भएका देखिन्छन् ।       

बिसौँ शताब्दीको शुभारम्भतिर भारतमा, कलकत्ता स्कुल अफ आर्टमा पश्चिमी कला दर्शनलाई विमुख गर्न त्यतिबेलाको कलाका गुरुहरूले स्कुलका भित्ता भरी पश्चिमी कला निकालेर मुगल र राजस्थानी कला टाँस्न लगाउँथे । विद्यार्थी कलाकारलाई अध्ययनको क्रममै अजन्ता र एलोराका भित्तेचित्रको अध्ययन गर्न कपी तयार गर्न पठाउथे रे । अनि यसलाई कला स्कुलको चारैतिर टाँसेर राख्न लगाउँथे भनिन्छ । यसको मूल उद्देश्य पश्चिमी कला पद्धति सिकिराख्दा पनि विद्यार्थी तथा कलाकारको मन मस्तिष्कमा भारतीय कला र संस्कृतिले कहीँ न कहीँ झकझकाइरहोस् भन्ने गुरुहरूको मनसाय हुन्थ्यो  भन्ने विश्वास गरिन्छ । 

प्रविधि, सीप, दक्षता जतिसुकै सबल देखिएका पनि कलाकारको मन, मस्तिष्कमा सलबलाइरहेको विचार, सोच अवधारणले नै कस्तो कलाको सिर्जना हुन गइरहेको छ भन्ने सङ्केत गर्दछ । यही ज्ञानको उपज अनि प्रव्रिmयाभित्र मौलिकताको अंश पनि लुकेर बसेको देखिन्छ । कलकत्ता स्कुलका गुरुहरूले यसलाई रामरी बुझेका हुनु पर्दछ । नेपालका कलाकार चन्द्रमान सिंह मास्के, तेजबहादुर चित्रकार, अनि अलि पछि लैनसिंह वाङ्देल पनि यसै कलाको स्कुलबाट दीक्षित भएका हुन् । यी कलाकारहरूले यसलाई कत्ति मनन गरे– गरेनन् अध्ययन गर्न चाहिँ बाँकी नै छ । यसैबेला विश्व कवि रवीन्द्रनाथ टैगोरले खोलेको शान्ति निकेतन कला स्कुलमा सिर्जनशील कलाकारद्वारा नै लोककला पढाइन्थ्यो, सिकाइन्थ्यो । पहिलो समसामयिक महिला मूर्तिकार प्रमिला गिरी पनि यही शान्ति निकेतन कला स्कुलका प्रोडक्ट हुन् ।     

प्रधानमन्त्री जङ्गबहादुरले भित्र्याएको यो अवस्थाले नेपाली सामाजिक राजनीतिक संरचना मात्र होइन सामान्य मान्छेका दिनचर्या, संस्कृति र संस्कारसमेत प्रभावित भए । फलस्वरूप समाज आफैँ फरक ढङ्गबाट परिवर्तन हुँदै गर्दा स्वाभाविक तवरमा कलाका स्वरूपहरू पनि परिवर्तित रूपमा देखा परे । धार्मिक कलासमेत पश्चिमी अङ्कन पद्धतिमा अङ्कन हुन थाले । 

विदेशी प्रभाव यति गहिरो थियो कि शास्त्रीय धर्मको विधि–विधानको आधार बन्ने गरेका हाम्रो परम्परागत कलाभन्दा नितान्त बेग्लै धारमा यसले आफ्नो स्थान सुरक्षित ग¥यो । यस बखत विश्वका धेरै देशहरूमा यही पश्चिमी पद्धतिले जरा गाडिसकेकाले पनि नेपालमा यस्तो हुनु स्वाभाविक नै थियो । 

दसौँ, एघारौँ शताब्दीदेखि अधिकारिक रूपमा देखापरेको ग्रन्थ चित्रसमेतमा धर्मकथा, गाथा यसका विधि विधानमा अनुशासित भएर संलग्न हुँदा यो पूर्वीय कलाको नमुनाको रूपमा चिनिन्थ्यो । साथसाथै यही परम्परागत कलामा लोककलाका सुगन्धसमेत समावेश हुँदा पूर्वीय कला दर्शनको अभिलक्षण सघनताका साथ दृश्यावलोकन हुन्थ्यो । पछि विकसित हुँदै गएका विविध शैलीहरू जस्तै देवीदेवताको चित्रभित्रै भक्तहरूको व्यक्तिचित्रको पनि समावेश, काल्पनिक चित्रमा पनि दृश्यचित्रको समावेश आदिले एउटा नेपालीपनको अलग्ग पहिचान दिन्थ्यो । 

पछिल्लो कालमा विकसित भएको यो पश्चिमी कलाले त विधिवत् रूपमा पूर्वीय कलामा धावा बोलेकै मान्नु पर्छ । यही कुरा धेरै राष्ट्रहरूले समयमै बुझे अनि आफूलाई सच्याए । पश्चिमी अङ्कन पद्धतिमा पनि आफ्नोपन ल्याएको देखियो । नेपालमा चाहिँ यो कुरा आजसम्म पनि बुझेको पाइएको देखिँदैन । ज्यादै पश्चिमी प्रवृत्ति प्रभावित हुँदा त्यतिबेला हामी कति सचेत हुन खोज्यौँ थाहा छैन तर आज ठाउँ ठाउँमा खोट र दाग देखिन थालेपछि देखापरेको कलाको स्वरूपमा हामी सचेत हुँदै हाम्रो मौलिकता, परम्परा र ऐतिहासिक धरोहरलाई टटोेल्ने जमर्को गर्दै छौँ । यो मौलिकताको अन्योलता आजको कलामा कहीँ न कहीँ दृश्यावलोकन हुन्छ तर आज पनि यस विषयमा चिन्तन, मनन, बहस भएको देखिएको छैन । आज पश्चिमी भाषा, संस्कार, तौरतरिका र उतैकालाई अघिल्तिर लगाएर नेपाली कलाको बहस गर्न थालेका छौँ । 

समकालीन नेपाली कलामा पहिला जस्तो सिलसिलेवार जोडी खोजी गर्ने हिसाबमा कलालाई व्याख्या विश्लेषण गर्न सहज छैन । कला जसरी द्रुत गतिमा परिवर्तन हुँदै गयो यही हिसाबमा कलाका शैक्षिक प्रक्रियाहरू अगाडि बढाउन सकिएन । यसका अनेकौँ कारण रहे होलान् । सहज र सरल हाम्रो परम्परा, भाषा र संस्कृतिलाई दुर्बोध्य र जटिल बनाई बाह्य कलागत प्रवृत्तिको प्रभावलाई सन्तुलनमा राख्न नसक्दा धेरै विकृति पनि कलामा देखापरे । 

आजको कलाको अर्को पक्ष भनेको विश्वमा अति द्रुत गतिमा बढिरहेको कलाशैलीले आजको नेपाली कलालाई प्रभाव पार्दा यही अनि यस्तै कलागत प्रवृत्तिमा नेपाली कला दगुर्न थलिरहेका छन् । अनलाइनको सहजता अनि रेसिडेन्सीको चर्को आकर्षणले गर्दा कलामा अनौठा अनौठा स्वाभावले बास बस्न पाएको छ । आज साइबर–कल्चर, ग्लोबलाइजेसन, लोकलाइजेसन, वैकल्पिक कला, उत्तरआधुनिक कलाको अनेकानेक नामका साथ सीमाहीन भएर आजको नेपाली कला देखा परेको छ । जसले गर्दा यस्ता कलाले कहाँनेर कलाको आधारभूत तìवलाई समेत नाघेको छ, पत्ता पाउन गाह्रो छ तापनि कलाका प्रदर्शनीहरू बगुन्द्रो हुन भने छाडेको छैन ।

कलाको यस्तो अलौकिक रूप अनि भावक बिचको मौन अन्तव्रिर्mया हुन छोडेको हो कि जस्तो भएको छ । भएको भए यसको परिणति फरक ढङ्गबाट देखापर्ने थियो । यस्तो परिस्थिति कसरी आइरहेको छ ? एउटा ठुलो प्रश्न नै आजको कलाको मूल मुद्दा नै हो । जसमाथि बहस चलेको कमसेकम मैले सुनेको छैन ।  मधुपर्कबाट