• बिहीबार, ११ पौष, २०८१
  • ०५:२९:२४

के हुन् त ? साइबर सुरक्षा र साइबर अपराध

काठमाडौं। सन् २००४ मा विश्वभर करिब ३.५ अर्ब अमेरिकी डलर साइबर सुरक्षाका लागि खर्च भएको थियो भने सन् २०११ मा यो खर्च ६४ अर्ब अमेरिकी डलर पुगेको थियो। इन्टरनेसनल डेटा कर्पोरेसनका अनुसार, सन् २०२३ सम्म यो खर्च २१९ अर्ब अमेरिकी डलरभन्दा बढी भएको अनुमान छ। साइबर सुरक्षामा बढिरहेको लगानीले यो क्षेत्र कत्तिको संवेदनशील र महत्त्वपूर्ण हुँदै गइरहेको छ भन्ने स्पष्ट हुन्छ।


साइबर सुरक्षा के हो?

तपाईं हामीले प्रयोग गर्ने कम्प्युटर, मोबाइल फोन, र स्मार्ट टिभी जस्ता डिजिटल उपकरणहरू प्रायः इन्टरनेट वा स्थानीय नेटवर्कमार्फत जोडिएका हुन्छन्। यी उपकरणहरूको माध्यमबाट अनधिकृत वा आपराधिक पहुँच रोक्न अपनाइने प्रविधि र प्रक्रियालाई नै साइबर सुरक्षा भनिन्छ। साइबर सुरक्षा भनेको सम्भावित आक्रमणहरूको पहिचान, प्रतिरोध, र न्यूनीकरण गर्ने प्रणाली हो। यो डिजिटल जानकारीलाई सुरक्षित राख्नका लागि महत्त्वपूर्ण छ।

‘साइबर’ शब्दको अर्थ

‘साइबर’ शब्दले इन्टरनेटद्वारा सञ्चालित सम्पूर्ण डिजिटल नेटवर्कलाई जनाउँछ। यसमा हार्डवेयर, सफ्टवेयर, र आँखाले नदेखिने डिजिटल संरचनाहरू पनि समावेश हुन्छन्। पछिल्लो समय ‘इन्टरनेट अफ थिङ्स’ (IoT) को विकासले यो अझ व्यापक बनेको छ। IoT ले विभिन्न सेन्सर, सफ्टवेयर, र प्रविधिहरू प्रयोग गरी डिभाइसहरूबीच सूचना आदानप्रदानको प्रक्रियालाई सहज बनाउँछ।

साइबर अपराध के हो?

साइबर अपराध भनेको कम्प्युटर, नेटवर्क, वा सफ्टवेयरको माध्यमबाट अन्य व्यक्तिको सूचना वा प्रणालीमा अनधिकृत पहुँच राख्ने वा हानी पुर्‍याउने कार्य हो। यसलाई ‘कम्प्युटर अपराध’, ‘नेटवर्क अपराध’, ‘हाइटेक अपराध’, वा ‘अनलाइन अपराध’ भनेर पनि चिनिन्छ। कास्परस्कीका अनुसार, साइबर अपराध भन्नाले ती सबै गैरकानुनी गतिविधिहरूलाई जनाउँछ, जहाँ कम्प्युटर, नेटवर्क, वा अन्य डिजिटल उपकरणहरू प्रयोग गरिन्छन्।

साइबर सुरक्षाको महत्त्व

आजको प्रविधि-निर्भर समाजमा साइबर सुरक्षाको महत्त्व झन् बढिरहेको छ। संयुक्त राष्ट्रसङ्घको सूचना तथा सञ्चार प्रविधि एजेन्सी (आईटीयू) का अनुसार, सन् २०२२ सम्म ५.३ अर्ब मानिसले इन्टरनेट प्रयोग गरेका थिए। यो संख्या विश्वको ६६ प्रतिशत जनसङ्ख्या बराबर हो। साइबर सुरक्षा जागरुकता र सतर्कतामा निर्भर छ। जस्तैः सार्वजनिक वाइफाई प्रयोग गर्दा, तपाईंको डाटा कुनै अपराधीले चोरी गर्न सक्ने जोखिम हुन्छ। यसलाई ‘म्यान इन द मिडल’ आक्रमण भनिन्छ।

साइबर सुरक्षाका उद्देश्य:

१. गोपनीयताको रक्षा

गोपनीयता भनेको कुनै संवेदनशील तथ्याङ्क अनधिकृत व्यक्तिको पहुँचमा नपुग्ने सुनिश्चितता हो। जस्तै, तपाईंले अनलाइन सेवा प्रयोग गर्दा दिएको व्यक्तिगत विवरण अनुमति बिना अन्य प्रयोजनमा प्रयोग गर्नु साइबर अपराध हो।

२. अखण्डता कायम

तथ्याङ्कलाई बिना अनुमति परिवर्तन, सम्पादन, वा मेट्न नपाउने सुनिश्चितता साइबर सुरक्षाको अर्को उद्देश्य हो। जस्तैः बैंक खातामा रकम अनधिकृत रूपमा परिवर्तन हुनु साइबर अपराध हो।

३. सेवाको उपलब्धता

प्रयोगकर्ताले डिजिटल सेवाहरू आवश्यक समयमा सहजै पाउनु पर्छ। ‘डिनाइल अफ सर्भिस (DoS)’ आक्रमणले सेवा प्रयोगमा अवरोध गर्ने प्रयास गर्दछ, जसले वास्तविक सेवाग्राहीलाई समस्या हुन्छ। प्रविधि र इन्टरनेट प्रयोग बढ्दै जाँदा साइबर सुरक्षा हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको छ। चाहे यो व्यक्तिगत विवरणको सुरक्षा होस्, बैंकिङ प्रणालीको संरक्षण होस्, वा राज्यका गोप्य सूचनाहरूको रक्षा, साइबर सुरक्षाले हाम्रो डिजिटल भविष्य सुरक्षित बनाउँछ।

(यो लेख ‘साइबर सुरक्षाः अवधारणा र अभ्यास’ पुस्तकबाट साभार गरिएको हो। गङ्गालाल चपाई (निकेश), बाबुराम अर्याल र रविराज बराल )