• बिहीबार, ११ पौष, २०८१
  • ०४:३३:४६

लुम्बिनीले टस जितेर फिल्डिङ रोज्‍यो

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीको यो खेल शनिबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।


लुम्बिनी लायन्सका लागि यो खेल अत्यन्तै निर्णायक छ। लिगमा अहिलेसम्म जितविहीन रहेको यस टोलीले प्लेअफको सम्भावना जोगाइराख्न आजको खेल जित्नैपर्ने दबाबमा छ। पहिलो खेलमा विराटनगर किङ्ससँग २ विकेटले नजिकको हार व्यहोरेको लुम्बिनी, दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएपछि ठूलो दबाबमा परेको छ।

त्यस्तै, सुदूरपश्चिम रोयल्स आफ्नो लगातारको उत्कृष्ट प्रदर्शनलाई कायम राख्ने प्रयासमा छ। अहिलेसम्म दुवै खेलमा एकतर्फी विजय हासिल गर्दै अपराजित रहेको यस टोलीले पहिलो खेलमा विराटनगरलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो।

आजकै दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई खेलहरूले लिगको अंक तालिकामा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने आँकलन गरिएको छ।