• आइतबार, ३० मङ्सिर, २०८१
  • ०५:१०:०८

पहिचान हो श्रुतिपरम्परा

काठमाडौं । श्रुतिपरम्परा हजारौँ वर्षदेखि निरन्तर अस्तित्वमा छ । यसको सीधा नाता बोलीसँग छ, जुन मानव जातिले सबैभन्दा पहिले सुरु गरेको शाब्दिक सञ्चार हो । यसले मानव–मानव तथा मानव र सभ्यतालाई निरन्तर जोड्दै आइरहेको छ । श्रुतिपरम्पराको महिमा अपरम्पार छ ।


आध्यात्मावादीहरूले भनेझैँ श्रुतिपरम्परा ज्ञानयोग, भक्तियोग र कर्मयोगलाई पनि एकआपसमा जोड्ने अलौकिक सेतु हो । श्रुतिपरम्पराले संस्कृति, इतिहास र ज्ञानको संरक्षण, भण्डारण र विस्तारमा जीवनदायिनी भूमिका खेल्दै आएको छ । लेख्यपरम्परा र विद्युतीय माध्यमको विकास चरमोत्कर्षमा पुगेको अहिलेको युगमा पनि श्रुतिपरम्पराको महत्व कायमै छ । यसको बहुआयामिक महत्व छ ।

इतिहास लेखन

इतिहास लेखनमा श्रुतिपरम्पराले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । इसापूर्व ५०० तिर अस्तित्वमा आएका ग्रिसेली इतिहासकार हेरोडोटस ‘इतिहासका पिता’ मानिन्छन् । उनको इतिहास लेखन श्रुतिपरम्परामा आधारित थियो भन्ने कथन छ । ब्रिटिस इतिहासकार अस्विन मरेले ‘हेरोडोटस एन्ड ओरलिटी’ शीर्षक शोधपत्रमा चर्चा गरे अनुसार हेरोडोटसका इतिहाससम्बन्धी सूचना–स्रोत थिए, प्रत्यक्ष विवरण (फस्र्ट ह्यान्ड अकाउन्ट), प्रत्यक्षदर्शीको भनाइ तथा जनश्रुतिहरू ।

इसाको पाँचौँ र सातौँ शताब्दीतिर नेपाल तथा भारत भ्रमणमा निस्केका चिनियाँ यात्रीहरू क्रमशः फाहियान र ह्वेन साङको यात्रा–संस्मरणको मूल खजाना पनि हेरोडोटसका सूचना–स्रोत जस्तै देखिन्छन् ।

यी दृष्टान्तले इतिहास लेखनमा श्रुतिपरम्पराको भूमिका कति व्यापक छ भन्ने दर्शाउँछन् । भाषिक मानवशास्त्रका प्राध्यापक रुथ फिनेगनले ‘ओरल लिट्रेचर इन अफ्रिका’ शीर्षक कृतिमा उद्घोष गरेकी छन्, मौखिक परम्परा ऐतिहासिक जानकारीको एक समृद्ध भण्डार हो, जो प्रायः लिखित अभिलेखहरूभन्दा पुरानो हुन्छ ।     

  बेल्जिमियाली इतिहासकार तथा मानवशास्त्री जन भनिसाले आफ्नो कृति ‘ओरल ट्रेडिसन एन्ड हिस्ट्री’ मा श्रुतिपरम्पराले समुदायको सामूहिक स्मृतिलाई पुस्तौँपुस्तासम्म जीवित राख्ने जीवित सङ्ग्रहालयका रूपमा काम गर्छ भन्ने कथन अघि सारेको देखिन्छ ।

 

एक अर्थमा इतिहास पुरानो स्मृतिको सङ्ग्रह पनि हो । अमेरिकी लोकसाहित्यविद् स्टिथ थम्पसनले ‘द फोकटेल’ नामक कृतिमा चर्चा गरे अनुसार मौलिक परम्पराले सामूहिक स्मृतिका रूपमा काम गर्छन्, जसले मानव जातिलाई आफ्नो अतीतबारे जानकारी गराउँदै संसारमा आफ्नो स्थानबारे बुझाइलाई प्रस्ट्याउन सघाउँछ ।

ब्रिटिस लेखिका केटी लोरीले ‘स्टोरीटेलिङ एन्ड प्लेस : एबओरिजिनल ओरल टेडिसन एन्ड दि अस्ट्रेलियन ल्यान्डस्केप’ नामक कृतिमा अस्ट्रेलियाका आदिवासी समुदायसँग स्थानीय जल, जमिन र प्राणीसँग रहिआएको आफ्नो पुख्र्यौली सम्बन्धलाई जनाउने जटिल मौखिक इतिहास रहेको चर्चा गरेकी छन् । लोरीको बुझाइमा यस्ता मौखिक इतिहासले स्थानीय वातावरणीय ज्ञानलाई संरक्षण मात्र गर्दैनन्, आदिवासी समुदायको विश्व दृष्टिकोण र आध्यात्मिक अभ्यासहरूलाई पनि उजागर गर्छन् ।

यसै गरी अफ्रिकी इतिहासकार जिब्रिल तमसिर नियानले पश्चिम अफ्रिकी मौखिक महाकाव्य ‘सन्डियाटा’ बारे ‘सन्डियाटा : एन एपिक अफ ओल्ड माली’ शीर्षकमा गहन कृति प्रकाशन गरेका छन् । इतिहासकार जिब्रिल तमसिर नियानले सन्डियाटा तथा अन्य मौखिक काव्यले ऐतिहासिक घटना, वंशावली र सांस्कृतिक मूल्य–मान्यतालाई पुस्तौँपुस्तासम्म प्रसार गर्न सघाएको चर्चा गरेका छन् ।

बेल्जिमियाली इतिहासकार तथा मानवशास्त्री जन भनिसाले आफ्नो कृति ‘ओरल ट्रेडिसन एन्ड हिस्ट्री’ मा श्रुतिपरम्पराले समुदायको सामूहिक स्मृतिलाई पुस्तौँपुस्तासम्म जीवित राख्ने जीवित सङ्ग्रहालयका रूपमा काम गर्छ भन्ने कथन अघि सारेको देखिन्छ ।

धार्मिक तथा आध्यात्मिक अनुष्ठान

धार्मिक तथा आध्यात्मिक अनुष्ठानहरू मूलतः अलिखित विधानबाट सञ्चालित हुन्छन् । यस्ता अनुष्ठानमा अनेकन् मन्त्रोच्चारण, भजन तथा कर्मकाण्ड प्रयोगमा आउँछन् । जो मूलतः मौखिक परम्परामा आधारित छन् । यही भएर होला कतिपय विद्वान् श्रुतिपरम्परालाई लेख्यपरम्परामा ढाल्नु हुँदैन भन्ने मान्यता राख्छन् । 

 गाउँको चौतारीमा छिमेकी बाजेले सुनाएका लडाइँको कथा, अँगेनुको छेउमा बसेर बाजेले सुनाएका भूतसँग जम्काभेट भएको किस्सा, हजुरआमाले सुत्ने बेलामा सुनाएको लोककथा, पँधेरामा लाहुरेनीले सुनाएका लाहुरको बखाननामा, बुढापाकाले मेलापर्ममा सुनाएका अनिकालको कथा आदिबाट लालाबालाले अनायास जीवन र जगत्बारे धेरै कुरा जानिसकेका हुन्छन् । यी सबै ज्ञान श्रुतिपरम्परासँग सम्बन्धित छन् । सबै ज्ञान विद्यालय तथा विश्वविद्यालयबाट मात्र प्राप्त हुँदैनन् ।

 

यस्तो मान्यता राख्नेमध्ये ग्रिक दार्शनिक सुकरात एक हुन् । उनी लेख्य परम्परालाई अमानवीय कार्यको संज्ञा दिन्छन् । अङ्ग्रेज दार्शनिक हेनरी सिजविकको दृष्टिकोण पनि लगभग यस्तै छ । सिजविकको दृष्टिमा मौखिक गाथालाई लेख्न सुरु गर्यो भने त्यसको हत्या गरेसरह हुन्छ । उनको ठम्याइँ छ, “जबसम्म मौखिक छ तबसम्म यसमा जीवन छ, अन्यथा छैन ।” श्रुतिपरम्पराका यी कट्टर हिमायतीको एउटै निष्कर्ष छ, लेख्य परम्पराले श्रुतिपरम्पराको दायरालाई कमजोर र सीमित बनाइदिन्छ ।

हिन्दु धर्मको ‘आदि ग्रन्थ’ मानिने वेद सुरुमा श्रुतिपरम्परामै बाँचिरहेको थियो र त्यसलाई धेरै पछि मात्र लिपिबद्ध गरियो भन्ने कथन छ । हार्डवर्ड विश्वविद्यालयका प्राध्यापक माइकल विजलले सन् २००१ मा ‘इलेक्ट्रोनिक जर्नल अफ वेदिक स्टडिज’ मा प्रकाशित आफ्नो शोधपत्रमा इसापूर्व १५०० देखि ५०० को अवधिमा वेद लेखिएको दाबी गरेका छन्  । यसभन्दाअघि वेद श्रुतिपरम्परामा बाँचेको थियो भन्ने धेरैको बुझाइ छ ।

यसका अतिरिक्त हामीकहाँ युगौँदेखि अस्तित्वमा रहेको झाँक्री प्रथा, बोन पद्धति, मुन्धुम जस्ता परम्परामा आधारित हाम्रा मौलिक धार्मिक तथा आध्यात्मिक अनुष्ठानहरू अलिखित अवस्थामै छन् । हाम्रा यस्ता अमूर्त सम्पादको अस्तित्व बचाउन श्रुतिपरम्परालाई जिउँदो जाग्दो अवस्थामा राख्न आवश्यक छ ।

श्रुतिपरम्परा र सिकाइ

श्रुतिपरम्परा सिकाइको महत्वपूर्ण कडी हो । अमेरिकी प्राध्यापक वल्टर ज्याक्सन अङले आफ्नो कृति ‘ओरलिटी एन्ड लिट्रेसी’ मा श्रुतिपरम्परालाई साक्षरताको आधारस्तम्भ मानेका छन् । प्राध्यापक अङले भनेका छन्, श्रुतिपरम्पराले सुन्ने, बुझ्ने, शब्दभण्डार बढाउने जस्ता आधारभूत साक्षरताको यस्तो सिप प्रदान गर्छ, जुन पढ्ने र लेख्ने दक्षताका लागि महत्वपूर्ण छ ।

सिकाइ प्रक्रियामा सुनाइ, बोलाइ, पढाइ र लेखाइ महत्वपूर्ण पक्ष मानिन्छन् । सिकाइ प्रक्रियामा यीमध्ये सुनाइ र बोलाइ नै बढी महत्व दिइन्छ किनभने यिनीहरू सिकाइ प्रक्रियाका पहिलो खुड्किला हुन् । लालाबालाले सुरुमा सुनाइ र बोलाइका माध्यमबाट बढी सिक्छन् । त्यसपछि मात्र पढाइ र लेखाइको पालो आउँछ । सिकाइकै कुरा गर्दा दृष्टिविहीनहरूका लागि सुनाइ र बोलाइ नै ज्ञान आर्जनको मूलभूत स्रोत हो ।

श्रुतिपरम्पराले लालाबालालाई देश र दुनियाँ चिनाउन अतुलनीय भूमिका खेल्छ । एउटा अफ्रिकी भनाइ छ, एउटा बच्चा हुर्काउन सिङ्गो गाउँ चाहिन्छ । हुन पनि बच्चालाई ज्ञानी बनाउन स्थानीयको असल भूमिका अपेक्षित रहन्छ । बहुस्रोतबाट प्राप्त मौखिक ज्ञानले लालाबालाको बुझाइको क्षितिजलाई फराकिलो बनाउँछ ।     

 श्रुतिपरम्पराले पठन संस्कृतिमा पनि महत्वपूर्ण भूमिका खेल्छ । यसले पठन संस्कृतिलाई पनि प्रत्यक्ष वा परोक्ष रूपमा मलजल गरेको पाइन्छ । अपठित वा अर्धपठित ग्रामीणजनले लिखित सामग्रीलाई पनि बोलीमै ग्रहण गर्न रुचाउँछ । यसलाई पुष्टि गर्ने अनेकन् दृष्टान्त छन् ।

 

गाउँको चौतारीमा छिमेकी बाजेले सुनाएका लडाइँको कथा, अँगेनुको छेउमा बसेर बाजेले सुनाएका भूतसँग जम्काभेट भएको किस्सा, हजुरआमाले सुत्ने बेलामा सुनाएको लोककथा, पँधेरामा लाहुरेनीले सुनाएका लाहुरको बखाननामा, बुढापाकाले मेलापर्ममा सुनाएका अनिकालको कथा आदिबाट लालाबालाले अनायास जीवन र जगत्बारे धेरै कुरा जानिसकेका हुन्छन् । यी सबै ज्ञान श्रुतिपरम्परासँग सम्बन्धित छन् । सबै ज्ञान विद्यालय तथा विश्वविद्यालयबाट मात्र प्राप्त हुँदैनन् ।

साउँ अक्षर सिक्ने अवसर नपाएकाका लागि श्रुतिपरम्परा झन् ठूलो वरदान साबित भएको छ । अक्षरसँग अपरिचितहरूले श्रुति–सिकाइका कारण सजिलै ज्ञान हासिल गर्न सकेका छन् । यसैको माध्यमबाट निरक्षर व्यक्तिको ‘मुखमा सरस्वती’ ले बास गर्न पाएको छ । ‘क’ पनि नचिन्ने र एक आखर पनि लेख्ने नसक्ने व्यक्तिले श्रुतिपरम्पराबाटै धेरै कुरा सिकिसकेका हुन्छन् । उनीहरूले व्यक्तिले जीवन र जगत्बारे घतलाग्दा र मननयोग्य ज्ञान प्रवाह गर्छन्, जुन श्रुतिपरम्पराकै कमाल हो ।

अपठित भनिएका ग्रामीणजनका ‘मुखमा सरस्वती’ बास देखेर विद्यावारिधि गरेका ‘मै हुँ’ भन्ने विद्वत्जन पनि जिब्रो टोक्न पुग्छन् । यसले ज्ञान पुस्तकमा मात्र हुन्छ भन्ने मान्यतालाई घुमाउरो किसिमले नकारेको देखिन्छ । ज्ञानका लागि पुस्तकमा मात्र भर पर्नुपर्ने भए अपठित व्यक्ति ज्ञानशून्य हुने थिए होलान् ।

भाषिक मानवशास्त्रका उत्तर आयरल्यान्डेली प्राध्यापक रुथ फिनेगनले ‘ओरल लिट्रेचर इन अफ्रिका’ शीर्षक कृतिमा शैक्षिक श्रीवृद्धिमा श्रुतिपरम्पराको महत्वबारे चर्चा गरेकी छन् । फिगेनका दृष्टिमा मौखिक परम्पराले युवा पुस्तालाई नैतिक पाठ, सामाजिक मान्यता र व्यावहारिक ज्ञानबारे पाठ सिकाउँछ । उनले वृद्धहरूले कथावाचनको माध्यमबाट युवा पुस्तालाई समुदायको विगत, नैतिक आचरण र जीवनरक्षाका सिपको बारेमा शिक्षा दिन्छन् भन्ने तर्क अघि सारेकी छन् ।

श्रुतिपरम्परा र पठन संस्कृति 

श्रुतिपरम्पराले पठन संस्कृतिमा पनि महत्वपूर्ण भूमिका खेल्छ । यसले पठन संस्कृतिलाई पनि प्रत्यक्ष वा परोक्ष रूपमा मलजल गरेको पाइन्छ । अपठित वा अर्धपठित ग्रामीणजनले लिखित सामग्रीलाई पनि बोलीमै ग्रहण गर्न रुचाउँछ । यसलाई पुष्टि गर्ने अनेकन् दृष्टान्त छन् ।

सर्वविदितै छ, भानुभक्तीय रामायण लिखित सामग्री थियो । त्यसको लिखित पाठलाई भन्दा वाचन गरिएको पाठलाई जनमनले बढी रुचायो । भानुभक्तीय रामायणको मौनवाचनमा भन्दा भाका हालेर गरिएको सस्वर वाचन बढी खुल्यो । सस्वर वाचनले धेरैको हृदय छोयो । गाउँघरका एकाध पठितजनले लयदार ढङ्गमा वाचन गरेको बोलीलाई टपक्कै टिपेर बहुसङ्ख्यक अपठित ग्रामीणजनले वनपात–मेलापातमा भाका हालेर गाउन थाले । त्यो पनि रहरै रहरमा, लहै लहैमा । त्यसपछि के भयो ? सर्वविदितै छ । 

   मौखिक प्रणाली प्रबल नभएको भए अक्षरले मात्र चमत्कार गर्न सक्दैनथ्यो । अचेल प्रकाशकले कालो अक्षरले सजिएको कृतिको बिक्रीमा बोलीको भूमिका छ भन्ने तथ्य बुझेका छन् । यही भएर उनीहरूले ठाउँ ठाउँमा पुस्तक चर्चा, लेखक–पाठक संवाद आदि शीर्षकमा छलफल कार्यक्रम राखेका हुन्छन् । यस्ता कार्यक्रमले कृतिसम्बन्धी जानकारी मुखैमुख जनस्तरको फराकिलो घेरासम्म विस्तार गर्न सघाउँछ ।   

 

त्यसपछि भानुभक्तीय रामायणको लोकप्रियताको ग्राफ औधि बढेर गयो । अब निर्धक्क किसिमले भन्न सकिन्छ, श्रुतिपरम्परामा नढालिएको भए भानुभक्तीय रामायण यस हदसम्म लोकप्रिय हुने थिएन ।

अब अर्को प्रसङ्ग । विगतमा लाहुरे, परदेशी वा मुग्लानीलाई घर परिवारसँग जोड्ने एक मात्र दरिलो माध्यम थियो, चिठी । परदेशीको चिठी आउँदा सम्बन्धित घरपरिवार मात्र होइन, सिङ्गो गाउँवासीमा खुसी छाउँथ्यो । बहुसङ्ख्यक नागरिक निरक्षर रहेको पुरानो समयमा परदेशीले पठाएका चिठी वाचन गरी सुनाउन कहाँ सहज थियो र ? आँखा उघ्रिको व्यक्ति पाउनु पनि कठिन हुन्थ्यो । चिठी वाचन गर्न सक्ने व्यक्ति जसोतसो खोजी चिठी पढ्न लगाइन्थ्यो ।

चिठी वाचकले साँझपख लाल्टिन वा ढिब्रीको मधुर प्रकाशमा लेग्रो तानी तानी घिच्रो तन्काई–तन्काई भाका हालेर चिठी वाचन गथ्र्यो ।  जसबाट श्रोतागणमा एउटा बेग्लै मिठो भावसञ्चार हुन्थ्यो । मुग्लानीले पनि चिठीमा मुटु नै टाँसेर पठाएका हुन्थे । चिठी सस्वर वाचन गर्दा भावुकतावश कतिपय श्रोतागणका आँखामा आँसु टल्पलाउँथ्यो ।

मुग्लानीले पत्रमा गाउँभरिका आफन्तजनलाई सम्झेका हुन्थे । मुग्लानीले पठाएको चिठीमा एक–एक व्यक्तिको नामै किटेर ‘बहुतै सम्झेको छ भनिदिनुहोला’ लेखिएको हुन्थ्यो । चिठीमा केही गरी कसैको नाम छुटेमा कतिपय चलाख चिठीवाचकले नै छुटेका व्यक्तिको नाम उच्चारण गरिदिन्थे । यसरी मुग्लानीले पठाएको चिठीको निर्जीव अक्षरमा प्राण भर्ने काम मौखिक परम्पराले नै गथ्र्यो ।

अब पाठ्यसामग्रीको कुरा गरौँ । अचेल दिनहुँ कृति विमोचन हुन्छन् । तीमध्ये केही कृति मात्रै बढी चर्चामा आउँछन् । कृति चर्चामा आउनुका पछाडि बोलीको पनि ठूलो भूमिका रहन्छ । लिखित रूपमा रहेका यस्ता कृतिको बखान अक्षरमा मात्रै गर्न सकिँदैन । ती कृति अक्षरमा मात्र सीमित भएको भए यिनीहरूले धेरै चर्चा बटुल्न पाउने थिएनन् । अखबार वा अनलाइन पोर्टलमा आएका कृति समीक्षा अन्तरवैयक्तिक माध्यम अर्थात् मुखैमुखबाट समाजका व्यापक दायरासम्म पुग्ने गर्छ ।

मौखिक प्रणाली प्रबल नभएको भए अक्षरले मात्र चमत्कार गर्न सक्दैनथ्यो । अचेल प्रकाशकले कालो अक्षरले सजिएको कृतिको बिक्रीमा बोलीको भूमिका छ भन्ने तथ्य बुझेका छन् । यही भएर उनीहरूले ठाउँ ठाउँमा पुस्तक चर्चा, लेखक–पाठक संवाद आदि शीर्षकमा छलफल कार्यक्रम राखेका हुन्छन् । यस्ता कार्यक्रमले कृतिसम्बन्धी जानकारी मुखैमुख जनस्तरको फराकिलो घेरासम्म विस्तार गर्न सघाउँछ ।   

 अचेल भाषा बचाउन अभियान चलेको छ, जुन राम्रो हो । लोपोन्मुख भाषालाई जगाउने अभिप्रायले सम्बन्धित भाषाको वर्ण निर्धारण गर्ने, व्याकरण बनाउने, पाठ्यक्रम तयार पार्ने जस्ता गतिविधि पनि सञ्चालन भएका छन् तर लोपोन्मुख भाषालाई ब्युँताउनु फलामको च्युरा चपाउन जत्तिकै भएको छ । यसको मुख्य कारण हो, लोपोन्मुख भाषालाई बोलीचालीमा उतार्न नसक्नु ।   

 

परम्परागत ज्ञान

श्रुतिपरम्पराको ज्ञानको अजस्र स्रोत पनि हो । परम्परागत ज्ञान त पूरापूर श्रुतिपरम्परामा नै अडिएको छ । मुखैमुखबाट जीवित रहँदै आएको परम्परागत ज्ञान अलिखित विधानबाट निर्देशित छ ।

परम्परागत ज्ञान र सिपको जग श्रुतिपरम्परा नै हो । जस्तैः डोको–डालो–ढकिया–गुन्द्री जस्ता बुनतुनसँग सम्बन्धित परम्परागत ज्ञानबारे पुस्तकमा लेखिएका हुँदैनन् । कतै किताबमा लेखिहालेको रहेछ भने पनि त्यो पर्याप्त नहुन सक्छ । अर्को कुरा निर्जीव अक्षरका रूपमा रहेका परम्परागत ज्ञानलाई जगाएर जिउँदो–जाग्दो बनाउन सहज हुँदैन । यससँगै सबै प्रयोगकर्ताले पढ्न लेख्न जानेकै हुन्छ भन्ने छैन । यस्ता परम्परागत ज्ञान हस्तान्तरण गर्ने सबैभन्दा सजिलो माध्यम मौखिक माध्यम नै हो ।

परम्परागत खेतीपातीका सन्दर्भमा पनि उही कुरा लागू हुन्छ । अचेल पम्परागत तरिकाले गरिएका अर्गानिक खेतीको महत्व बढेको छ । परम्परागत खेतीको आफ्नै पद्धति  छ । अर्को शब्दमा भन्दा यसको विधि–विधान आफ्नै किसिमको छ । जसबारे आधुनिक पुस्तक मौन छ । परम्परागत खेतीपातीलाई आधुनिक कृषि पद्धतिले चिन्दा पनि चिन्दैन । परम्परागत खेतीपातीका ज्ञाता सर्वसाधारण किसान नै हुन् । सर्वसाधारण किसानले अक्षर चिनेकै हुन्छन् भन्ने पनि छैन । यसर्थ परम्परागत खेतीपातीसम्बधी ज्ञान र सिप हस्तान्तरण गर्ने दरिलो माध्यम मौखिक परम्परा नै हो ।

आधुनिक औषधिले धेरै ‘साइड इफेक्ट’ निम्याएको अनेकन् अध्ययनले देखाएका छन् । आधुनिक औषधिको नकारात्मक पाटो उघ्रिँदै जाँदा परम्परागत ओखतीमूलो नै राम्रो भन्ने मान्यता विकास भएको छ । यससँगै सजग तप्कामा परम्परागत ओखतीमूलोप्रति आकर्षण बढेको देखिन्छ तर यहाँनेर एउटा ठूलो समस्या छ । परम्परागत ओखतीमूलो व्यवहारपरक पद्धतिमा अडेको छ । यसको बनिबनाउ कार्यविधि छैन । परम्परागत ओखतीमूलोको विधि–विधानबारे आधुनिक पुस्तक बहुधा मौन छ ।

तीव्र गतिमा नासिँदै गएको परम्परागत ओखतीमूलोसम्बन्धी ज्ञान नितान्त सीमित स्थानीय जडीबुटीविज्ञ वा वैद्यलाई छ । ती स्थानीय औषधिविद् वा वैद्यले लेख्य भाषामा कुरा बुझाउन सक्छन् भन्ने छैन,  किनभने उनीहरू साक्षर नहुन पनि सक्छन् । साक्षर नै भए पनि उनीहरूमा लेखकीय क्षमता नहुन सक्छ । उनीहरूबाट ज्ञान प्राप्त गर्ने सरल, सहज र  माध्यम कथ्य भाषा नै हो ।

श्रुतिपरम्परा र भाषाबीच साइनो

अचेल भाषा बचाउन अभियान चलेको छ, जुन राम्रो हो । लोपोन्मुख भाषालाई जगाउने अभिप्रायले सम्बन्धित भाषाको वर्ण निर्धारण गर्ने, व्याकरण बनाउने, पाठ्यक्रम तयार पार्ने जस्ता गतिविधि पनि सञ्चालन भएका छन् तर लोपोन्मुख भाषालाई ब्युँताउनु फलामको च्युरा चपाउन जत्तिकै भएको छ । यसको मुख्य कारण हो, लोपोन्मुख भाषालाई बोलीचालीमा उतार्न नसक्नु ।    

अचेल पुराना भाकाहरू मर्दै गएका छन् । पुरानो भाकामा अभ्यस्त कलाकार र परम्परागत बाजागाजा बजाउने प्रतिभाहरू हराउँदै गएको देखिन्छ । केवल पश्चिमी शैलीमा छेपारी बटार्नेहरूको भिड बढेर गएको छ । परिणामस्वरूप हाम्रो मौलिक सांस्कृतिक चिनारीका रूपमा रहेका परम्परागत नाचगान विलुप्त हुँदै गएको छ । यस मन्द विषबाट गायन परम्परासँग सम्बन्धित हाम्रो अमूल्य सम्पदा कमजोर परिरहेको छ ।

 

लेख्यपम्पराले मात्र भाषा बाँच्न सक्दैन । कुनै पनि भाषालाई जनबोली बनाउन सकिएन वा बोलीचालीमा उतार्न सकिएन भने त्यसले मृत्युवरण गर्ने निश्चितप्रायः भनेर भाषशास्त्रीहरूले भन्दै आएका छन् । यसले भाषा बलियो हुनका लागि श्रुतिपरम्परा पनि बलियो हुनु पर्छ भन्ने सन्देश दिएको छ ।

सामाजिक पुँजी

आपसी सद्भाव, विश्वास माया–ममता, अपनत्वको भावना, साझा मूल्य मान्यता आदि सामाजिक पुँजी हुन् । जो स्वस्थ समाजका लागि अपरिहार्य तत्वमा पर्छन् । श्रुतिपरम्पराले सामूहिक अनुभवका लागि स्थान सिर्जना गर्छन् । जसले अपनत्व र एकताको भावनालाई मलजल गर्छ ।

लोकसाहित्यका अध्येता रिचर्ड बाउमनले आफ्नो कृति ‘भर्बल आर्ट एज पफर्मेन्स’ मा कथा, गीत जस्ता मौखिक परम्पराले सामाजिक एकता र पहिचान बढाउनमा महत्वपूर्ण भूमिका खेल्ने ठहर गरेका छन् । मौखिक परम्पराले समुदायको साझा मूल्य मान्यता र विश्वास सुदृढ गर्छ भन्ने उनको दृढ विश्वास छ ।

भाषिक मानवशास्त्रका प्राध्यापक रुथ फिनेगनले ‘ओरल लिट्रेचर इन अफ्रिका’ शीर्षक कृतिमा मौखिक महाकाव्य, पौराणिक कथा, लोककहावत, लोककथा, गीतलगायत विभिन्न प्रकारका मौखिक विधाको आफ्नै अद्वितीय सांस्कृतिक र ऐतिहासिक महìव रहेको दर्शाएकी छन् ।

मानवशास्त्री विलियम ए. हाविल्यान्डले ‘कल्चरल एन्थ्रोपोलोजी’ नामक कृतिमा मौखिक परम्पराले भाषा, रीतिरिवाज र परम्परालाई एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्दै सांस्कृतिक प्रसारकका रूपमा काम गर्छ भन्ने निष्कर्ष निकालेका छन्  ।

यस्ता मौखिक सम्पदाले पुरानो पुस्ता र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्छ । यसले सांस्कृतिक सम्पदाको अस्तित्वलाई निरन्तरता दिँदै सामाजिक पुँजीलाई क्षयीकरण हुनबाट रोक्न सघाउँछ ।

मन्द विष

हामी एकातिर आधुनिक जीवनशैलीको मोहमा चुर्लुम्म डुबिरहेका छौँ भने अर्कोतिर हाम्रा मौलिक परम्परा हराउँदै गएकोमा चिन्ता प्रकट पनि गरिरहेका छौँ । यी परस्पर विरोधाभाषपूर्ण कुरा हुन् । आधुनिकताले हाम्रो श्रुतिपरम्परालगायतका मौलिक सम्पदालाई निलिरहेको छ ।   

 श्रुतिपरम्पराका प्राचीनतम् तथा नवीनतम् संस्करणलाई सँगसँगै जीवन्त राख्नुपर्छ । यसका लागि कथा सुन्ने सुनाउने, स्थानीय भाका र बाजागाजाका साथ गायनकर्मलाई निरन्तरता दिने, मौखिक विचार–विमर्शका मञ्चलाई जीवन्त बनाउने, समय निकालेर लालाबालालाई लोककथा तथा जीवन भोगाइका कथा सुललित तरिकाले सुनाउने, धार्मिक तथा आध्यात्मिक कथावाचन तथा भजन परम्परालाई प्रश्रय दिने जस्ता कदम अपेक्षित छन् ।

 

अचेल पुराना भाकाहरू मर्दै गएका छन् । पुरानो भाकामा अभ्यस्त कलाकार र परम्परागत बाजागाजा बजाउने प्रतिभाहरू हराउँदै गएको देखिन्छ । केवल पश्चिमी शैलीमा छेपारी बटार्नेहरूको भिड बढेर गएको छ । परिणामस्वरूप हाम्रो मौलिक सांस्कृतिक चिनारीका रूपमा रहेका परम्परागत नाचगान विलुप्त हुँदै गएको छ । यस मन्द विषबाट गायन परम्परासँग सम्बन्धित हाम्रो अमूल्य सम्पदा कमजोर परिरहेको छ ।

अर्कोतिर कार्टुन नेटवर्क र सोसल मिडियाका रोमाञ्चक भिडियोमा रमेका लालाबाला बाजेबज्यैका काख प्यारो लाग्न छाडेको छ । यससँगै पाका पुस्ताबाट जीवन र जगत्सँग सम्बन्धित स्थानीय किस्सा–कहानी र भोगाइ सुन्ने सुनौलो अवसर गुमाइरहेका छन् । उनीहरूले आफ्नो घरभन्दा हजारौँ किलोमिटर परका थाहा पाएका छन् तर आफ्नै वरिपरिको सामाजिक तथा सांस्कृतिक परिवेशबारे कम जानकारी पाइरहेका छन् । यससँगै उनीहरू आफ्नो पहिचानसँग जोडिएका अमूल्य सम्पदाबाट पनि विमुख भइरहेको देखिन्छ ।

फिनल्यान्डेली लोकसाहित्यविद् मौरी होन्कोले आफ्नो कृति ‘कम्प्यारेटिभ स्टडिज इन ओरल ट्रेडिसन’ मा लिखित र विद्युतीय माध्यमको प्रभुत्व, विश्वव्यापीकरण र शहरीकरणले मौखिक परम्पराको जीवन्ततालाई एकपछि अर्को गरी खतरामा परिरहेको चर्चा गरेका छन् । युवा पुस्ता आधुनिक चालढालमा चल्नाले मौखिक विधा हराइरहेको चर्चा गर्दै श्रुतिपरम्पराले आधुनिक दुनियाँमा बढ्दो चुनौतीको सामना गरिरहेको टिप्पणी उनको छ । हाम्रो सन्दर्भमा पनि फिनल्यान्डेली लोकसाहित्यविद् मौरी होन्कोको टिप्पणी पूरापूर सान्दर्भिक हुन आउँछ ।

अबको बाटो

श्रुतिपरम्परा मानव संस्कृतिको एक अपरिहार्य यस्तो अङ्ग हो जो मानव जातिको अभौतिक महत्वपूर्ण सम्पदामा पर्छ । श्रुतिपरम्परा गतिशील छ । यसले आफ्नो गतिशीलतासँगै  मानव–मानव तथा मानव र सभ्यतालाई जोड्ने काम गर्छ । समयको परिवर्तनसँगै हामी लेख्यपरम्परा र विद्युतीय माध्यममा मस्तसँग रमिरहेका छौँ ।

श्रुतिपरम्पराका प्राचीनतम् तथा नवीनतम् संस्करणलाई सँगसँगै जीवन्त राख्नुपर्छ । यसका लागि कथा सुन्ने सुनाउने, स्थानीय भाका र बाजागाजाका साथ गायनकर्मलाई निरन्तरता दिने, मौखिक विचार–विमर्शका मञ्चलाई जीवन्त बनाउने, समय निकालेर लालाबालालाई लोककथा तथा जीवन भोगाइका कथा सुललित तरिकाले सुनाउने, धार्मिक तथा आध्यात्मिक कथावाचन तथा भजन परम्परालाई प्रश्रय दिने जस्ता कदम अपेक्षित छन् ।युवामञ्च।