• सोमबार, १९ जेठ, २०८२
  • ०८:२७:१४

आज ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौँ । आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ । 

सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तरराष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा शुक्रबार बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट विभिन्न झाँकीसहित प्रभातफेरी प्रारम्भ भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत हुनेछ । दिउँसो ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिनेछ ।

दिवसकै अवसरमा विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रका पर्यटन व्यवसायी एवं सरोकार भएकाहरूसँगको सहकार्यमा प्रत्येक वर्ष सगरमाथा दिवस मनाउँदै आएको छ ।

एक तथ्याङ्कअनुसार नेपालमा ५ हजार ८०० मिटर माथिका एक हजार ७९२ हिमाल रहेका छन् । ८ हजार मिटरभन्दा माथिका ८ हिमाल नेपालमा छन् । यी सबैमध्ये ४६१ मात्रै आरोहणका लागि खुला गरिएका छन् ।