दिपेन्द्र ले कसरि जिते कार? ३ मुख्य आधार
- नेटिजन संवाददाता
- सोमबार, ८ पौष, २०८१- १४:३५:००/ Monday 12-23-24
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँको कार जितेका छन्।
शनिबार फाइनल खेलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँग ५ विकेटले हार व्यहोरे पनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार हात पारेका हुन्। उनले कार जित्नुका तीन प्रमुख कारण निम्न प्रकार छन्।
१. उत्कृष्ट अलराउन्ड प्रदर्शन
दीपेन्द्रले सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट योगदान दिए। उनले ९ खेलमा २ सय २७ रन बनाउनुका साथै ९ विकेट लिएका थिए।
फाइनलमा विजेता बनेको जनकपुर बोल्ट्सका ललित नारायण राजवंशी पनि कारका प्रमुख दाबेदारमध्ये थिए। उनले १० खेलमा १७ विकेट लिँदै सुदूरपश्चिमका स्कट कुग्लेइनसँग सर्वाधिक विकेट लिने खेलाडी बने। यद्यपि, नेपाल क्रिकेट संघ (क्यान) ले उपविजेता भए पनि दीपेन्द्रलाई कार दिने निर्णय गर्यो।
२. टोलीको उत्कृष्ट प्रदर्शन
दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले लिग चरणमा चितवनसँग र फाइनलमा जनकपुरसँग मात्र हार व्यहोरेको थियो। बाँकी खेलमा भने सुदूरपश्चिमले लगातार जित हासिल गरेको थियो।
कारका अन्य दाबेदारमा लुम्बिनी लायन्सका रोहित पौडेल (२७९ रन र ८ विकेट), चितवनका कुशल मल्ल (२ सय २३ रन र ९ विकेट) र रिजन ढकाल (१३ विकेट) पनि थिए।
प्रदर्शनका आधारमा रोहित अगाडि देखिए पनि लुम्बिनी लिग चरणबाटै बाहिरियो। यस्तै, कुशल मल्ल र रिजन ढकालको टोली चितवन इलिमिनेटरमा पराजित भएपछि उनीहरूको सम्भावना टर्यो। जनकपुरलाई उपाधि दिलाएका ललित पनि अन्ततः अभागी सावित भए।
३. दुई प्लेयर अफ द म्याच अवार्ड
दीपेन्द्रले प्रतियोगिताको क्रममा दुई प्लेयर अफ द म्याच अवार्ड (कर्णाली वारियर्स र विराटनगर सुपर किंग्सविरुद्ध) जितेका थिए। अन्य दाबेदार रोहित, कुशल, ललित र रिजनले एक-एक पटक मात्र यो अवार्ड जित्न सके।
सर्वोत्कृष्ट खेलाडी चयनमा खेलाडीले प्रतियोगिताभर पाएको अंकको महत्त्व हुन्छ। प्लेयर अफ द म्याचबाट पाइने अंक अन्य प्रदर्शनबाट पाइने अंकभन्दा बढी हुने भएकाले दीपेन्द्रको अंक अग्रस्थानमा रह्यो। यही कारणले पनि उनलाई कार जित्न सहज भयो।