कसले जित्ला ओमोडा को कार ?
- नेटिजन संवाददाता
- शुक्रबार, ५ पौष, २०८१- ०९:४९:००/ Friday 12-20-24
नेपाल प्रिमियर लिग (एनपीएल) आफ्नो अन्तिम चरणमा पुगेको छ। अब फाइनल खेल मात्र बाँकी रहँदा उपाधिका लागि मात्र होइन, प्रतियोगिताका सर्वोत्कृष्ट नेपाली खेलाडीको उपाधिका लागि पनि चासो बढेको छ। सर्वोत्कृष्ट खेलाडी बन्ने खेलाडीले कार पुरस्कार प्राप्त गर्ने भएकाले यो दौड थप रोमाञ्चक बनेको छ। सर्वोत्कृष्ट खेलाडीको प्रतिस्पर्धामा ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, रोहितकुमार पौडेल र रिजन ढकालको नाम चर्चामा छ। यी खेलाडीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीको प्रदर्शनले धेरैको ध्यान तानेको छ। ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै दीपेन्द्रले बहुआयामिक खेलाडीको छवि बनाएका छन्। उनले विराटनगरविरुद्ध ५७ रन बनाउँदा लुम्बिनीविरुद्ध ३९ रनको योगदान गरे। बलिङतर्फ ८ विकेट लिएका दीपेन्द्रले क्वालिफायर खेलमा ३ विकेट लिएर टोलीलाई फाइनल पुर्याए। ब्याट र बल दुवैमा समान रूपमा प्रभाव पार्न सक्ने उनको क्षमता फाइनल खेलमा पनि निर्णायक बन्ने अपेक्षा गरिएको छ।
चितवन राइनोजका कुशल मल्ल पनि सर्वोत्कृष्ट खेलाडीको प्रमुख दाबेदार हुन्। ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै कुशलले पोखरा विरुद्ध ३८ रन, जनकपुर विरुद्ध ७२ रन र कर्णालीविरुद्ध २१ रन बनाए। बलिङमा ९ विकेट लिँदै उनले आफ्नो टिमलाई महत्त्वपूर्ण क्षणमा सहायता गरेका छन्। ब्याट र बल दुवैमा खेललाई नियन्त्रणमा राख्न सक्ने क्षमताका कारण कुशललाई पनि यो अवार्डको बलियो दाबेदार मानिएको छ।
लुम्बिनी लाइन्सका कप्तान रोहितकुमार पौडेल प्रतियोगिताका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। यद्यपि उनको टिम लिग चरणमै बाहिरिए पनि व्यक्तिगत प्रदर्शनले सबैलाई प्रभावित बनाएको छ। उनले ७ खेलमा २७९ रन बनाएका छन् र ८ विकेट पनि लिएका छन्। रोहितले दुई अर्धशतक प्रहार गरे भने पोखरा विरुद्ध ९५ रन र चितवनविरुद्ध ८० रनको इनिङ खेले। कप्तानका रूपमा टिमलाई जित दिलाउन नसके पनि व्यक्तिगत प्रदर्शनको आधारमा उनी सर्वोत्कृष्ट खेलाडीको दौडमा अगाडि रहेका छन्।
जनकपुर बोल्ट्सका ललित राजवंशी एनपीएलका सबैभन्दा सफल बलरमध्ये एक हुन्। उनले १६ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका छन्। काठमाडौं, पोखरा र विराटनगरविरुद्ध ३-३ विकेट लिएका ललितले दोस्रो क्वालिफायरमा २ विकेट लिएर टिमलाई फाइनल नजिक पुर्याए। उनकाे इकोनोमी दर ५.५० रहेको छ, जुन प्रतियोगिताका अन्य बलरसँग तुलना गर्दा निकै प्रभावकारी हो। निरन्तर विकेट लिने क्षमताले ललितलाई पनि सर्वोत्कृष्ट खेलाडीको प्रमुख दाबेदार बनाएको छ।
चितवन राइनोजका युवा बलर रिजन ढकालले पनि एनपीएलमा आफ्नो प्रभाव छाड्न सफल भएका छन्। उनले १३ विकेट लिँदै आफूलाई प्रतियोगिताका प्रमुख विकेट टेकर्सको सूचीमा राखेका छन्। विशेष गरी पोखरा र लुम्बिनीविरुद्ध ३-३ विकेट लिएका थिए। पाकिस्तानी खेलाडी सोहेल तन्विरसँगको सहकार्यले उनको प्रदर्शनलाई अझ निखार दिएको देखिन्छ।
अब फाइनल खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। यो खेलले एनपीएलको विजेता टिम मात्र निर्धारण गर्ने छैन, एनपीएलको सर्वोत्कृष्ट नेपाली खेलाडीको घोषणा पनि यसै खेलपछि हुनेछ। दीपेन्द्र र ललितको प्रदर्शन फाइनलमा कस्तो रहनेछ भन्ने कुराले कार जित्ने खेलाडीको भविष्य तय गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले पाउने यो पुरस्कारले नेपाली खेलाडीको प्रतिष्ठालाई अझ माथि पुर्याउने निश्चित छ। अब सबैको ध्यान फाइनल खेलमा केन्द्रित छ, जहाँ दीपेन्द्र, कुशल, रोहित, ललित र रिजनले आफ्नो अन्तिम मौका पर्खिरहेका छन्।