• आइतबार, ७ पौष, २०८१
  • ०९:१७:४३

लोकसाहित्यले सुम्पिएको रैथाने ज्ञान

‘बुढा मरे भाषा सरे ।’


यस लोकोक्तिले ज्ञान हस्तान्तरणको प्रक्रियालाई जनाउँछ । मानिस जन्मन्छ र एक दिन संसारसँग नाता तोडेर बिदा हुन्छ । संसारबाट बिदा हुने व्यक्तिले आफूसँग भएका ज्ञान, संस्मरण, अनुभव र अनुभूतिलाई आफ्नो जीवनकालको विभिन्न कालखण्डमा पटक पटक गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्छ । यसरी हस्तान्तरित ज्ञान उसको विरासत पनि हो ।  

ज्ञान हस्तान्तरण प्रक्रिया सरुवा भएर जाने कर्मचारीले बरबुझारथ गरे जस्तो औपचारिक हुँदैन । यो प्रक्रिया एकै पटकमा पनि सम्पन्न हुँदैन । यो त अनौपचारिक, सतत् र नजानिँदो प्रक्रिया हो । 

व्यक्तिले आफ्नो जीवन–भोगाइ, अनुभव र अनुभूति साथीसङ्गी र आफन्तजनलाई साझा गर्ने क्रममा थाहा नपाइकनै ज्ञान हस्तान्तरण प्रक्रिया सम्पन्न हुन्छ । अग्रज पुस्ताले अनुज पुस्तालाई ज्ञान हस्तान्तरण गर्ने विधि र प्रक्रिया नै यही हो । जसलाई लोकसाहित्यले सहजीकरण गर्छ । यसबाट ‘बुढा मरे भाषा सरे’ भन्ने उखान चरितार्थ हुन पुग्छ । 

लोकसाहित्य

‘लोकसाहित्य’ को चर्चा गर्नुअघि यसको शब्द–विन्यासतिर लागौँ । ‘लोक’ र ‘साहित्य’ गरी दुई फरक–फरक शब्द मिलेर ‘लोकसाहित्य’ शब्द निर्माण भएको छ । जसको अर्थ हुन्छ– लोकको साहित्य, जनताको साहित्य वा जगत्को साहित्य । लोकसाहित्य मौखिक परम्परामा आधारित वकितम साहित्य हो  ।

यस दृष्टिले लोकसाहित्य लोककण्ठ वा जनजिब्रोमा आधारित साहित्य हो । समग्रमा भन्नु पर्दा लोकसाहित्य कथ्य साहित्य हो । लोकसाहित्यलाई सांस्कृतिक अभिव्यक्तिको एउटा बलवान् साधन मानिन्छ । जसमा लोककथा, लोकगाथा, आहान, गाउँखाने कथा, लोकपद्य, लोकनाटक (घाँटु, सोरठी बालुन आदि), उखान–टुक्का, लोकगीत, मिथक, मन्त्रलगायत मौखिक अभिव्यक्तिका तमाम रूप समाविष्ट हुन्छन् ।

डा. रामनाथ ओझा र मधुसूधन गिरीकृत पुस्तक ‘लोकसाहित्य, पूर्वआधुनिक नेपाली साहित्य र आधुनिक नेपाली निबन्ध’ (२०६४) मा लोकसाहित्यलाई यसरी चिनाइएको छ– मानव सभ्यताको इतिहासमा अभिव्यक्तिको प्रथम सोपानका रूपमा जन्मेका जेठो साहित्य नै लोकसाहित्य हो । आदिम अपठित मानवको सहज, स्वाभाविक र अकृत्रिम साहित्य नै लोकसाहित्य हो ।

अमेरिकी लोकसाहित्यविद् एलन डन्स् आफ्नो कृति ‘द स्टडी अफ फोकलोर (सन् १९६६)’ मा लोकसाहित्यलाई यसरी चिनाउँछन्– लोकसाहित्यले जनताको आवाजलाई प्रतिनिधित्व गर्छ र उनीहरूको सामूहिक मनोविज्ञान, सामाजिक मापदण्ड र विश्व दृष्टिकोणबारे अन्तरदृष्टि प्रदान गर्छ ।

अर्का अमेरिकी लोकसाहित्यविद् तथा मानवशास्त्री विलियम रसेल बस्कम लोकसाहित्यबारे ‘द जर्नल अफ् अम्यारिकन फोकलोर (सन् १९५४)’ मा लेख्छन्– लोकसाहित्य समाजको ऐना हो । जसले सांस्कृतिक सम्पदालाई सुरक्षित राख्छ र जनताको सामूहिक अनुभवलाई प्रतिविम्बित गर्छ ।

यसैगरी अर्का चर्चित अमेरिकी लोकसाहित्यविद् रिचर्ड मर्सर डोर्सनले आफ्नो कृति ‘फोकलोर एन्ड फोकलाइफ (१९७२)’ मा लोकसाहित्यलाई लोकसंस्कृतिको एक अभिन्न अङ्गका रूपमा चित्रण गर्दै यसले भौतिक, संस्कृति र सामाजिक प्रथालाई कख्याउँछ भन्ने राय पेश गरेका छन् ।

स्टिथ थम्पसन र जोनास बेलिसद्वारा लिखित पुस्तक ‘ओरल टे«डिसन्स’ मा भनिएको छ, लोकसाहित्यले आफ्नो उत्पत्ति हुँदाको सामाजिक र सांस्कृतिक वातावरणलाई प्रतिविम्बित गर्छ । लोकसाहित्यले सामाजिक तथा सांस्कृतिक इतिहासलाई पनि समेट्छ भन्ने छनक दिन्छ ।

यी परिभाषा नियाल्दा लोकसाहित्य लोककण्ठमा आधारित मौखिक साहित्य हो भन्न सकिन्छ । जसमा लोकजीवन, लोकसंस्कृति, लोकइतिहास, लोकमनोविज्ञान, लोकानुभूति र लोकज्ञान प्रतिविम्बित हुन्छन् । लोकसाहित्य साझा, लचिलो, गतिशील र बहुआयामिक हुन्छ ।  यसले लोकलाई मनोरञ्जन, शिक्षा र प्रेरणा दिने क्षमता राख्छ ।

लोकसाहित्यको एउटा महìवपूर्ण विशेषता सामूहिकता हो । लोकसाहित्यले समाजको साझा पहिचान र आपसी अपनत्वको भावना अभिवृद्धि गर्छ । लोकसाहित्यमा चित्रित साझा कथा र पात्रमार्फत समाजको सामूहिक स्मृति र अपनत्वको भावना प्रतिविम्बित हुन्छ । यसले सामूहिक एकताको भावनालाई सबल तुल्याउँछ ।

हामीकहाँ लोकसाहित्यको अथाह भण्डार छ तर यो अथाह भण्डारलाई समृद्ध तुल्याउने पौरखी शिल्पी वा सर्जकहरू अज्ञात रहन्छन् । यसको अर्थ हो सिङ्गो समाज नै लोकसाहित्यको सर्जक हो । लोकसाहित्यमा एउटा व्यक्तिको नभई सिङ्गो समाजको प्रतिलिपि अधिकार कायम रहन्छ । यसलाई लोकसाहित्यको एउटा सुन्दरतम विशेषता मान्न सकिन्छ ।

परम्परागत ज्ञान

लामो समयदेखि समुदायमा प्रचलित सामूहिक ज्ञान, सिप, अभ्यास र सांस्कृतिक अभिव्यक्ति नै परम्परागत ज्ञान हो । जुन मूलतः मौखिक परम्परामा आधारित हुन्छ । वातावरणविद् फिक्रेट बक्र्सले आफ्नो कृति ‘सेक्रेड इकोलोजी (सन् २०१२)’ मा परिचय दिए अनुसार समयको लामो कालखण्डदेखि चलिआएको ज्ञान, अभ्यास र विश्वासको भण्डार नै परम्परागत ज्ञान हो । जुन एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ ।

यसैगरी जैविक विविधतासम्बन्धी अभिसन्धि (सन् १९९२) का अनुसार आदिवासी समूह र स्थानीय समुदायले लामो समयदेखि व्यवहारमा लागू गर्दै आएको जीवनशैलीसँग सम्बन्धित अभ्यास नै परम्परागत ज्ञान हो । जुन एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको हुन्छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठनले परम्परागत ज्ञानलाई विश्वका विभिन्न समुदायभित्र पुस्तौँदेखि अस्तित्वमा रहेको र पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको ज्ञान, सिप र अभ्यासका रूपमा चित्रण गरेको छ ।

यस सन्दर्भमा न्युजिल्यान्डका परम्परागत ज्ञानका ज्ञाता मार्गरेट रोबर्ट्स र साथीहरूले सन् २०१८ मा ‘द कन्टेम्पोरेरी प्यासिफिक’ मा प्रकाशित शोधपत्रमा न्युजिल्यान्डका माओरी समुदायको भूमि र पानीसम्बन्धी ज्ञान उनीहरूको आध्यात्मिक विश्वास र सांस्कृतिक पहिचानसँग गहिरो गरी जोडिएको चर्चा गरेका छन् ।

परम्परागत ज्ञानका इटालेली ज्ञाता फाबियो माक्सोकीले सन् २०१८ मा प्रकाशित आफ्नो शोधपत्रमा धेरैजसो आदिवासी समुदायमा प्रचिलत स्वास्थ्यसम्बन्धी ज्ञान केवल स्वास्थ्यका लागि मात्र नभई आध्यात्मिक र भावनात्मक सुख शान्तिका लागि पनि लक्षित हुन्छन् भन्ने ठहर गरेका छन् ।

परम्परागत ज्ञान प्राकृतिक तथा सामाजिक खुला प्रयोगशालामा परीक्षण र परिष्कृत हुँदै आएको हुन्छ । परम्परागत ज्ञान आधुनिक ज्ञानभन्दा जेठो त हुँदै हो यो बहुपरीक्षित पनि हुन्छ । यसर्थ परम्परागत ज्ञानको दिगोपन र विश्वसनीयता उच्चस्तरको रहन्छ । वातावरण–अनुकूलता, दिगोपन, अनुभवसिद्ध, सामूहिक स्वामित्व, मौखिक प्रसारण एवं गतिशीलता परम्परागत ज्ञानको मूलभूत विशेषता हुन् ।

परम्परागत ज्ञान मूलतः कृषि, ओखतीमूलो, वातावरण तथा जैविक विविधता व्यवस्थापन जस्ता मानव जीवनका बहुआयामिक पाटोसँग जोडिएको हुन्छ । जसले लोकसंस्कृति, लोकसाहित्य र लोकजीवनसँग गहिरो नाता गाँसेको हुन्छ । परम्परागत ज्ञानले स्थानीय समुदायको सांस्कृतिक वा आध्यात्मिक पहिचानसँग गहिरो नाता गाँसेको देख्न सकिन्छ । यसले हस्तकला, बुनतुनलगायत तमाम स्थानीय ज्ञान र सिपका सबै विधालाई आत्मसात् गरेको हुन्छ ।

लोकसाहित्य र परम्परागत ज्ञानबीच नाता

लोकसाहित्य र परम्परागत ज्ञानबीच अन्योन्याश्रित सम्बन्ध छ । लोकसाहित्यलाई परम्परागत ज्ञान प्रवाह गर्ने महìवपूर्ण माध्यमका रूपमा लिन सकिन्छ । परम्परागत ज्ञानको भण्डार लोकसाहित्यबाटै निसृत, विस्तारित र समृद्ध हुँदै गएको हो । परम्परागत ज्ञानलाई समाजको फराकिलो घेरासम्म विस्तार गर्ने र जीवन्त तुल्याउने जीवनदायिनी भूमिका लोकसाहित्यले नै निर्वाह गर्दै आएको छ । लोकसाहित्यमा परम्परागत ज्ञान पानीमा चिनी घोलिएझैँ मिसिएर आएको हुन्छ, जो एक सिक्काका दुई पाटा जस्तै हुन् ।

लोकसाहित्यले युगौँ पुरानो सांस्कृतिक मूल्य–मान्यतालाई अँगाल्दै परम्परागत ज्ञान उत्पादन, भण्डारण र विस्तारमा महìवपूर्ण भूमिका खेल्छ । जसले स्थानीय समुदायको जीवनशैली, विश्व दृष्टिकोण र तमाम मूल्य–मान्यतालाई प्रतिविम्बित गर्छ । लोकसाहित्यका विभिन्न विधाले परम्परागत ज्ञानलाई सुमसुम्याउने, हुर्काउने–बढाउने काम गर्छ । मिथक र किंवदन्तीले प्राकृतिक घटना, मानव उत्पत्ति एवं मानव र प्रकृतिबीचको सम्बन्धलाई रोचक किसिमले प्रस्तुत गर्छ ।

लोककथाले नैतिक पाठ, जीवन–दर्शन र सांस्कृतिक मूल्य–मान्यतालाई गजबले समेट्छ । यसले कथामा चित्रित नायकको साहस, धैर्य, इमानदारी, दृढता जस्ता गुणलाई लोभलाग्दो किसिमले पस्कन्छ भने खलनायकको हकमा उसका लोभ, पाप जस्ता दुर्गुणलाई चित्रण सार्छ । उत्तर आयरल्यान्डकी प्राध्यापक रुथ फिनेगनले आफ्नो कृति ‘ओरल पोइट्री (सन् १९७७)’ मा लेख्छिन्– लोककथा र उखानले समाजलाई नैतिक पाठ र व्यावहारिक ज्ञान सिकाउँछन् ।

लोकगाथाले वीर–वीरङ्गनाको साहसिक कदमलाई लोकपद्यका रूपमा दस्ताबेजीकरण गर्छ । जसमा लोकइतिहासको तìव भेटिन्छ । गाउँखाने कथाले प्रश्नोत्तर शैलीमा ज्ञान विस्तार गर्छ । यसले मनोरञ्जनपूर्ण किसिमले समयकटनीमा योगदान दिन्छ । जस्तो : ‘धार्नी न बिसौली, दुई हातले उचाली’ के हो ? (उत्तर : टोपी लगाएको) । ‘आमाभन्दा छोरी कुप्री’ के हो ? (उत्तर : निङ्ग्रो) ।

लोकनाटकले यिनै ऐतिहासिक घटनालाई अभिनयमा ढालेर प्रस्तुत गर्छ । त्यसमा साङ्गीतिक पक्ष पनि जोडिएको हुन्छ । उखान–टुक्काले युगौँ पुरानो जीवन–भोगाइ र अनुभूतिलाई सङ्क्षिप्त र स्मरणीय किसिमले अभिव्यक्त गर्छ । हामीले उच्चारण गर्ने मन्त्र धार्मिक तथा आध्यात्मिक ज्ञानको ‘क्याप्सुल’ नै हो । लोकगीतले यिनै जीवन–भोगाइ र अनुभूतिलाई सरल, सरस र लयबद्ध ढङ्गमा प्रस्तुत गर्छ । लोकगीत परम्परागत ज्ञानको भण्डार नै हो ।

समग्रमा लोकसाहित्यमा कृषिकर्म, जडीबुटी, ओखतीमूलो, मौसम, प्राकृतिक स्रोत व्यवस्थापन, हस्तकला, सामाजिक मनोविज्ञान र जीवन जिउने कलालगायतका विषयमा जीवनदायिनी ज्ञान लुकेका हुन्छन् । लोकसाहित्यले रैथाने ज्ञानको संरक्षण तथा संवर्धन, सांस्कृतिक पहिचान निर्माण आदि क्षेत्रमा उच्चस्तरको योगदान दिन्छ । केही दृष्टान्तः

हजार ओखती, एक पहरेज

विश्व स्वास्थ्य सङ्गठनले परम्परागत ओखतीमूलोलाई प्राथमिक स्वास्थ्योपचारका दृष्टिले महìवपूर्ण आधार मानेको छ । लोकसाहित्यमा परम्परागत ओखतीमूलो तथा स्वास्थ्योपचारसम्बन्धी असङ्ख्य ज्ञान छिरल्लिएर रहेका छन् । गाउँघरमा एउटा कथन आज पनि प्रचलित छ, आगोले पोलेको घाउलाई आगोले नै सेकाउनु पर्छ ।  ग्रामीण समाजमा आगोले पोलेको घाउलाई आगोमै सेकाउने चलन आजपर्यन्त छ ।

अर्को उखान छ, ‘हजार ओखती, एक पहरेज ।’ यसको आशय हो स्वास्थ्यका लागि प्रतिकूल ठहरिएका चिज नखाँदा हजार ओखती खानुपर्ने बाध्यताबाट बचिन्छ । जडीबुटी र ओखतीमूलोसम्बन्धी मन्त्र तथा श्लोक पनि लोकजीवनमा विद्यमान परम्परागत ज्ञान छिरल्लिएर रहेका छन् ।

अचेल कतिपय अस्पतालमा अर्धप्रशिक्षित डाक्टरले उपचार गर्दा अनाहकमा बिरामीको ज्यान गएका कैयौँ घटना सतहमा आइरहेका छन् । यसरी कच्चा वैद्य वा अर्धप्रशिक्षिक डाक्टरको फेला पर्दा हुने जनधनको क्षतिको तमाम मर्म र हैरानीलाई एउटै भनाइले प्र्रस्ट्याएको छ, जुन यस्तो छ, कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा ।

धनको मुख रातो

जीवनयापन गर्न सबैलाई धेरथोर सम्पत्ति चाहिन्छ । त्यसमा पनि अहिलेको पुँजीवादी अर्थव्यवस्थामा सम्पत्ति नै जीवनयापन गर्ने र इज्जत–प्रतिष्ठा कमाउने पहिलो आधार नै सम्पत्ति बन्न पुगेको छ । हुन त धन–सम्पत्तिसँगको अगाध मोह पुँजीवादी युगमा मात्र होइन युगौँअघिदेखि नै देखिन्छ । ‘धन देखेपछि महादेवको तीन नेत्र’ भन्ने उखान यस तथ्यलाई पुष्टि गर्छ ।

धनका सन्दर्भमा दुनियाँ अतिशय स्वार्थी देखिन्छ । धनीका अगाडि लम्पसार पर्ने र गरिबलाई हेप्ने चलन नयाँ होइन । धनीसँग अनेकौँ नाता जोडेर चुम्बकझैँ टाँसिन खोज्छन् र धनहीनलाई मृत पशुलाई जुम्राले छोडेझैँ आफन्तजनले पनि त्याग्छन् भन्ने गुनासो यत्रतत्र सर्वत्र सुनिन्छ । त्यसै बनेको होइन ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ भन्ने उखान । यही मर्मसँग साइनो गाँस्ने एउटा लोकगीत प्रचलित छ, सम्पत्तिमा सबैको हाई हाई, विपत्तिमा कोई छैन दाजुभाइ । यस लोकगीतले पनि पूर्ववर्ती अभिव्यक्तिलाई झन् देदीप्यमान बनाएको छ ।

धनले जुटाउने र फुटाउने दुवै काम गर्छ भन्ने भनाइ छ । दुनियाँमा धनप्रति असीम मोहले जुट्नेभन्दा फुट्ने प्रवृत्ति बढेको देखिन्छ । धनकै लागि साथीसङ्गी र आफन्तबीच मनमुटाव भई बोलीचाली बन्द भएका असङ्ख्य दृष्टान्त छन् । उखानै छ नि, धनको मुख रातो । धनसम्पत्तिमाथिको मोह झैझगडाको अविरल स्रोत मानिँदै आएको छ । गाउँघरका एउटा चर्चित लोकोक्ति छ, घरमा झगडा नभए कान्छी ल्याउनू, ऋण नलागे जमानी बस्नू ।

न्यायको नौ सिङ

सामाजिक न्याय आधुनिक लोकतान्त्रिक समाजको आत्मा हो । लोकतन्त्रमा समाजका सबै वर्ग र समुदायप्रति समान व्यवहार अपेक्षित हुन्छ । यद्यपि सामाजिक न्याय भने निरन्तर डगमगाइरहेको देखिन्छ । न्यायको मन्दिरमै जित्नुपर्ने हारेको र हार्नुपर्नेले जितेको चर्चा समाजमा बाक्लै सुनिन्छ । कानुन जसरी चाह्यो त्यसरी नै अथ्र्याउन सकिन्छ भन्ने कथन छ । त्यसै भनिएको होइन, न्यायको नौ सिङ ।

नीरक्षीर विवेक प्रयोग गरी न्याय दिनु न्यायाधिकारीको जिम्मेवारी हो तर न्यायाधिकारीले सही किसिमले न्याय सम्पादन गर्न नसकेको गुनासो चर्कै छ । ‘मत्स्य न्याय, चोर चौतारो’, ‘साधुलाई सुली’, ‘सानालाई ऐन, ठूलालाई चैन’, ‘नेपालको कानुन, दैवले जानून्’ जस्ता लोकोक्तिले न्यायाधिकारी आफ्नो न्यायिक जिम्मेवारीबाट च्यूत भएको तथ्यलाई मार्मिक तरिकाले प्रतिविम्बित गर्छन् ।

अरूको लाख, आमाको काख प्रकृतिको शाश्वत नियम हो सबैलाई आफ्नै लालाबाला प्यारो र राम्रो लाग्छ । बालीनालीचाहिँ  अरूको राम्रो लाग्छ । प्रकृतिले नै आफ्ना लालाबाला प्यारो र राम्रो लाग्ने गुण दिएरै त हो नि उनीहरू प्रेमपूर्वक हुर्किएको र सृष्टि धानिएको । बालीनाली चाहिँ अरूको राम्रो देख्नुमा मानिसमा विद्यमान लोभी वा डाहडे मनोविज्ञान झल्कन्छ सायद । यही पृष्ठभूमिमा ‘बालीनाली अर्काको राम्रो, छोराछोरी आफ्नो राम्रो’ भन्ने उखान कोरलिएको हुनु पर्छ ।

मानव सृष्टिमा आमा सर्वाधिक प्यारो छिन् । त्यसमा पनि लालाबालाका लागि त आमाको महिमा झन् अपरम्पार छ । लालाबालाले आमालाई नै सबथोक ठान्छन् । आमाको महत्व झल्कने अनेकन् लोकअभिव्यक्ति छन् ‘अरूको लाख, आमाको काख’, ‘बाउ मरे आधा टुहुरो, आमा मरे सिङ्गै टुहुरो ।’ यी लोकोक्ति आमाको गरिमा गाथा गाउनका लागि पर्याप्त छन् ।

परिवारमा लालाबालाको आगमन हुँदा हर्षपूर्ण वातावरण तयार हुन्छ । खुसियाली छाउँछ । यद्यपि कतिपय परिवारमा छोराको जन्मसँगै विडम्बनापूर्ण र दुर्भाग्यपूर्ण अवस्थाको बिजारोपण हुन्छ । चाटीचाटी हुर्काएको छोरो हुर्केपछि कुलङ्गार निस्क्यो भने घरपरिवार थर्कमान हुनुपर्ने अवस्था आउँछ । कुलङ्गार छोराबाट मातृहत्या तथा पितृहत्यासम्म भएका अनेकन् दृष्टान्त छन् । भनाइ नै छ, जन्म्यो छोरो हर्कमान, हुक्र्यो छोरो थर्कमान ।

रुँद, बूँद र झरी

बुढापाकाको मुखबाट सुनिन्थ्यो, पुसको रुँद, माघको बूँद, फागुनको झरी ।  पुसको महिना एक प्रकारले सूर्य दक्षिणायनको उत्कर्ष हो । त्यसबेला घामको प्रकाश नितान्त मधुरो हुन्छ । त्यसबेला आकाश धुम्मिएको अवस्थामा रहन्छ । लोकसाहित्यका अध्येता डा. हंसपुरे सुवेदीले उखान सङ्ग्रह– २०६७ मा ‘पुसको  रुँद’ भन्ने शब्दावलीमा आएको ‘रुँद’ शब्दलाई यसरी अथ्र्याएका छन्, पानी पर्न पर्न आँटेझैँ गरी धुम्मिएको अवस्था । एक अर्थमा पुसमा आकाश धुम्मिनु स्वाभाविकै हो ।

वर्षायाम अन्त्य भइसकेकाले माघमा खेतबारी सुक्का भइसकेको हुन्छ । यसबेला पानीको बूँद अपेक्षित हुन्छ । माघ महिनामा पानीको बूँद देखा पर्नु वा हल्का फुल्का पानी परेमा त्यसले हिउँदेबालीलाई राम्रो गर्छ । माघे झरी झन् राम्रो । खेतीपातीका लागि त फागुनमा झरी हुनै पर्छ । जसबाट बाँझो जमिन खनजोत गरी खेतीपातीका लागि तयारी गर्न सजिलो हुन्छ ।

पैँयु, आरु र छोरीबुहारी

‘पैँयु फुल्दा माइत जानू, आरु फुल्दा घर फर्कनू ।’ यस लोकोक्तिले कृषिप्रधान समाजमा घर–माइत गर्ने छोरीबुहारीले पालना गर्नुपर्ने समय–सारिणीबारे बोलेको छ । यसले छोरीबुहारीको नामै उच्चारण नगरिकन तिनले पालना गर्नुपर्ने अलिखित संहिता जारी गरेको देखिन्छ । पैँयु फुल्दा हिउँद सुरु भएको मानिन्छ । जुन तुलनात्मक रूपमा फुर्सदिलो समय हो । अर्कोतर्पm आरु फुल्ने समय खेतीपातीमा समय खर्चनु पर्ने यामको प्रारम्भिक विन्दु हो । जसले व्यस्ततापूर्ण समय आगमन भएको सङ्केत गर्छ । प्रस्तुत लोकोक्तिले फुर्सदिलो समयमा जन्मघर जाने र बेफुर्सदीको समयमा कर्मघर फर्कनुपर्ने छोरीबुहारीको रीत बोल्छ ।

धर्मभीरु समाजको तस्बिर

हामीकहाँ एउटा लोकोक्ति छ, बाहुनको मुख चोखो, कुकुरको शिकार चोखो, गाईको मुत चोखो, दमाईंको थुक चोखो, कामीको पानी (पाइन) चोखो ।’ अचेल हत्तपत्त नसुनिने यो लोकोक्ति कुनै समयमा सर्वव्यापक थियो । यस लोकोक्तिले चोखोनिती र शुद्धीकरणमा विशेष ध्यान दिने धर्मभीरु समाजको स्वभाव र चरित्रलाई मिठो तरिकाले चित्रण गरेको छ ।

पण्डितको भूमिकामा रहेका बाहुनले अभक्ष खाएर मुख कुल्ला नगरी गरेको मन्त्रोच्चारण तथा शास्त्रपाठलाई समाजले स्वीकार्छ । सामान्यतया कुखुरले मुख हालेको वा बिटुलो बनाएको खानेकुरा खाइँदैन तर शिकार खेल्दा कुकुरले टोकेको शिकारलाई सबैले कुनै नाटीकुटी नगरी ग्रहण गर्छ । गाईको पिसाबलाई गहुँतका रूपमा प्रयोग हुने चलनसँग हामी कोही पनि अनभिज्ञ छैनौँ ।

सूचीकारले सियोमा धागो छिराउँदा सजिलो होस् भनी त्यसमा थुक लगाउँछ । त्यही थुक लगाएको सियो–धागोले तकेको लुगा शुभकार्यमा ठाँटबाँटका साथ लगाइन्छ । आरनमा काम गर्ने शिल्पकारले हँसिया, खुकुरीलगायतका हतियार अर्जाप्दा (पाइन लाउँदा) पानीमा डुबाउँछ । जुन शुद्ध र सफा हुन्छ भन्ने छैन । त्यही हतियार देवकार्य तथा पितृकार्यमा प्रयोग गरिन्छ ।

नीतिवचन

लोकजीवनमा मानव जीवनलाई नीति–निर्देश गर्ने असङ्ख्य नीतिवचन भेटिन्छन् । ‘आगो, पानी र राजा सानो नदेख्नू’, ‘गुरु मान्नु बुझेर, बिहा गर्नु रोजेर, पानी खानु छानेर, कुरा गर्नु जानेर’, ‘घाँटी हेरी हाड निल्नू’, ‘कीराले हीरा बिगार्छ’, ‘सुन घोटी चिन्नू, मान्छे भेटी चिन्नू’ (सुन जाँच्नु कसी, मान्छे जाँच्नु बसी), ‘खान पायो भन्दैमा क्वाप्पै नखानू, बस्न पायो भन्दै थ्याँच्चै नबस्नू, बोल्न पायो भन्दैमा प्याच्चै नबोल्नू’, ‘कान देऊ, कुरा नदेऊ’, ‘चिन्नू, नचिनाउनू’, ‘मुर्खलाई अर्ती, जुकालाई सुर्ती बिख हुन्छ’, ‘सेवा गरे मेवा मिल्छ’ आदि ।

यी नीतिवचन आफैँमा प्रस्ट देखिन्छन् । जुन व्यावहारिक जीवनमा उत्तिकै उपयोगी र सान्दर्भिक छन् । युगौँको अनुभवबाट खारिएका यी नीतिवचनले परम्परागत ज्ञान र रैथाने अनुभव–अनुभूतिको खँदिलो पेटारो खोल्छन् ।

हुलमुल, जिउ र बिउ

जनजिब्रोमा अति नै प्रचलित लोकोक्ति छ, हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बिउ जोगाउनू । भिडको विवेक हुँदैन, उत्तेजित भिडले जे पनि गर्न सक्छ भन्ने सन्दर्भमा हुलमुलमा जिउ जोगाउनू भनाइ आएको हो । विवेकहीन भिडको उन्मादमा परेर समयको अनेकौँ कालखण्डमा कैयौँ निर्दोष मानिसले अङ्गभङ्ग भएको र कतिले त मृत्युवरणसमेत गर्नु परेको वास्तविकता हाम्रो अगाडि छ ।

अब आउँछ, अनिकाल र बिउको कुरा । अनिकालमा भोकको आगो निभाउन बिउ नै मासिने गरी भोक टा¥यो भने त्यसको नतिजा के होला ? सबैले जानेकै कुरा हो । यसबारे थप व्याख्या–विश्लेषण आवश्यक छैन । अहिले अनिकाल हराउँदै गएको छ तर पनि अनिकालमा बिउ जोगाउनू भन्ने भनाइ झनै सान्दर्भिक हुन गएको छ ।

अचेल आनुवांशिकी परिवर्तन गरिएका बिउबिजन (genetically modified organism, GMO)  को साम्राज्य बढ्दै गएको छ । अब किसानसँग बिउ रहने छैन । बिउ पनि बहुराष्ट्रिय कम्पनीसँग किन्नुपर्ने अवस्था आइसकेको छ । यससँगै कतिपय रैथाने बालीनालीको बिउ लोप भइसके । अब रैथाने बिउको अनिकाल लागिसक्यो । अब बचेखुचेका रैथाने बिउलाई कसरी जोगाउने भन्ने यक्ष प्रश्न तेर्सिएको छ ।‘हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बिउ जोगाउनू’ भन्ने लोकोक्ति अहिलेको परिवर्तित सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ ।

मनोविज्ञानदेखि कृत्रिम बौद्धिकीसम्म

‘आँ गर्दा अलङ्कार बुझ्ने’, ‘जुँगा चल्यो, कुरा बुझ्यो’ जस्ता मानिसको मनोविज्ञानसँग सम्बन्धित उखान प्रचलित छन् । यी उखान कृत्रिम बौद्धिकी (एआई) को युगमा पनि उत्तिकै प्रभावकारी देखिन्छ । अचेल सर्च इन्जिन तथा सोसल मिडियामा प्रयुक्त एआई र एलोरिदम प्रयोगकर्ताले उपभोग गरेका सामग्रीका आधारमा उस्तै प्रकृतिका अरू ‘कन्टेन्ट’ तुरुन्त उपलब्ध गरिदिन्छ । गुगल सर्च गर्ने क्रममा टाइप गरेका शब्दको हिज्जे पूरा नहुँदै सम्भावित उत्तर स्क्रिनमा आइहाल्छ । मानौँ एआईले हाम्रो मनोविज्ञान बुझेको छ । अतः पुरानो उखान डिजिटल युगमा पनि उत्तिकै सान्दर्भिक हुन पुगेको छ ।

निष्कर्ष

हामी अरू जस्तो बन्न खोजिरहेका छौँ । अरू जस्तो बन्न खोज्दा आफूभित्रै रहेका अमूल्य रत्नलाई भुलिरहेका छौँ, अमूल्य ज्ञान सम्पदालाई बेवास्ता गरिरहेका छौँ । हाम्रो परम्परागत ज्ञानमा आफ्नै विशिष्टता र पहिचान छ । कतिपय विश्वविख्यात अध्येताले परम्परागत ज्ञान र पश्चिमी ज्ञानलाई एकीकृत रूपमा प्रयोग गर्न सकिएमा जलवायु परिवर्तन, जैविक विविधता व्यवस्थापन र सार्वजनिक स्वास्थ्यसम्बन्धी समस्याकोे दिगो समाधान गर्न सकिन्छ भन्ने तर्क अघि सारेका छन् ।

यस दृष्टिले परम्परागत आधुनिक ज्ञान वैज्ञानिक ज्ञानको परिपूरक बन्न सक्छन् । त्यसैले आधुनिक युगमा पनि परम्परागत ज्ञानलाई जोगाउन अत्यावश्यक छ । यहाँनेर अर्को बिर्सन नहुने कुरा पनि छ परम्परागत ज्ञानलाई जोगाउन लोकसाहित्यलाई जोगाउनु पनि उत्तिकै आवश्यक छ किनभने परम्परागत ज्ञानको असली संवाहक लोकसाहित्य नै हो । युवामञ्चबाट