एक कर्मचारीले जागिर छोड्नका लागी आफ्ना चार औला काटे
- नेटिजन संवाददाता
- शुक्रबार, १९ पौष, २०८१- १७:२७:००/ Friday 01-03-25
नयाँ दिल्ली – ‘हुन्न’ वा ‘नाइँ’ भन्न सजिलो लाग्न सक्छ, तर कतिपय मानिसका लागि यो कुरा सजिलो हुँदैन। भारतको गुजरातमा भएको एउटा अचम्मको घटनाले यो कुरा स्पष्ट पार्छ। जागिर छोड्ने कुरामा हाकिमलाई स्पष्ट भन्न नसकेर एक युवकले आफ्नो बायाँ हातका चार वटा औँला आफैँ काटेका छन्।
घटना गत डिसेम्बरको सुरुवाततिरको हो। गुजरातको सुरतमा बसोबास गर्ने मयुर तारापारा नामक युवक जागिर छाड्न चाहन्थे, तर हाकिमलाई कुरा राख्न नसकेपछि उनले यस्तो अतिवादी कदम चालेका हुन्।
मयुरले पुलिसमा दिएको बयान अनुसार, घटना भएको दिन उनी मोटरसाइकलमा साथीको घर जाँदै थिए। एक्कासि रिँगटा लागेर सडकको छेउमा बसेका उनले केहीबेरपछि होस आएर हेर्दा आफ्ना चार वटा औँला काटिएको पाए।
सुरुमा प्रहरीले घटनालाई रहस्यमय ठानेर कसैले तान्त्रिक उद्देश्यले उनको औँला काटेर लगेको हुनसक्ने अनुमान गर्यो। तर अनुसन्धानले अर्कै सत्यतर्फ इङ्गित गर्यो।
घटना अम्रोली प्रहरी चौकीमा दर्ता भएपछि अनुसन्धानका लागि सहरको अपराध शाखासम्म मामिला पुग्यो। सीसीटीभी फुटेजमा मयुरलाई चक्रपथको नजिक आफ्नो बाइक पार्क गरेर एक्लै हिँडेको र केही समयपछि चोटग्रस्त हात लिएर फर्किएको देखिएको थियो। प्रहरीले थप जाँचबुझ गरेपछि मयुरले आफैँले चक्कु प्रयोग गरी औँला काटेको स्वीकारे।
मयुरले आफ्नो बयानमा आफन्तको हिरा कम्पनीमा काम गर्न मन नलागेको तर हाकिमलाई जागिर छाड्ने कुरा भन्न गाह्रो भएको बताए। यसै कारण उनले यस्तो अतिवादी कदम उठाएर जागिरबाट उम्किन चाहेका थिए।
प्रहरीले युवकले प्रयोग गरेको चक्कु र काटिएका तीन वटा औँला भेट्टाएको जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सामान्यतया ‘नाइँ’ भन्नु सामान्य मानिन्छ, तर मयुर जस्ता केही व्यक्तिहरूका लागि यो कुरा कठिन हुन सक्छ। जागिर छोड्न नसक्दा उठाइएको यस्तो चरम कदमले मानिसको मानसिक तनावले कति गम्भीर रूप लिन सक्छ भन्ने कुरा प्रस्ट पारेको छ।