बच्चाले धेरै मोबाईल हेरेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस
- नेटिजन संवाददाता
- सोमबार, २२ पौष, २०८१- १२:०५:००/ Monday 01-06-25
काठमाडौं। आजको समयमा स्मार्टफोन र ट्याबलेट बालबालिकाको दैनिकीको अभिन्न हिस्सा बनेका छन्। उनीहरूले स्क्रिनमा बिताउने समय लगातार बढिरहेको छ, जसले शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ।
यदि तपाईं बालबालिकाको स्मार्टफोन चलाउने बानीमा निगरानी राख्न चाहनुहुन्छ भने ‘गुगल फ्यामिली लिंक’ उपयोगी साधन बन्न सक्छ। यो एपमार्फत बालबालिकाको स्मार्टफोनमा समयसीमा तोक्न, एप डाउनलोडमा नियन्त्रण राख्न र अन्य विभिन्न सुरक्षा सुविधा सक्षम गर्न सकिन्छ।
कसरी प्रयोग गर्ने?
फ्यामिली लिंक एप एन्ड्रोइड ७.० वा सोभन्दा माथिका भर्सनहरूमा सजिलै चलाउन सकिन्छ। सुरुमा आफ्नो फोनको एन्ड्रोइड भर्सन चेक गर्नुहोस्। सेटिङमा गएर ‘अबाउट फोन’मा तपाईंले एन्ड्रोइड भर्सन पत्ता लगाउन सक्नुहुन्छ।
यदि तपाईंको बच्चाको फोनमा एन्ड्रोइड ५.० वा ६.० छ भने पनि यो एप काम गर्छ। एन्ड्रोइड १० वा सोभन्दा नयाँ भर्सनमा चल्ने उपकरणहरूमा त ‘फ्यामिली लिंक’ एपबिना नै यो सुविधा उपलब्ध गराउन सकिन्छ।
फ्यामिली लिंक सेटअप गर्न पहिले आफ्नो र बच्चाको गुगल अकाउन्ट तयार राख्नुहोस्। यदि बच्चाको छुट्टै गुगल अकाउन्ट छैन भने, नयाँ अकाउन्ट बनाएर लिंक गर्न सकिन्छ।
सेटअप कसरी गर्ने?
फ्यामिली लिंक सेट गर्न तपाईंको र बच्चाको उपकरण नजिकै हुन आवश्यक पर्छ।
१. आफ्नो डिभाइसमा फ्यामिली लिंक एप डाउनलोड गरेर खोल्नुहोस्।
२. ‘गेट स्टार्टेड’मा क्लिक गरी ‘प्यारेन्ट’ अप्सन चयन गर्नुहोस्।
३. बच्चाको डिभाइसमा ‘डिभाइस फर अ चाइल्ड’ अप्सन छानेर गुगल अकाउन्ट लिंक गर्नुहोस्।
४. सेटअप पूरा भएपछि तपाईंले बच्चाको डिभाइसलाई टाढाबाटै नियन्त्रण गर्न सक्नुहुन्छ।
फ्यामिली लिंकले तपाईंलाई बच्चाले फोनमा कति समय बिताइरहेको छ भन्ने जानकारी दिन्छ। साथै, तपाईंले कुनै निश्चित एपमा कति समय बिताउने सीमित समय तोक्न सक्नुहुन्छ।
यसमा समयअनुसार फोन लक तथा अनलक गर्ने सुविधा पनि छ। उदाहरणका लागि, सुत्ने समयमा फोन लक हुने र बिहान अनलक हुने सेटिङ राख्न सकिन्छ।
फ्यामिली लिंकमार्फत लोकेसन ट्र्याकिङ पनि सम्भव छ। बालबालिकाको फोन कहाँ छ भन्ने जानकारी तत्काल थाहा पाइन्छ। तर लोकेसन चेक गर्दा बच्चाको फोनमा जानकारीको रूपमा नोटिफिकेसन जान्छ, जसले अभिभावक र बालबालिकाबीच विश्वासको वातावरण बनाउन सहयोग गर्छ।
फ्यामिली लिंकमा ‘म्यानेज सेटिङ’ नामक सुविधा छ, जसले तपाईंलाई फोनमा कुन एप इन्स्टल गर्न दिने वा नदिने भनेर नियन्त्रण गर्ने क्षमता दिन्छ।
यो एप प्रयोग गरेर बालबालिकाको डिजिटल आदत सुधार्न र सुरक्षित इन्टरनेट अनुभव दिन अभिभावकले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
गुगल फ्यामिली लिंक एप एन्ड्रोइड तथा आईओएस दुवैमा निःशुल्क उपलब्ध छ।