• बुधबार, २४ पौष, २०८१
  • ०३:०७:२३

हेटौँडामा बन्दै ५ पिचसहितको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान

हेटौँडा उपमहानगरपालिका-६, गौरिटारस्थित रङ्गशालाभित्र करिब रु ११ करोड ७४ लाखको लागतमा यो क्रिकेट मैदान निर्माण भइरहेको छ।


प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपक लामाका अनुसार छ हजार दर्शक क्षमताको प्याराफिट, पाँच वटा पिच, ७० मिटर रेडियसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी बक्स, चेन्जिङ रुम, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङसहितका अत्याधुनिक सुविधासहितको मैदान निर्माण हुँदैछ। साथै, टिभी तथा रेडियो प्रसारण कक्षसमेत रहनेछ।

हाल निर्माणाधीन मैदानको चार ब्लकमा प्याराफिट बनाउने योजना तयार गरिएको छ भने पहिलो ब्लकको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। मैदान निर्माणका लागि रु ९ करोड ४२ लाख ८२ हजारको ठेक्का एसएनएस पिएल एचकेसी जेभीले २०८० चैत २० मा पाएको हो।

सदस्य–सचिव लामाका अनुसार हाल मैदान सम्याउने र भूमिगत ढलमार्फत पानीको व्यवस्थापनका लागि पाइप बिछ्याउने काम भइरहेको छ। त्यसपछि ग्राभेल र माटोको तह राखेर मैदानको सतह तयार पारिनेछ। मैदानको अन्तिम भागमा बर्मुण्डा दुबो लगाइने योजना रहेको छ।

गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुवी लामासहितको टोलीले निर्माणस्थलको निरीक्षण गरेको थियो। सचिव खड्काले मैदानको पूर्वाधार निर्माण कार्यप्रति सन्तोष व्यक्त गर्दै प्रदेश सरकारद्वारा गरिएको लगानीलाई सकारात्मक कदमका रूपमा लिएको बताउनुभयो। उहाँले तीव्र गतिमा भइरहेको निर्माणले छिट्टै राष्ट्रियस्तरका खेल आयोजना गर्न सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

क्रिकेटप्रेमीहरूको ठूलो अपेक्षा रहेको यो परियोजना पूरा भएपछि क्षेत्रीय तथा राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालनमा टेवा पुग्नेछ।