आजको मौसम: पश्चिम तराईमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
- नेटिजन संवाददाता
- मंगलबार, २३ पौष, २०८१- ०७:५२:००/ Tuesday 01-07-25
काठमाडौं । देशमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव जारी छ, जसका कारण केही स्थानमा मौसम बदली देखापरेको छ भने अन्य स्थानमा मुख्यतः मौसम सफा रहने अपेक्षा गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार पश्चिम तराईका केही स्थानमा आज बिहान घना कुहिरो लागेको छ भने देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
विभागले दिएको जानकारी अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । साथै, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भाग तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च भू–भागमा पनि हल्का हिमपात हुनसक्ने बताइएको छ ।
आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनुका साथै बाँकी भू–भागमा मौसम सफा रहने प्रक्षेपण गरिएको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा रातिको समयमा पनि हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
आगामी २४ घण्टासम्म गण्डकी, बागमती र कोशीका पहाडी भागमा केही स्थानमा हल्का वर्षा हुन सक्नेछ । साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको हुँदा दैनिक जनजीवनमा असर पर्न सक्ने चेतावनी दिँदै विभागले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
विभागले मौसममा देखिने यस्ता परिवर्तनका कारण स्वास्थ्य, यातायात तथा हवाई उडानमा समस्या पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।