• बुधबार, २४ पौष, २०८१
  • ०९:०२:२५

तिब्बत भूकम्प: राष्ट्रपति पौडेलको गहिरो समवेदना

काठमाडौं – जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान गएको भूकम्पले मानव जीवन र सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको घटनाप्रति राष्ट्रपति रामचन्द्र पौडेलले गहिरो दुःख व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत शोक सन्देश जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने पीडित परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले यस संकटको घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गर्नुभएको छ ।


तिब्बतमा आएको यो विनाशकारी भूकम्पले स्थानीय क्षेत्रमा ठूलो त्रास फैलाएको छ भने राहत र उद्धारका प्रयासहरू जारी रहेको छ। यस्तै, यस कठिन समयमा चीनप्रति नेपालले आवश्यक सहयोगका लागि तयार रहेको संकेत राष्ट्रपतिको सन्देशमा उल्लेख गरिएको छ।