• बुधबार, २४ पौष, २०८१
  • ०९:२३:४०

नेपालमा पछिल्ला २२ दिनमा ११ भूकम्पका धक्का, काठमाडौँमा पाँच दिनभित्र दोस्रो धक्का

काठमाडौं, पुस २३ – नेपालमा पछिल्लो समय लगातार भूकम्पको धक्का महसुस हुँदै आएको छ। पछिल्लो २२ दिनको अवधिमा मात्रै ११ पटक भूकम्पले देशका विभिन्न भागमा धक्का दिएको छ। आज बिहान काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस गरियो।


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज बिहान चीनको तिब्बत क्षेत्र केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार, काठमाडौँ उपत्यकामा गएको यो भूकम्पको धक्का पाँच दिनभित्र दोस्रोपटक महसुस गरिएको हो।

चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार, भूकम्पको केन्द्रबिन्दु तिब्बतको सिगात्से सहर नजिकको डिङ्ग्री काउन्टीमा रहेको थियो। त्यहाँ भूकम्पको म्याग्निच्युड ६.९ मापन गरिएको छ। यसअघि पुस १८ गते सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प जाँदा पनि काठमाडौँ उपत्यकामा धक्का महसुस भएको थियो।

पुस महिनामा मात्र विभिन्न मितिमा नेपालमा निम्न भूकम्पहरू गएका छन्:

पुस २ गते – बझाङको धामेना केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प।

पुस ३ गते – पुनः बझाङको धामेना आसपास ४.१ म्याग्निच्युडको भूकम्प।

पुस ४ गते – मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प।

पुस ६ गते – बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प, जसले दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको थियो।

पुस ९ गते – दार्चुलाको अपी हिमाल आसपास ४ म्याग्निच्युडको भूकम्प।

पुस ११ गते – जाजरकोट नायकवाडा केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प।

पुस १२ गते – कालिकोटको लाली आसपास ३.७ म्याग्निच्युडको भूकम्प।

पुस १६ गते – बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प।

पुस १८ गते – सिन्धुपाल्चोक माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प।

पुस १९ गते – मुगुको लुमा क्षेत्रमा ४.४ म्याग्निच्युडको भूकम्प।

पुस २३ गते – चीनको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प।

 

डा. अधिकारीका अनुसार नेपालमा औसतमा दिनमा १० पटकसम्म सानाठूला भूकम्प जाने गर्छन्। तर, यहाँको प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्ने भएकाले सबै भूकम्पको तथ्यांकमा समावेश हुँदैन। राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ म्याग्निच्युडभन्दा माथिका भूकम्पको मात्र औपचारिक रेकर्ड राख्ने गर्छ।

नेपाल भूकम्पीय जोखिमको उच्च सम्भावित क्षेत्र भएकाले नियमित रूपमा सचेत रहन र आपत्कालीन अवस्थामा आवश्यक तयारी गर्न विज्ञहरूले आग्रह गरेका छन्।