मासु खाँदा किन बढी प्यास लाग्छ ?
- रामप्रसाद सुवेदी
- बुधबार, ३२ असार, २०८२- ११:५५:००/ Wednesday 07-16-25

काठमाडौं । सानो छँदाको दसैँतिहारको घटना अहिले याद आउँछ । त्यसबेला गाउँमा मासु र सेल खानलाई दसैँतिहार नै पर्खिनुपर्ने हुन्थ्यो । वर्ष दिनमा बल्लतल्ल मासु र सेल खान पाइने हुँदा सकेसम्म पेट फुलाएर नै खाने गरिन्थ्यो ।
खाइसक्दा नसक्दै एकैछिन पछि प्यास लागेर हैरान हुन्थ्यो । त्यसै त मासु र रोटीले भरिएको भुँडी त्यसमाथि प्यास मेट्न पानी वा मोही पिउँदा पेट अटसमटस भएर सास फेर्न नि गाह्रो हुन्थ्यो । के कारणले त्यसबेला प्यास बढी लाग्यो भन्नेबारेमा गहिरिएर विचार गरिएन । अब त्यसको कारण खोजी गरौँ है त ? हाम्रो शरीरमा करिब ६० प्रतिशत भाग पानी हुन्छ ।
शरीरभित्र सञ्चालन हुने विभिन्न किसिमका जीवन प्रक्रिया जस्तै– श्वासप्रश्वास, खानाको पाचन, निष्कासन, रक्तसञ्चार आदिका लागि पानी नभई हुँदैन । यीलगायत हामीले गर्ने विभिन्न परिश्रमका कामका लागि पनि पानी नभई हुँदैन ।
सामान्य अवस्थामा पनि हाम्रो शरीरबाट दिसा, पिसाब, पसिना, आँसु आदिका रूपमा पानी शरीरबाट बाहिर निस्कन्छ । यी सबका कारण शरीरबाट पानी बाहिर निस्किरहेको हुन्छ । तसर्थ यसको आपूर्ति गर्न पनि हामीले दिनभरमा दुई/तीन लिटरसम्म पानी पिउनु पर्दछ ।
हाम्रो शरीरमा चाहिने पानीको मात्रा हामीले खानेकुरामा निर्भर हुन्छ । प्रचुर मात्रामा पानी हुने खालका खानेकुरा जस्तैः झोल खानेकुरा, काँक्रो, फर्सी, फलफूल आदि खाँदा शरीरलाई आवश्यक हुने धेरै पानीको मात्रा तिनीहरूबाटै प्राप्त हुने हुँदा धेरै पानी पिउन आवश्यक पर्दैन तर जब हामी मासु र चिल्लो पदार्थ खान्छौँ तब ती खाद्यपदार्थमा भएको प्रशस्त प्रोटिनका कारण पाचन गर्न कठिन हुन्छ जसका लागि प्रशस्त पानीको आवश्यकता पर्दछ ।
यस अवस्थामा शरीरमा भएको पानीको ठुलो मात्रा मासु र चिल्लोमा भएको अधिक नाइट्रोजन र प्रोटिनको मात्रालाई पाचन गर्न उपयोग हुन्छ । यसका साथै यस प्रकारका खानामा भएको अधिक सोडियमको मात्राले कोषबाट प्रशस्त मात्रामा पानी शोषण गर्दछ जसले गर्दा शरीरमा निर्जलीकरण हुने र प्यास लाग्ने हुन जान्छ । हामीले खाने मासु र चिल्लो खाना समान्यतः सुक्खा प्रकृतिका हुन्छन् । मासु तारेर, भुटेर, सुकुटी बनाएर, सेकुवा बनाएर, पोलेर, तास बनाएर, रोस्ट गरेर आदि विविध खालका परिकार बनाएर खाने प्रचलन छ, जुन स्वभावैले सुक्खा प्रकृतिका परिकार हुन् ।
यस प्रकारका सुक्खा खानालाई पाचन गर्नसमेत थप पानीको मात्रा आवश्यक पर्ने हुनाले पनि शरीरले थप पानी माग गर्दछ । फलस्वरूप हाम्रो शरीरलाई सामान्यभन्दा बढी पानी आपूर्ति गर्न तिर्खा वा प्यास लाग्ने गर्दछ । यी कुराका अतिरिक्त खानामा भएको प्रोटिन र चिल्लो पदार्थको अधिक मात्राका कारण यसलाई पाचन गर्न हाम्रो आमाशयले बढी अम्ल उत्पादन गर्नुपर्ने हुन्छ ।
आमाशयमा अधिक मात्रामा अम्ल जम्मा हुनाले त्यसलाई तटस्थीकरण गर्न वा सन्तुलनमा राखी फिक्का बनाउन पनि शरीरले बढी पानी माग गर्दछ । फलस्वरूप हामीले तिर्खा लागेको महसुस गर्दछौँ ।
यस प्रकारले विश्लेषण गर्दा प्रशस्त मात्रामा मासु वा चिल्लो पदार्थ खाँदा प्यास वा तिर्खा लाग्नुका कारण निम्नानुसार रहेको देखिन्छ–
क) मासु र बोसोजन्य खानामा प्रशस्त प्रोटिनको मात्रा रहनु,
ख) यस्ता खानामा पर्याप्त मात्रामा सोडियम लवण रहनु,
ग) चिल्लो पदार्थलाई पचाउन प्रशस्त मात्रामा पानीको आवश्यकता पर्नु,
घ) हाम्रो आमाशयमा मासुजन्य खाना पचाउन बढी मात्रामा अम्ल उत्पादन हुनु र त्यसलाई तटस्थ बनाउन थप पानी आवश्यक पर्नु,
ङ) मासुका परिकारहरू प्रायः सुक्खा प्रकृतिका हुनु र लेदोको अवस्थामा पुर्याई पाचन र शोषण हुन बढी पानीको आवश्यकता पर्नु । मुनाबाट।