छाउगोठमा अकालमा ज्यान जाँदै
-
नेटिजन संवाददाता
- बुधबार, ३२ असार, २०८२- ११:१७:००/ Wednesday 07-16-25

काठमाडौं। छाउगोठमा बसेकी कञ्चनपुरकी २८ वर्षीय कमला आउजी दमाईंले शनिबार अकालमा ज्यान गुमाउनुपर्यो । महिनावारी भएपछि देवता रिसाउने डरले पक्की घर छाडेर कच्ची छाउगोठमा बसेकी उहाँका लागि त्यही गोठ नै काल बन्यो । शुक्रबार राति विषालु सर्पले टोकेपछि उहाँले संसार छाड्नुभयो । उहाँका तीन छोरा टुहुरा भए ।
त्यस्तै २०७५ पुस २४ गते बाजुरामा छाउगोठमा हृदयविदारक घटना घट्यो । रजस्वला भएपछि ३५ वर्षीय अम्बा बोहरा आफ्ना दुई छोरा १२ वर्षीय सुरेश र नौ वर्षीय रमितलाई लिएर छाउगोठमा बस्नुभएको थियो । दुर्भाग्य जाडो छल्न बालेको आगोले गोठ जल्दा तिनै जनाको एकै चिहान बन्यो त्यही गोठ । घटना थियो बुढीनन्दा नगरपालिका–९, अगाउपानीको ।
रजस्वला महिलाको प्राकृतिक र नियमित मासिक प्रक्रिया हो तर रजस्वला भएपछि छुवाछुत र देवीदेवताको डर मान्ने कुसंस्कारका कारण छाउगोठमा महिलाले अकालमै ज्यान गुमाउने क्रम रोकिएको छैन । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो एक दशकयता मात्रै सुदूरपश्चिम प्रदेशमा छाउगोठमा आठ जनाले अकालमै ज्यान गुमाएका छन् । त्यस्तै एक जना बलात्कृत भएको र एक महिलामाथि बाघले आक्रमण गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।
उहाँका अनुसार अछाममा चार, बाजुरामा तीन र कञ्चनपुरमा एक जनाको छाउगोठमा ज्यान गएको छ । २०७६ कात्तिक १५ गते अछामको साँफेबगर नगरपालिका–३, डिग्रेनीकी २२ वर्षीय पार्वती बुढा रावतको गोठभित्र सर्पदंशबाट ज्यान गएको थियो । यस्तै २०७३ कात्तिक ५ गते तिमिल्सेनकी ४५ वर्षीय डम्मरा उपाध्यायले गोठभित्र निसासिएर ज्यान गुमाउनुभएको थियो ।
गाजराकी १५ वर्षीय रोशनी तिरुवाले २०७३ कात्तिक ५ र तुर्माखाँद गाउँपालिका–३ की २१ वर्षीय गौरी वयक बुढाले २०७४ पुस २७ गते निसासिएर गोठमा ज्यान गुमाउनु परेको थियो ।
प्रदेशमा २०७० सालभन्दा अगाडि पनि थुप्रै महिलाले छाउगोठमा अकालमै ज्यान गुमाएका छन् । यसै गरी घरभन्दा केही पर एक्लै गोठमा बस्ने कारणले उनीहरू गोठमै बलात्कारको सिकार पनि भइरहेका छन् । गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–२ की १६ वर्षीय किशोरी छाउगोठमा बलात्कृत भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यस्तै गएको माघ १४ गते कैलालीको मोहन्याल गाउँपालिका–७, कुइनेकी ४५ वर्षीय सरस्वती वन्यजन्तुको आक्रमणबाट घाइते हुनुभएको थियो । छाउगोठमा सुतिरहेको अवस्थामा उहाँमाथि बाघले आक्रमण गरेको जनाइएको छ ।
मुलुकी अपराधसंहिता ऐन, २०७५ ले छाउपडी कुप्रथालाई बन्देज गरेपछि २०७६ मा यस प्रदेशभरि प्रहरीले नै छाउगोठ भत्काउने अभियान थालेको थियो । अछाम, बाजुरा, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लामा छाउगोठ भत्काइए पनि फेरि त्यस्ता गोठ बनाइएको छ । कञ्चनपुरकी कमला आउजीको मृत्युपछि सो जिल्लामा प्रशासनले सबै छाउगोठ भत्काउने अभियान चलाउन नौ वटै स्थानीय तहलाई पत्राचार गरेको छ ।
एक वर्षअगाडि मात्रै छाउगोठ भत्काउने अभियान चलाएको जनाउँदै कृष्णपुर नगरपालिकाका कार्यपालिका सदस्य आरतीकुमारी धामी बोहोराले अटेर गरेर पुनः गोठ बनाइएको बताउनुभयो । उहाँले पहाडबाट बसाइँ सरेर आएकाले अटेर गरिरहेको जिकिर गर्नुभयो ।गोरखापत्र अनलाइनबाट।