• बुधबार, २३ माघ, २०८१
  • ०५:३४:४९

एन्ड्रोइडमा नयाँ सुविधा: अब क्यूआर कोडमार्फत सजिलै फाइल सेयर गर्न सकिने

काठमाडौं । एन्ड्रोइड डिभाइसहरूबीच फाइल सेयर गर्न प्रयोग गरिने 'क्विक शेयर' फिचरमा नयाँ र उपयोगी सुधार आएको छ। यो फिचरअन्तर्गत अब क्यूआर कोड प्रयोग गरेर डकुमेन्ट, फोटो तथा भिडिओहरू सजिलै अन्य डिभाइसमा पठाउन सकिने सुविधा थपिएको छ।

यसअघि 'नियरबाई शेयर' नामले चिनिने यो फिचरमा गुगलले लगातार सुधार गर्दै आएको छ। केही समयपहिले ट्रान्सफरको प्रगतिलाई प्रतिशतमा देखाउने अप्सन उपलब्ध गराइएको थियो। अब भने फिचरमा नयाँ बटन थपिएको छ, जसले प्रयोगकर्तालाई फाइल सेयर गर्न नजिकको डिभाइस खोज्नुपर्ने झन्झटबाट मुक्त गराउनेछ। अब, तपाईं क्यूआर कोड जेनेरेट गरेर सो कोड स्क्यान गरी फाइल पठाउन सक्नुहुनेछ।

यो सुविधा नजिकको डिभाइसहरूसँग सेयर गर्दा सुरक्षित रहन र गोपनीयता कायम राख्न मद्दत पुर्‍याउनेछ। तर, यसलाई आईओएस वा विन्डोज डिभाइसहरूसँग प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा भने अझै स्पष्टता आएको छैन।

यसका अतिरिक्त, एन्ड्रोइडको नयाँ अपडेटमा गुगल ड्राइभमा डकुमेन्ट स्क्यान गर्ने फिचर पनि सुधारिएको छ। अब डकुमेन्ट स्क्यान गर्दा कन्ट्रास, ह्वाइट ब्यालेन्स, छायाँ तथा धमिलोपनलाई स्वचालित रूपमा सुधार गरेर सहजै प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ।

गुगलको यो पहलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि दैनिक जीवन अझ सजिलो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।