हिटरको प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस
- नेटिजन संवाददाता
- शुक्रबार, २६ पौष, २०८१- १७:२१:००/ Friday 01-10-25
काठमाडौं। जाडोको कठ्याङ्ग्रिँदो चिसोले गर्दा न्यानोपनका लागि घर तथा कार्यालयमा हिटरको प्रयोग सामान्य बन्दै गएको छ। तर, हिटरको सही तरिकाले प्रयोग नगर्दा यसले स्वास्थ्यमा गम्भीर समस्या र दुर्घटनासमेत निम्त्याउन सक्छ।
विशेषज्ञहरूले झ्यालढोका पूरै बन्द गरेर हिटर चलाउनु स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुने चेतावनी दिएका छन्। बन्द कोठामा हिटरको लामो समय प्रयोगले कार्बन मोनोअक्साइडको मात्रा बढ्न सक्छ, जसले श्वासप्रश्वासमा समस्या उत्पन्न गर्छ। यो अवस्थामा मानिसले सुरुमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिँगटा लाग्ने, र निस्सासिने अनुभव गर्न सक्छन्। गम्भीर अवस्थासम्म पुग्दा बेहोस हुने र मृत्यु समेत हुनसक्छ।बालबालिका, वृद्धवृद्धा र दम, एलर्जी वा श्वासप्रश्वासको समस्या भएकाहरूको स्वास्थ्यमा हिटरले अझ बढी नकारात्मक असर पार्न सक्छ। त्यसैले हिटरको प्रयोग गर्दा ध्यान दिनुपर्ने धेरै महत्त्वपूर्ण कुरा छन्।
हिटर प्रयोग गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा
१. हावाको ओसिलोपनामा कमी ल्याउँछ
हिटरले कोठाको हावामा भएको ओसिलोपनालाई सोस्छ। यसले छाला सुक्खा बनाउनुका साथै चिलाउने समस्या उत्पन्न गर्न सक्छ। विशेषगरी बालबालिकाको कोमल र संवेदनशील छालामा यो समस्या गम्भीर हुन सक्छ।
२. निसासिने अवस्था सिर्जना गर्छ
बन्द कोठामा हिटर चलाउँदा अक्सिजनको मात्रा घट्ने र कार्बन मोनोअक्साइडको मात्रा बढ्ने भएकाले निसासिने समस्या देखिन सक्छ। यसबाट स्वासप्रश्वासमा समस्या हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता अवस्था सिर्जना हुन्छ। यसकारण, झ्याल वा ढोका थोरै खुला राखेर हिटर चलाउनु राम्रो हुन्छ।
३. शरीरको तापक्रममा असन्तुलन ल्याउँछ
हिटरको कृत्रिम न्यानोपनमा धेरै समय बिताउँदा शरीर बाहिरी तापक्रमसँग अनुकूल हुन नसक्ने हुन सक्छ। यसले शरीरको तापक्रम अचानक तलमाथि गराउँछ, जसले गर्दा ज्वरो आउने, रुघा-खोकी लाग्ने वा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
४. आगो तथा चोटपटकको जोखिम बढाउँछ
हिटर धेरै नजिक राखेर बस्दा शरीरका अंग जल्न सक्ने जोखिम रहन्छ। त्यस्तै, हिटर सही तरिकाले प्रयोग नगर्दा वा त्यसलाई कपडा, कागजजस्ता वस्तुहरूले ढाक्दा आगलागी हुनसक्छ।
हिटर सुरक्षित तरिकाले प्रयोग गर्ने उपाय
१. रातभर हिटर नचलाउनुहोस
लामो समयसम्म बन्द कोठामा हिटर चलाउँदा अक्सिजनको मात्रा कम हुन्छ। यसले श्वासप्रश्वासमा समस्या र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
२. बाल्टिनमा पानी राख्नुहोस्
हिटरले हावाको ओसिलोपनालाई सोस्ने भएकाले कोठामा सन्तुलन कायम गर्न एक बाल्टिन पानी राख्नु उपयुक्त हुन्छ।
३. कपडा र अन्य वस्तुहरूले हिटर नढाक्नुहोस्
हिटरलाई कुनै कपडा, कागज वा अन्य सामग्रीले ढाक्दा यसले अत्यधिक ताप उत्पन्न गर्न सक्छ, जसले आगलागीको जोखिम बढाउँछ।
४. समतल र सुरक्षित ठाउँमा हिटर राख्नुहोस्
हिटरलाई सधैं समथर सतहमा राख्नुहोस्। यसलाई बच्चाहरूको पहुँचबाट टाढा राख्नु जरुरी छ।
५. स्वास्थ्य अवस्था अनुसार हिटर छनोट गर्नुहोस्
यदि तपाईंलाई दम, एलर्जी, पिनास वा ब्रोन्काइटिसको समस्या छ भने बजारमा विशेष खालका हिटर उपलब्ध छन्। स्वास्थ्य विशेषज्ञसँग परामर्श गरेर मात्र हिटर खरिद गर्नुहोस्।
६. समय-समयमा पानी पिउनुहोस्
हिटरको प्रयोग गर्दा छाला सुक्खा हुनसक्छ। त्यसैले प्रशस्त पानी पिउनुहोस् वा तातो चिया, सुपजस्ता पेय पदार्थ पिउनु राम्रो हुन्छ।
हिटरले जाडो मौसममा न्यानोपन त दिन्छ, तर यसको लापरवाहीपूर्ण प्रयोगले गम्भीर दुर्घटना र स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।