• आइतबार, २८ पौष, २०८१
  • ०५:२५:१३

जीमेलमा आउने ईमेललाई अर्को अकाउन्टमा स्वतः फर्वाड गर्ने तरिका

जीमेल अहिले हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। अनलाइन खाता खोल्नदेखि कार्यालयका काम र व्यक्तिगत संवादका लागि यसको प्रयोग अत्यन्तै सामान्य छ। तर, कहिलेकाहीँ हाम्रो जीमेल अकाउन्टमा समस्या आउँदा महत्त्वपूर्ण ईमेल गुम्ने जोखिम हुन्छ। यस्तो जोखिमलाई न्यूनीकरण गर्न, गुगलले जीमेलमा ईमेलहरू स्वतः अर्को जीमेल अकाउन्टमा फर्वाड गर्ने फिचर उपलब्ध गराएको छ।


यो फिचरले तपाईंको जीमेल अकाउन्टमा आएका सबै इनकमिङ ईमेललाई स्वतः अर्को अकाउन्टमा पठाउँछ। यसले गर्दा यदि प्रमुख अकाउन्टमा पहुँच गुम्यो भने पनि महत्त्वपूर्ण ईमेलहरू सुरक्षित रहन्छन्। यो सुविधा विशेष गरी व्यवसायिक प्रयोगकर्ता र संवेदनशील डेटा भण्डारण गर्ने व्यक्तिका लागि उपयोगी छ।

यो फिचर कसरी सक्रिय गर्ने?
सुरुमा, आफ्नो कम्प्युटर वा फोनको ब्राउजरमा जीमेल खोल्नुहोस्। फोनबाट यो प्रक्रिया गर्न डेस्कटप मोड प्रयोग गर्नुपर्छ। त्यहाँ जीमेल इन्टरफेसमा माथिल्लो दायाँपट्टि रहेको सेटिङ आइकनमा क्लिक गरी "See All Settings" मा जानुहोस्। त्यसपछि "Forwarding and POP/IMAP" ट्याब खोल्नुहोस्।

फर्वाडिङ सेक्सनमा रहेको "Add a Forwarding Address" मा क्लिक गरी, फर्वाड गर्न चाहनुभएको अर्को ईमेल ठेगाना राख्नुहोस्। त्यस ईमेलमा आएको कन्फर्मेसन इमेलबाट भेरिफिकेसन प्रक्रिया पूरा गर्नुहोस्। पुनः सेटिङ्स पेजमा फर्केर "Forward a copy of incoming mail to…" भन्ने अप्सन चयन गरी "Save Changes" मा क्लिक गर्नुभयो भने यो प्रक्रिया पूरा हुन्छ।

यो फिचरले महत्त्वपूर्ण ईमेलहरू सुरक्षित राख्न मद्दत गर्दछ। यदि प्रमुख अकाउन्टमा पहुँच गुम्छ भने पनि तपाईंको सबै ईमेल अर्को अकाउन्टबाट हेर्न सकिन्छ।  जीमेलको यो उपयोगी फिचर सक्रिय गरी आफ्नो महत्त्वपूर्ण डेटा सुरक्षित राख्न सक्नुहुन्छ। कुनै पनि अप्रत्याशित परिस्थितिमा पनि यो फिचरले तपाईंलाई चिन्तामुक्त बनाउँछ।