• आइतबार, २८ पौष, २०८१
  • ०७:३१:२२

सुतेरै १००० जागिरका लागि आवेदन दिएका एक व्यक्तिको अनुभव

काठमाडौं। कन्टेन्ट क्रियसन र लेखन क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको (एआई) प्रभाव छिटो फैलिरहेको छ। अहिलेको समयमा एआई उपकरणहरू यति सामान्य भइसकेका छन् कि बायोडाटा, कभर लेटर, स्टेटमेन्ट अफ पर्पस, समझदारी पत्र र अन्य कागजात तयार गर्न एआईको उपयोग दिनप्रतिदिन बढिरहेको छ।


जागिरको लागि आवेदन दिने प्रक्रिया पनि अहिले एआईद्वारा प्रभावकारी ढंगले सम्पन्न गर्न सकिन्छ भन्ने कुरा एक व्यक्तिको अनौठो प्रयोगले देखाएको छ। उनले एआईको माध्यमबाट १००० विभिन्न स्थानमा जागिरका लागि आवेदन दिएका थिए, र यो सबै उनले आरामले सुतिरहेको अवस्थामा गरेका थिए ।

यो रोचक अनुभव रेडिटको 'गेट इम्प्लोइड' फोरममा उनले साझा गरेका छन्। उनका अनुसार, उनले एक एआई च्याटबट बनाए जसले उनको व्यक्तिगत जानकारीलाई विश्लेषण गर्यो। त्यसपछि, विभिन्न कम्पनीका खुला जागिरको विवरणलाई बुझेर, उक्त एआई च्याटबटले आवश्यक रेजुमे र कभर लेटर तयार गर्‍यो र स्वचालित रूपमा आवेदनहरू दिइ राख्यो।

उनको भनाइ अनुसार, यो प्रक्रिया एकदमै सहज र प्रभावकारी थियो। उनले भने, “एक महिनामा, मेरो एआई च्याटबटले ५० भन्दा बढी जागिरका अन्तर्वार्तामा मेरो स्थान सुरक्षित गर्‍यो।” उनीसँगै यस प्रक्रियाले एआई र मानव संसाधनको सक्षमतामा जोड दिएका छन्। उनले बताए कि प्रत्येक जागिरको आवश्यकताअनुसार उपयुक्त कागजात तयार पार्ने कार्य एआई बटको माध्यमबाट स्वचालित रूपमा गर्न सकिन्छ, जसले मानव संसाधनका क्षेत्रलाई पनि समय बचत गर्न सहयोग गर्दछ।

यद्यपि, उनले यस प्रक्रियाका केही नकरात्मक पक्षहरू पनि चर्चा गरे। मानिसहरू बीचको व्यक्तिगत सम्बन्ध, सहानुभूति र विश्वास जस्ता महत्त्वपूर्ण पक्षहरू यस प्रकारको स्वचालनले जोखिममा पार्न सक्छ। उनले भने, “कार्यस्थलमा दीर्घकालीन सम्बन्ध र सहकार्यका लागि यी पक्षहरू अत्यन्त महत्त्वपूर्ण छन्।”

उनले आफ्नो एआई च्याटबटको सोर्सकोड पनि साझा गरेका छन्, जसलाई अन्य प्रयोगकर्ताले पनि उपयोग गर्न सक्नेछन्। यस अनौठो र नयाँ विधिका बारेमा धेरैलाई चासो बढिरहेको छ, र यसले भविष्यमा जागिर खोज्ने प्रक्रिया कसरी परिवर्तन हुन सक्छ भन्ने कुरा देखाउने संकेत दिएको छ।