स्पाम ईमेल के हो ? यसबाट कसरि बच्ने ?
-
नेटिजन संवाददाता
- आइतबार, २८ पौष, २०८१- १७:५८:००/ Sunday 01-12-25

स्पाम ईमेललाई ‘जङ्क ईमेल’ पनि भनिन्छ। यो त्यस्ता अनावश्यक तथा अप्रत्याशित ईमेलहरू हुन्, जुन एकै पटक धेरै प्रयोगकर्तालाई पठाइन्छ। प्रायः स्पाम ईमेल बोटनेट नामक स्वचालित प्रणालीबाट पठाइन्छ। बोटनेट भनेको मालवेयरले संक्रमित कम्प्युटरहरूको समूह हो।
स्पाम ईमेलको सुरुवात सन् १९७८ मा भएको थियो , जब डिजिटल इक्विप्मेन्ट कर्पोरेसनका "गेरि थुअर्कले" नयाँ प्रोडक्टको प्रचारका लागि पहिलो पटक ठूलो संख्यामा ईमेल पठाएका थिए। सन् २००३ सम्ममा, विश्वभर पठाइने ईमेलमध्ये ८०–८५ प्रतिशत ईमेल स्पाम थिए।
स्पामको बढ्दो समस्यालाई रोक्न संयुक्त राज्य अमेरिकाले ‘क्यान-स्पाम ऐन’ लागू गरेको थियो। यो ऐनले वैधानिक मार्केटिङ ईमेल र स्पामबीचको भिन्नता स्पष्ट गरेको छ। स्पाम ईमेल बाहेक, टेक्स्ट मेसेज र सामाजिक सञ्जालमार्फत पनि स्पाम मेसेज पठाइन्छ। यस्ता ईमेलहरूले सामान्यतः निम्न प्रकारका सामग्री समावेश गर्छन्:
1. अनावश्यक विज्ञापन
2. वित्तीय प्रलोभन
3. शङ्कास्पद लिंकहरू
4. मालवेयर डाउनलोड गर्ने प्रयास
स्पामरहरूले विभिन्न तरिकाले स्पाम ईमेल पठाउँछन्। केही प्रमुख विधिहरू:
बोटनेट: संक्रमित कम्प्युटरहरूको समूहमार्फत ठूलो परिमाणमा ईमेल पठाउने।
स्नोशु स्पाम: धेरै आईपी ठेगानाबाट ईमेल पठाएर स्पाम फिल्टर छल्ने प्रयास।
ब्ल्याङ्क स्पाम: खाली ईमेल पठाएर भाइरस फैलाउने।
इमेज स्पाम: इमेज फाइलको माध्यमबाट स्पाम फिल्टरलाई छल्ने प्रयास।
स्पामबाट जोगिने उपाय
स्पाम ईमेलको जोखिम कम गर्नका लागि निम्न उपाय अपनाउन सकिन्छ:
शङ्कास्पद ईमेल रिपोर्ट र ब्लक गर्ने: अनावश्यक ईमेललाई तुरुन्त रिपोर्ट वा ब्लक गर्नुहोस्।
स्पाम फिल्टर प्रयोग गर्ने: लोकल ईमेल क्लाइन्टमा थर्ड पार्टी एन्टिस्पाम फिल्टर थप गर्न सकिन्छ।
फिल्टर कस्टमाइज गर्ने: बारम्बार देखा पर्ने विशेष शब्दहरूलाई फिल्टरमा समावेश गरी स्पाम ईमेल ब्लक गर्नुहोस्।
शङ्कास्पद लिङ्कमा क्लिक नगर्ने: अज्ञात स्रोतबाट आएको लिंक नखोल्नुहोस्।
स्पाम ईमेल डिजिटल युगको एउटा गम्भीर समस्या हो, जसले व्यक्तिगत र वित्तीय जानकारीको चोरी गर्न सक्छ। आधुनिक सुरक्षा उपायहरू अपनाएर यसको जोखिमलाई कम गर्न सकिन्छ। सावधानीपूर्वक स्पाम फिल्टर र सुरक्षात्मक उपायहरू प्रयोग गरेमा, इनबक्सलाई सुरक्षित राख्न सम्भव छ।