• मंगलबार, १ माघ, २०८१
  • ०३:५६:५८

फेसबुक प्रोफाइलको स्क्रिनशट कसैले नलिओस् भन्ने चाहनुहुन्छ? यस्ता छन् उपायहरू

काठमाडौं। अहिलेको डिजिटल युगमा फेसबुक, इन्स्टाग्राम, र ट्वीटरजस्ता सामाजिक सञ्जाल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ। धेरैका लागि बिहान उठ्नेबित्तिकै मोबाइलमा फेसबुक स्क्रोल गर्ने र राति सुत्नु अघि अन्तिम पोस्ट हेर्ने आदत सामान्य बनिसकेको छ।


सामाजिक सञ्जालमा समय बिताउँदै गर्दा फेसबुकले ल्याउने नयाँ फिचरहरूबारे चासो राख्नु स्वाभाविक हो। तीमध्ये एउटा विशेष फिचर हो प्रोफाइल गार्ड। यो फिचर सक्रिय गरेपछि तपाईंको प्रोफाइल पिक्चर र टाइमलाइनमा अरूले स्क्रिनशट लिन सक्दैनन्। साथै, तपाईंले अपलोड गरेको तस्वीर वा सामग्री अनधिकृत रूपमा डाउनलोड हुनबाट जोगिन्छ। यो फिचर गोपनीयता र सुरक्षा चाहने प्रयोगकर्ताका लागि निकै उपयोगी मानिन्छ।

यदि तपाईं नेपाल बाहिर हुनुहुन्छ र फेसबुकले यो फिचर उपलब्ध गराएको क्षेत्रभित्र पर्नुहुन्छ भने, यो फिचर सजिलै सक्रिय गर्न सकिन्छ। तपाईंको प्रोफाइल पिक्चरमुनि रहेको ‘क्यामेरा’ आइकनमा ट्याप गरेर ‘Keep Guard on Your Profile’ फिचर अन गर्न सक्नुहुन्छ। यसपछि तपाईंको प्रोफाइल थप सुरक्षित हुनेछ।

तर नेपालमा यो फिचर फेसबुकले प्रत्यक्ष रूपमा उपलब्ध गराएको छैन। नेपालबाट यो फिचर सक्रिय गर्न तेस्रो-पक्ष एपको सहारा लिनुपर्ने हुन्छ। यसका लागि Monokai Toolkit नामक एप प्रयोग गर्न सकिन्छ। यो एपले तपाईंलाई फेसबुक जस्तै इन्टरफेस प्रदान गर्छ, जहाँबाट प्रोफाइल गार्ड फिचर सक्रिय गर्न सकिन्छ।

यो एप डाउनलोड गरेर आफ्नो फेसबुक अकाउन्टमा लगइन गरेपछि ‘Tools’ भन्ने विकल्पमा जानुपर्छ। त्यहाँ ‘Personal’ भन्ने सेसनमा रहेको ‘Avatar Guard’ फिचर अन गर्न सकिन्छ। एकपटक यो फिचर सक्रिय भएपछि तपाईंको प्रोफाइलमा स्क्रिनशट लिन वा तस्वीर डाउनलोड गर्न रोक लगाइनेछ।

तर ध्यान दिनुपर्ने कुरा के हो भने Monokai Toolkit फेसबुकको आधिकारिक एप होइन। यो थर्ड पार्टी  एप भएकाले गोपनीयता र सुरक्षामा जोखिम हुन सक्छ। यस्तो एप प्रयोग गरेपछि तुरुन्तै एपबाट लगआउट गर्नु र आफ्नो फेसबुक पासवर्ड परिवर्तन गर्नु उचित हुन्छ।