• सोमबार, ७ माघ, २०८१
  • ०५:५५:०६

भाइरल भिडियोको वास्तविकता: सर्वसाधारणलाई लात्ताले कुट्ने प्रहरीको घटना के हो?

काठमाडौं । आइतबार रातिदेखि सामाजिक सञ्जालमा एक प्रहरी कर्मचारीले सर्वसाधारणलाई निर्घात कुटपिट गरिरहेको भिडियो भाइरल बनेको छ। भिडियोमा रातको समयमा ड्युटीमा खटिएका प्रहरी पोशाकधारीले एक युवकलाई लात्ताले लगातार कुटिरहेको देखिन्छ। भिडियोमा प्रहरी कर्मचारीले “कोलाई फोन गर्ने? पावर देखाउने?” भन्दै युवकलाई डराउन खोजेको र युवक “होइन, दाइ” भन्दै बच्न प्रयास गरिरहेको स्पष्ट देखिन्छ।


युवकले भाग्न खोज्दा पनि ती प्रहरी कर्मचारीले उनलाई समातेर सडकमा लडाएका र त्यसपछि लात्ताले प्रहार गर्न थालेका थिए। २४ सेकेन्ड लामो उक्त भिडियोमा लगभग १५ सेकेन्डसम्म युवकले कुटपिट सहिरहेको देख्न सकिन्छ। यो भिडिओ पहिलो पटक आइतबार राति १०:१६ बजे सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो। भिडियोको क्याप्सनमा प्रहरीको व्यवहारलाई आलोचना गर्दै “सरकारी गुन्डा” जस्तो व्यवहार नगर्न सुझाव दिइएको थियो।

भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यस घटनाबारे विभिन्न प्रतिक्रिया व्यक्त भइरहेका छन्। धेरैले प्रहरीको यस्तो व्यवहारलाई अमानवीय भन्दै कडा आलोचना गरेका छन्। कतिपयले सर्वसाधारणप्रति प्रहरीको आक्रामकता अस्वीकार्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्। केही व्यक्तिले भने ड्युटीका क्रममा मादक पदार्थ सेवन गरेका व्यक्ति नियन्त्रणमा लिन प्रहरीको प्रतिक्रिया स्वाभाविक भएको तर्क गरेका छन्।

प्रहरीको विज्ञप्ति र छानबिन प्रक्रिया
भिडियो भाइरल भएपछि नेपाल प्रहरीले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा चितवन जिल्लाको भरतपुर महानगरपालिका–११ स्थित बसेनी चोकमा गस्तीका क्रममा एक युवकलाई कुटपिट गरिरहेको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको उल्लेख छ। 
“पदीय मर्यादा र आचरण विपरीतका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीमाथि कारबाही गर्ने नेपाल प्रहरीको नीति अनुरूप घटनाको सत्यतथ्य पत्ता लगाउन विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ,” विज्ञप्तिमा भनिएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार  यो घटना पुस १५ गते भएको थियो। ती युवकलाई मादक पदार्थ सेवन गरेको अवस्थामा चार सवारी साधनसहित नियन्त्रणमा लिइएको बताइएको छ। “स्वाब परीक्षण गर्दा मदिरा सेवन पुष्टि भएको थियो। तर, ती युवकले कुटपिटको विषयमा त्यतिबेला उजुरी गरेका थिएनन्,” महतोले जानकारी दिए।

भिडियोमा देखिएका प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेललाई विभागीय छानबिनका लागि हाल निलम्बन गरिएको छ। प्रहरी अधिकारी महतोले घटनाबारे थप अनुसन्धान भइरहेको र दोषी कर्मचारीमाथि आवश्यक कारबाही हुने जानकारी दिए।

सामाजिक सञ्जालमा यो घटनाले ठूलो बहस सिर्जना गरेको छ। अधिकांश प्रयोगकर्ताले प्रहरीको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै यसलाई मानव अधिकारको उल्लङ्घन भनेका छन्। केहीले भने मदिरा सेवन गरी समस्या सिर्जना गर्नेहरूलाई नियन्त्रण गर्न प्रहरीले कडा कदम चाल्नुपर्ने तर्क गरेका छन्।

यो घटनाले प्रहरी र सर्वसाधारणबीचको सम्बन्धका लागि गम्भीर प्रश्न उठाएको छ। अब प्रहरीले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने मात्र होइन, यस्ता घटनाको पुनरावृत्ति रोक्न थप सुधारका कदम चाल्नु आवश्यक छ। आम नागरिकले न्याय सुनिश्चित हुने विश्वास गर्न पाउने वातावरण बनाउन प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण रहनेछ।