अमेरिकाले एआई क्षेत्रमा ५ खर्ब डलर लगानी गर्ने
- नेटिजन संवाददाता
- बुधबार, ९ माघ, २०८१- १८:५३:००/ Wednesday 01-22-25
वासिङ्टन डीसी। अमेरिकाले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा ऐतिहासिक कदम उठाउँदै ५ खर्ब डलरको ठूलो लगानी घोषणा गरेको छ। यो परियोजनालाई अमेरिका इतिहासकै सबैभन्दा ठूलो प्रविधि लगानी मानिएको छ।
'स्टारगेट' नामक यो परियोजना अन्तर्गत टेक्सासमा निर्माण भइरहेका १० वटा डेटा सेन्टरहरूमा ठूलो लगानी गरिनेछ। अमेरिकी प्रविधि कम्पनीहरू ओरेकल, सफ्टबैंक, र ओपन एआईको साझेदारीमा यो महत्त्वपूर्ण योजना अघि बढ्नेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यो महत्त्वपूर्ण परियोजनाको घोषणा गरेका हुन्। सम्मेलनमा ओरेकलका प्रमुख प्राविधिक अधिकृत ल्यारी एलिसन, सफ्टबैंकका सीईओ मासायोशी सन, र ओपन एआईका सीईओ साम अल्टम्यान सहभागी थिए।
यस परियोजनाले १ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। साथै, यसमा अन्य लगानीकर्ताहरूले पनि सहभागी हुने अवसर पाउनेछन्।
'स्टारगेट' परियोजना अमेरिकी प्रविधि क्षेत्रमा नयाँ अध्यायको सुरुवात हुने विश्वास गरिएको छ। यो कदमले विश्वभर अमेरिकाको प्रविधि प्रभुत्व थप बलियो बनाउने अपेक्षा गरिएको छ।