• शुक्रबार, १८ माघ, २०८१
  • ११:४७:०१

टेलिकमको डेटा सेन्टर निर्माणको ठेक्का ह्वावेलाई

काठमाडौं। नेपाल टेलिकमले काठमाडौं र भैरहवामा निर्माण गर्न लागिएको दुई डेटा सेन्टरको पूर्वाधार निर्माण, आपूर्ति, परीक्षण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ह्वावेलाई दिएको छ। हालै सार्वजनिक गरिएको सूचनाअनुसार न्यूनतम आर्थिक प्रस्तावको आधारमा यो परियोजनाको ठेक्का ह्वावेसँग सम्झौता गरिने भएको हो। टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार ह्वावेले ४८ करोड रुपैयाँ लागतमा दुबै स्थानमा समान डिजाइनका डेटा सेन्टर निर्माण गर्नेछ।

डेटा सेन्टर निर्माणका लागि टेलिकमले विभिन्न शीर्षकमा बजेट छुट्याएको छ। सामग्री खरीदका लागि भ्याटसहित १७ करोड ३ लाख ५९ हजार रुपैयाँ, नेपालभित्र सेवा प्रवाह गर्न २० करोड ११ लाख ९५ हजार रुपैयाँ, ढुवानी खर्चका लागि ६५ लाख ४८ हजार रुपैयाँ छुट्याइएको छ। विदेशी सामग्री खरीदका लागि ७ लाख ३१ हजार अमेरिकी डलर र नेपालबाहिरको सेवाका लागि ३५ हजार ५ सय अमेरिकी डलर खर्च गरिने टेलिकमले जनाएको छ।

ह्वावेले आगामी ९ महिनाभित्र पावर, सुरक्षा, कनेक्टिभिटी लगायतका सम्पूर्ण भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ। सम्झौताका लागि ह्वावेलाई एक हप्ताभित्र बोलाइने टेलिकमका प्रवक्ता ढकालले जानकारी दिएका छन्।

नेपालमा डिजिटल सेवा विस्तारका लागि विश्वसनीय र अत्याधुनिक डेटा सेन्टरको आवश्यकता रहेको अवस्थामा यो परियोजनालाई महत्वपूर्ण मानिएको छ। डेटा सेन्टर निर्माण पूरा भएसँगै नेपालमा डिजिटल पूर्वाधारलाई थप सुदृढ पार्न सहयोग पुग्ने विश्वास गरिएको छ।