कञ्चनजङ्घा आधार शिविरमा चौँरी/याक प्रदर्शनी गरिने
-
नेटिजन संवाददाता
- शुक्रबार, २३ फाल्गुण, २०८१- १६:३९:००/ Friday 03-07-25

काठमाडौं । उच्च हिमाली क्षेत्रमा पाइने याक चौँरी पालनलाई थप व्यावसायिक बनाउन तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यका साथ ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा चौँरी याक प्रदर्शनी तथा सिरिजंघा महोत्सव गरिने भएको छ ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक पालनलाई व्यावसायिक बनाउन चौँरी याक प्रवर्द्धन तथा प्रदर्शनी गर्न लागेको हो । समुन्द्र सतहदेखि ४५ सय मिटरको उचाइमा हुने प्रदर्शनीमा उत्कृष्ट चौँरी याक पालकलाई पुरस्कृत गरिने सिरिजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले जानकारी दिनुभयो ।
विश्वको तेस्रो अग्लो (८५८६) मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल र पदमार्ग,पर्वतारोहण तथा साहसिक यात्रा, सिरिजंघा मन्दिर, लिम्बु संग्रालय,राष्ट्रिय विभूति फाल्गुनन्द द्वार होमहोमादी गरेको स्थान, सिरीजंघाले स्नान गरिएको र जैविक विविधता, प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष चौहानले बताउनुभयो ।
गाउँपालिकाका अनुसार उत्कृष्ट हुने चौँरी याक कृषकलाई २८ हजार ५ सय ८६ रुपैयाँ प्रदान गरिने छ भने सान्त्वना पुरस्कार स्वरूप ८ हजार ५ सय ८६ रुपैयाँ उपलब्ध गराइने छ । चौँरी याकबाट दूधजन्य पदार्थ जस्तै घ्यु, छुर्पी उत्पादन गरेर बिक्री गरेर स्थानीय गुजारा चलाउँदै आएका छन् ।
किसानले चीनमा याक निर्यात गर्नका लागि समेत चौँरी याक पालन गर्ने गर्दछन् । एउटा याक एक लाख रुपैयाँ भन्दा बढी मूल्यमा चीनमा निर्यात हुने गरेको किसानहरूको भनाई छ ।
महोत्सव नयाँ वर्षको अवसरमा २०८२ वैशाख १३ देखि १५ गतेसम्म गरिने पालिकाले जनाएको छ ।
साहसिक हाफ म्याराथन हुने
सोही अवसरमा कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता पनि आयोजना गरिने छ । कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा समुद्र सतह देखि ४५०० मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख ८ हजार ५ सय ८६ रुपैयाँ, दोस्रो हुनेलाई एक लाख ८ हजार ५ सय ८६ रुपैयाँ तथा तेस्रो हुनेलाई ५८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
पालिका उपाध्यक्ष माबोका अनुसार प्रतियोगिता नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डे डाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ, दुण्डु डाँडा, ढाउँ चौक, भेडी चौक हुँदै मछेवा पुग्ने २४ किलोमिटर दूरीमा सञ्चालन गरिने छ । गाउँपालिकाले प्रतियोगितासँगै माउन्टेन साइक्लिङ कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ । रासस।