भाडाको जमिनमा खेति गरेर आर्थिक अवस्था बदल्दै पौरखी महिलाहरु
-
सन्तोष कुमार सुबेदी
- सोमबार, २६ फाल्गुण, २०८१- १६:३२:००/ Monday 03-10-25

बारा। बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नं. ८ की सुस्मा लामाले गाउँमा आत्मनिर्भर महिला कृषकको परिचय बनाउँदै छिन् । भूमिहीन भए पनि उनले करिब १७ कठ्ठा जमिन भाडामा लिएर व्यवसायिक रूपमा गहुँ, मसुरो, आलु, प्याज, टमाटरजस्ता मिश्रित खेतीको सुरुवात गरेकी छिन् ।
तर, दुई वर्षअघिसम्म उनको अवस्था यस्तो थिएन । खेतीबारी बारे सामान्य ज्ञान मात्र भएकी लामाले धान, गहुँ, र मकै उत्पादन गर्दा मुश्किलले ६ महिनासम्म खान पुग्ने अन्न मात्र उब्जाउँथिन् । बाँकी समय जीविकोपार्जनका लागि उनी मजदुरी गर्न बाध्य थिइन् । तर अहिले भने, तरकारी खेतीबाट भएको आम्दानीले उनको जीवनशैली नै फेरिएको छ ।
यो वर्ष उनले करिब एक लाख ५० हजार रुपैयाको आलु विक्री गर्ने लक्ष्य राखेकी छिन् । वडामा गठन भएको बौधिमाई महिला कृषक समुहकी सचिव लामाले ६ कठ्ठा जमीनमा रोपेको आलुमध्ये अहिलेसम्म पाँच हजारको बेचि सकिन । आलु बेचेर आएको पैसाबाट लामाले एक कठ्ठा जमीनमा प्याजको विऊ रोपि सकिन । २ वर्ष अघिसम्म तरकारी खेतिबारे अनभिज्ञ लामा अहिले भने तरकारी खेतिमा आफ्नो आर्थिक जीवन रहेको बताउँछिन् । उनी भन्छिन् “मेरो परिवारको जिउने आधार नै कृषि हो ।
पहिले अरुको जमीन भाडामा लिएर मकै, गहुँ र धान खेती मात्रै गर्थे । त्यसबाट ६ महिनालाई मात्रै खान पुग्थ्यो । २ वर्ष अघि हाम्रो वडामा समुदायको उत्थानशिलता सुदृढिकरण परियोजना सुरु भयो । परियोजनाले म आवद्ध कृषक समहुका २० जना महिला सदस्यहरुलाई तरकारी खेतिसम्बन्धी तालिम दियो । तालिमसंगै तरकारी रोप्न आवश्यक कृषि सामग्री पनि पायौं । यो सहयोगले मलाई तरकारी खेति गर्न मद्दत मिल्यो । ”
व्यवसायिक कृषितर्फ महिलाहरूको आकर्षण
इस्लामीक रिलिफ क्यानडाको आर्थिक तथा इस्लामीक रिलिफ नेपालको प्राविधिक सहयोगमा यो परियोजना जुलाई २०२२ देखि सुरु भएको थियो । जुन २०२५ मा सम्पन्न हुने उक्त परियोजना मार्फत लामाले जस्तै उनको कृषक समुहका सबै महिला सदस्यहरुले करेसाबारी, जलवायुमैत्री खेतीपाती, विपद जोखिम व्यवस्थापन, लैगिंक हिंसा विरुद्ध सचेतनाजस्ता विविध किसिमका तालिम पाएका छन् ।
तालिमसंगै उनीहरुलाई खेतिपाती गर्न कोदालो, दन्ते, खुर्पी, स्प्रे ट्यांक, हजारी, बेर्ना उमार्ने ट्रे, मल्चींग प्लाष्टिक, क्यारेट, तरकारीका विऊ, सिचाईका लागि विद्युतिय मोटरजस्ता कृषि सामग्री पाएका छन् । यसकिसिमको सहयोगले व्यवसायिक तरकारी खेति सुरु गर्न ऊर्जा थपेको लामा बताउँछिन् ।
तालिमपछि लामाले घरमै निर्माण गरेको जैविक झोलमल प्रयोग गर्न थालेकिछिन । झोलमल प्रयोगले उत्पादन वृद्धिसंगै स्वास्थ्यमा पनि फाइदा पु¥याएको छ । बजारको विषादीयुक्त तरकारीभन्दा घरमै उत्पादन गरेको जैविक तरकारी राम्रो हुन्छ । यसले आम्दानी मात्र होइन, परिवारको स्वास्थ्य पनि सुधारिएको छ, उनी बताउँछिन् ।
बौधिमाई महिला कृषक समुहकी अध्यक्ष रिकुदेवी यादवका अनुसार, परियोजना सुरु हुनुअघि समुहका महिला सदस्यहरू खेतीबारीबारे अनभिज्ञ थिए । अहिले भने, समुहका सबै महिलाहरू जमीन भाडामा लिएर मिश्रित खेती प्रणाली अपनाउँदै व्यवसायिक उत्पादन सुरु गरिसकेका छन् ।
“पहिले हामीले खेती गर्न कृषि उपकरण पनि पाउँदैनथ्यौं । अरुसंग माग्न जादा भनेको बेला पाइदैन थियो । पैसा तिरेर भाडामा ल्याउन पथ्र्याे । अब भने कोदालो, खुर्पी, स्प्रे ट्यांक, हजारी, बेर्ना उमार्ने ट्रे, मल्चिङ प्लास्टिक, सिँचाइका लागि मोटरजस्ता आवश्यक सामग्रीहरू पाएका छौं,” यादव भन्छिन् ।
यादवले धान, मकै लगाउदै आएको बारीमा केरा खेती सुरु गरेकी छिन् । यो वर्षको अन्त्यबाट केराखेतिले राम्रो आम्दानी दिने अपेक्षा उनले गरेकी छिन । उनी भन्छिन “तालिमका क्रममा थाहा पाइयो कि केरा खेतीबाट छिटो आम्दानी लिन सकिन्छ । मैले पनि केरा रोपेको आठ महिना भयो, राम्रो फल लागेको छ । आम्दानी पनि राम्रै हुन्छ भन्ने विश्वास गरेकी छु ।”
स्वास्थ्य र सरसफाइमा सुधार
परियोजना संचालन भएका दुवै पालिकाका गरिब, विपन्न परिवारलाई लक्षित गरेर ४४ वटा शौचालय निर्माण गरिएको छ । शौचालय निर्माणले खुल्ला स्थानमा शौच गर्न पर्ने बाध्यताबाट मुक्ति मिलेको छ । यसैगरी चापाकल र स्नान गृह निर्माण कार्यले पिउने पानीका साथै महिला तथा किशोरीहरूलाई व्यक्तिगत सरसफाइमा सहजता मिलेको महागढीमाई नगरपालिकाकी वडा नं. २ की स्थानीय पुनकली पासवान बताउँछिन । उनी भन्छिन “ पहिला हाम्रो गाउँमा शौचालय नै थिएन ।
खुल्ला स्थानमा दिसापिसाब गर्न बाध्य थियौ । सरसफाई थिएन । महिलाहरुले पनि खुल्ला स्थानमा नुहाउन पर्थ्यो । लाज लाग्थ्यो । डर पनि हुन्थ्यो । अहिले त शौचालय, चापाकल र स्नानघर निर्माण भएका छन् । सबैले शौचालयमै दिसापिसाब गर्छन । महिलाहरुले पनि ढुक्कले स्नानगृहमा नुहाउँछन् । पहिला फोहोरको कारण धेरै विरामी हुन्थे । अहिले सरसफाईका कारण विरामी हुदैनन । गाउँमा सरसफाईमा धेरै परिवर्तन भएको छ । ”
बढ्दै छ सशक्तिकरण
गरिब, विपन्न, दलित मुस्लिम तथा महिला कृषकहरुलाई लक्षित गरी खाद्य सुरक्षा, बाली विविधिकरण, खानेपानी तथा सरसफाई र विपद् जोखिम न्यूनीकरण तथा संरक्षणजस्ता क्रियाकलापहरु संचालनले महिला सशक्तिकरण बढाउन सहयोगी बनेको लाभान्वितहरु बताउँछन् । “पहिला हाम्रा गाउँका महिला दिदीबहिनीहरू घरको कामकाजमा मात्र सीमित थिए ।
पुरुषको अगाडि बोल्नसमेत सक्दैनथ्यौं,” सुवर्ण गाउँपालिका वडा नं. ५ मा गठन भएको लक्ष्मी माता महिला कृषक समुहकी सचिव रिमादेवी राम भन्छिन् । तर अहिले, समुहमा आबद्ध भएपछि महिलाहरू आफ्नो हकअधिकारबारे छलफल गर्ने, बचत गर्ने, र सानातिना व्यवसाय सञ्चालन गर्ने जस्ता गतिविधिहरू बाक्लिदै गएको उनी बताउछिन् ।
स्थानीय सरकारको भूमिका
दुई पालिकाका विभिन्न वडाहरुमा व्यवसायिक तरकारी खेतिले विपन्न महिलाहरूको जीवनशैलीमा उल्लेखनीय सुधार ल्याएको छ । तर यसलाई निरन्तरता दिदै पालिकाभर फैलाउन भने आवश्यक रहेको स्थानीय महिलाहरु बताउँछन् ।
स्थानीय जनजागरण यूवा क्लवबाट कार्यान्वयन भैरहेको यो परियोजनाले छोटो समयमा धेरै सकारात्मक नतिजा आएकोेले यसलाई निरन्तरता दिनु पर्ने सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवको जोड छ । उनी भन्छन “ यो परियोजनाबाट संचालित विभिन्न गतिविधिहरुले गरिब, विपन्न, महिलाहरु प्रत्यक्ष रुपमा लाभाविन्त भएका छन् । यसबाट पालिकालाई पनि धेरै कुराको सिकाई भएको छ । यसलाई निरन्तरता दिन मैले गर्न सक्ने सहयोग म गर्छु ।”