• बुधबार, २८ फाल्गुण, २०८१
  • ०७:४०:४५

बागमती प्रदेश ललितकला प्रदर्शनीमा २ सय ३९ कलाकृति

काठमाडौँ । देशभर प्रदेशस्तरीय ललितकला प्रदर्शनी गरि ललितकलासंग आम मानिसहरुलाई जोड्ने प्रयासमा लागिरहेको  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले  आयोजना गरेको बागमती प्रदेश स्तरीय ललितकला प्रदर्शनी काठमाडौंमा सोमबारदेखि शुरु भएको छ । 

‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१’ नाम दिइएको उक्त प्रदर्शनी  नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्रदर्शनी हलमा  आयोजना गरिएको छ ।

उक्त प्रदर्शनीको प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले उद्घाटन गर्नुभयो । उहाँले प्रतिष्ठानले प्रदेशगत रूपमा आयोजना गरेको प्रदर्शनीको प्रशंसा गर्दै किसानले माटाको पहिचान गरेर अन्न उत्पादन गरे झैँ कलाकारले पनि आफ्नो माटोलाई चिनेर कला र कलाकारिता गर्नुपर्ने बताउनुभयो ।

प्रतिष्ठानले ६ वटा प्रदेशमा प्रादेशिक कला प्रदर्शनी सम्पन्न गरिसकेको छ । प्रदेशस्तरका प्रदर्शनी सम्पन्न भएपश्चत छनौटमा परेका ललितकलालाई राष्ट्रियस्तरको प्रदर्शनी आयोजना गरी प्रदर्शनीमा राखिनेछ ।
बाग्मती प्रादेशिक ललितकला प्रदर्शनीको उद्घाटन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’को मूल भावमा रही आयोजना गरिएको प्रदर्शनीले प्रदेशको ललितकलाका उत्थानमा थप सहयोग गर्ने विश्वास गर्नुभयो । उहाँले कला र कलाकारको धनी बाग्मती प्रदेशमा ललितकलाको खोज तथा अनुसन्धानका थप काम गर्नुपर्ने धारणा राख्नुभयो । 

प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले कलाका क्षेत्रमा प्रादेशिक प्रदर्शनीले ललितकला क्षेत्रको पुनर्जागरण गराएको र अझै जरैसम्म पुगेर रैथाने कला र सीपलाई थप उजागर गराउनुपर्नेमा जोड दिनुभयो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानको रणनीतिक योजनामुताबिक प्रादेशिक ललितकला प्रदर्शनी गरिएको र यसले हाम्रा मौलिक कला, शैली, शिल्प, ज्ञानलाई उत्थान तथा प्रवद्र्धन गर्न सहयोग गर्ने बताउनुभयो । रैथाने सीप र कलाको पुस्तान्तरण हुनुपर्ने बताउँदै उहाँले कला र कलाकारको रचनात्मक सिर्जनशील विकासमा जोड दिनुभयो ।  

प्रदर्शनीमा बाग्मती प्रदेशका २०७ कलाकारका २३९ कलाकृति राखिएका छन् ।  चैत १ गतेसम्म चल्ने प्रदर्शनीको क्युरेटिङ प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुन्दर सिंख्वालको संयोजनमा रजनी सिंख्वाल र सविना तामाङले गर्नुभएको हो ।  

समारोहमा नेपाली ललितकला क्षेत्रमा योगदान दिएका कलाकारहरू जुलुमलाल चित्रकार, भोला पौड्याल, शारदामान श्रेष्ठ, सुष्मा राजभण्डारी, सुनिता राणा, धर्मबहादुर तामाङ, सरिता डङ्गोललगायतलाई सम्मान गरिएको थियो। त्यस्तै कार्यक्रममा प्रतिष्ठानबाट प्रकाशित विज्ञसमीक्षित अनुसन्धानमूलक सोधपत्रिका ‘ललितकला प्रज्ञा’को समेत विमोचन गरिएको थियो । 

उद्घाटनकै दिनदेखि प्रदर्शनी हेर्नहरुको भिड लागेको छ । निःशुल्क प्रवेश रहेको यो प्रदर्शनीमा कलाकृतिसंग सम्बन्धित् पुस्तकहरुको विशेष छुटसहित विक्रिवितरण समेत गरिएको छ ।