• बिहीबार, १३ बैशाख, २०८१
  • १०:१०:१२

अंग्रेजलाई जीतको ताज, गोर्खाली माथि विभेद र बदनामी 

  • Netizen Nepal
  • सोमबार, १९ पौष, २०७८- १७:४५:००/ Monday 01-03-22

ब्रिटिस भर्तिसेवामा ब्रिटेनले नेपाली युवाहरुलाई आवश्यकता पर्दा अन्धाधुन्ध भर्ति गर्ने र काम सकिएपछि खाली हात पठाउने गरेको थियो । यो हर्कत पहिलो र दोस्रो विश्वयुद्धमा मात्र होइन मलाया, ब्रोनियो, हंगकंगको वापसीपश्चात पनि एकनासले रह्यो ।

 

नेटिजन संवाददाता

काठमाडौँ, १३ भदौ । नेपाली सेना विश्वकै बहादुर र सहासी छन् भन्दा जो कोहि नेपालीले गर्वले छाती फुलाउँछन् । नेपालको गुणगान गाउनुपर्यो भने पनि गोर्खा शैनिकको नाम अगाडी सारिहाल्छन् । गोर्खालीको बहादुरी नेपाललाई चिनाउने विश्व ब्राण्ड पनि हो । तर आफ्नो देश छाडेर अर्काको देशमा, अर्काकै राष्ट्रियता जोगाउनका लागि र अर्कैको स्वार्थ पूर्तिका लागि फ्रण्ट फाइटर बनेका व्यक्तिहरुको कथा र व्यथा भने फरक छन् । अझ लाहुरे भन्ने शब्दले नेपाली समाजमा शान नै बेग्लै हुन्छ । तर लाहुरे शब्दमा लुकेको वेदना, सास्ती, दुव्र्यवहार लगायतका कुराहरु धेरैलाई थाहा नहुन पनि सक्छ । 

युद्धमा बराबरी जिउ ज्यान दिएर लड्दा अंग्रेज सेनालाई धेरै तलब र नेपालीहरुलाई त्यसको दुई गुणा कम गरिएका कुरा, गोर्खाली दुष्ट र अर्काको ज्यान लिने मानिसहरु हुन् भनेर विरोधिबाट प्रचार गरिनु, अंग्रेजले आफ्नो स्वार्थका लागि प्रयोग गर्ने र काम सकिएपछि नाङ्गो खुट्टा स्वदेशमा धपाउनु, ब्रिटीस सेनामा कति नेपालीहरु गएका छन् भन्ने तथ्याङ्क आफ्नै देशसंग पनि नहुनु र अंग्रेज सरकारले पनि यस बारेमा चासो नराख्ने जस्ता समस्याहरु बिर गोर्खाको नामबाट छाति फुलाउदै गर्दा मन खिन्न बनाउने यथार्थहरु पनि छन् । 

१. पहिलो र दोस्रो विश्व युद्धमा नेपालीहरुको क्षति

पहिलो पटक सन् १८७० मा ४ हजार ६ सय ८५ जवान नेपाली ब्रिटिस भारत शैनिक सेवामा कार्यरत देखिन्छन् । सन् १८९५ मा यो संख्या ७ हजार पुग्यो । पहिलो विश्व युद्धमा कुल २ लाख नेपाली अंग्रेजको शैनिक मोर्चाबाट साम्राज्यवादी युद्धमा सामेल भएकोमा आधिकारिक ब्रिटिस स्रोतले तीमध्ये २० हजार नेपाली मरेको वा घाइते भएको विवरण उल्लेख गरेको छ । उक्त स्रोतले दोस्रो विश्व युद्धमा २ लाख ५० हजार नेपाली युद्धमा होमिएको उल्लेख गरेको छ । त्यसमध्ये ७ हजार ५ सय ४४ जानाको मृत्यु भयो भने १ हजार ४ सय ४१ बेपत्ता भए । २५ हजार ६ सय ५५ जनाचाहिं घाइते भए ।  

२. कटौती र नेपाली युवामाथि खेलवाड

ब्रिटिस भर्तिसेवामा ब्रिटेनले नेपाली युवाहरुलाई आवश्यकतापर्दा अन्धाधुन्ध भर्ति गर्ने र काम सकिएपछि खाली हात पठाउने गरेको थियो । यो हर्कत पहिलो र दोस्रो विश्वयुद्धमा मात्र होइन मलाया, ब्रोनियो, हंगकंगको वापसीपश्चात पनि एकनासले रह्यो । सन् १९४७ को त्रिपक्षीय  सन्धिअनुसार दोसो विश्व युद्धमा लड्ने २ लाख ५० हजार भर्तिवालमध्ये १० हजार ४ सय  नेपालीलाई मात्र ब्रिटिस सेनामा लिइएको थियो । बाँकी २ लाख ३० हजारको भविष्य कस्तो भयो होला ? यसको जवाफ उनिहरुले दिएनन् । ब्रिटिसहरुले नेपालीलाई ‘चाहिदाको भाँडो, नचाहिएपछि घाँडो’ भन्ने उखानजस्तै व्यवहार गरेका छन्  । यो कार्य पटक पटक भैरह्यो ।  

सन् १९६५ पछि जब दक्षिणपुर्व एसियामा आन्तरिक विद्रोह, युद्ध र कम्युनिष्ट विद्रोह साम्य हुन थाल्यो, ब्रिटेनले नेपाली भर्तिवाल विरुद्ध निकै तल्लो स्तरको व्यवहार गर्यो । त्यतिबेला झन्डै १० हजार नेपालीहरुलाई खाली खुट्टा नै स्वदेश फर्काइएको थियो । त्यतिबेला नेपालीहरुले मलेसिया र इन्डोनेसियाको युद्ध र त्यहाँ उत्पन्न कम्युनिष्ट विद्रोह दमनका लागि १० वर्ष कडा मेहेनत गरेका थिए ।  

अंग्रेजले उनीहरुलाई बिना निबृति भरण १५०– २०० पाउन्ड हातमा थमाएर धपाएका थिए । त्यस्तै सन् १९९१ मा ब्रिटेनको सुरक्षा मन्त्रालयद्वारा जारी एउटा विज्ञप्तिमा ८ हजारमध्ये ५ हजार ५ सय नेपालीहरुको सेना निवृत्ति स्पष्ट पारियो । जबकी त्यतिबेला २ लाख ५० हजार नेपालीयुवाहरु ब्रिटिस सेनामा भर्ति थिए ।  

नेपाल अंग्रेज युद्धका बेलाबाटै गोर्खा पल्टनको गठन भएको थियो । उनीहरुले आफ्नो सेवामा नेपालीहरुलाई बलपुर्वक प्रवेश गराएको पाईन्छ । सेवा सुविधाको प्रश्नमा मात्र होइन, युद्धको मोर्चामा पनि उनीहरुले नेपालीलाई बलीको बोका बनाएका थिए ।  

 

३. दुव्र्यवहार र अपमान

अंग्रेजहरुले नेपालको बदनामीका लागि कुनै कसर छाडेका छैनन् । पृथ्वी नारायण शाहको समयमा यिनीहरुले नेपालको एकीकरणलाई भंग गर्ने प्रयास गरे । फलस्वरुप इसं १८१४ देखि १६ सम्म घातक युद्ध भयो । युद्धमा नेपाल विरुद्ध लडेर भन्दा नेपालसँग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे । उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जसमा पश्चिम क्षेत्रमा हालको भारतको उत्तराखण्ड , हिमाचल प्रदेश तथा पञ्जाबका केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएर टिष्टा नदी सम्मको तराई तथा पहाडी भूभाग इस्ट इन्डिया कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनु पर्यो र सिक्किम माथीको अधिकार पनि त्याग्नु पर्यो । तर ब्रिटिशले प्रथम राणा प्रधानमन्त्री जंगबहादुरको क्रियाकलापबाट खुशी भएर मेचीदेखि राप्ती र राप्तीदेखि माहाकाली बिचको तराई भूभाग सन् १८६० मा फर्काइदिएको थियो ।


सुगौली सन्धिअनुसार काठमाडौँमा स्थापित ब्रिटिस रेसिडेन्ट नेपाली नेपालीलाई नै लडाउने र भिडाउने काममा सक्रिय भए । ब्रिटिशकै सहायताले जहानिया राणा शाशनलाई थप मलजल भएकोसमेत इतिहासमा उल्लेख छ । त्यस्तै नेपाल अंग्रेज युद्धका बेलाबाटै गोर्खा पल्टनको गठन भएको थियो । उनीहरुले आफ्नो सेवामा नेपालीहरुलाई बलपुर्वक प्रवेश गराएको पाईन्छ । सेवा सुविधाको प्रश्नमा मात्र होइन, युद्धको मोर्चामा पनि उनीहरुले नेपालीलाई बलीको बोका बनाएका थिए ।  


नेपालजस्तो असंलग्न भूपरिवेष्ठित राष्ट्रलाई आफ्नो सेनाको अंग बनाइ नेपाललाई पश्चिमी शैनिक गठबन्धन नाटोको मतियार बनाए । फकल्याण्डमा नेपाली सेनाका बारेमा यति धेरै अपवाह फैलाइयो कि त्यहाँका जनताहरुले गोर्खा जातिलाई ’रक्त पिपासु ज्यानमारा’ जातिका रुपमा बुझ्दाछन् । विश्वमा ब्रिटेनले गोर्खा शैनिकमार्फत नेपाली जातीलाई युद्ध पिपासु, खुंखार, दुष्ट जातीका रुपमा बदनाम पार्न सकेसम्म गर्यो । 

ब्रिटिसले सिंगाापुर र ब्रुनाइको सुरक्षादल खडा गर्दा नेपाल सरकारसंग कुनै परामर्शसमेत गरिएको थिएन । ब्रिटेनको सेनाका रुपमा नेपालबाट भर्तिमा लिइएका नेपालीहरुलाई आफुखुशी अन्यत्र पठाउनु पनि गैरकानुनी थियो । यो मात्र होइन, सोझा साझा नेपाली सेनाको व्यापार गरेर बीचमा कमिसन खाएको कुरा झन् विकराल छ ।

 

४. शैनिक सेवा कि व्यापार ?

ब्रिटिसले यहाँबाट जुन सेवा सर्त र तलब दिने सर्तमा लागेको थियो त्यसमा ठगि गर्यो र नेपालीको श्रम माथि व्यापार गर्यो । मलायामा वा अन्त्यत्र सैनिक सेवामा पठाइएको नेपाली सेनाबाट प्रतिजवान ४०८ मलायन डलर मुनाफा आर्जन गरेको मात्रहोइन ब्रिटिसले सिंगाापुर र ब्रुनाइको सुरक्षादल खडा गर्दा नेपाल सरकारसंग कुनै परामर्शसमेत गरिएको थिएन । ब्रिटेनको सेनाका रुपमा नेपालबाट भर्तिमा लिइएका नेपालीहरुलाई आफुखुशी अन्यत्र पठाउनु पनि गैरकानुनी थियो । यो मात्र होइन, सोझा साझा नेपाली सेनाको व्यापार गरेर बीचमा कमिसन खाएको कुरा झन् विकराल छ । सिंगापुर सेनामा कार्यरत नेपालीलाई १०६ सिंगापुर डलर दिएर अंग्रेज सेनालाई चाहिं ६०० मलायन डलर तलब दिइन्थ्यो ।  बीचमा बचेको ५०० डलर ब्रिटिसले खान्थे । उता ब्रुनाइको गोर्खा पल्टनमार्फत ब्रिटेनले ब्रुनाइको सुल्तानसंग माषिक ३ करोड पाउन्ड प्राप्त गथ्र्यो । जसमध्ये नेपाली सेनाका लागि जम्मा ६० लाख पाउण्ड मात्र खर्च गथ्र्यो । बाँकी २ करोड ४० लाखचाहिं ब्रिटिसले नै झ्वाम पार्थे । यहि क्रमले अंग्रेजले २०० वर्षदेखि नेपाली शैनिकमाथि अमानविय व्यवहारलाई निरन्तरता दिंदै आफ्नो स्वार्थ पुरा गरेको पाइन्छ । 

२०० वर्षको इतिहासलाई हेर्दा अंग्रेजले सन्धिको उपेक्षा गर्दै नेपाली सेनालाई ’भाडाको सिपाही’कै रुपमा व्यवहार गरेको पाइएको छ । 

 

५. भाडाका सिपाही र अनिश्चित भविष्य

इसं १४४७ को त्रिपक्षीय सन्धिमा राणा प्रधानमन्त्री पद्मशमशेरले एउटै बुँदामा विशेष जोड दिएका थिए, त्यो हो ‘नेपाली सेनालाई भाडाका सिपाहीका रुपामा होइन ब्रिटिस सेनाको अभिन्न अंगका रुपमा राखियोस् ।’ जसअनुसार त्रिपक्षीय सन्धिको अनुसूची ३ प्रकरण १ मा किटानीपुर्वक, ’पदोन्नति सेवा, कल्याण तथा अन्य सुविधाहरुमा स्वदेशी सेनासरह व्यवहार गरिने’ भनेर उल्लेख गरिएको छ । तर २०० वर्षको इतिहासलाई हेर्दा अंग्रेजले यो सन्धिको उपेक्षा गर्दै नेपाली सेनालाई ’भाडाको सिपाही’कै रुपमा व्यवहार गरेको पाइएको छ । 
अंग्रेजहरुले नेपाली युवाहरुलाई आफ्नो स्वार्थ पूर्तिका लागि प्रयोग गर्ने र काम सकिएपछि खान, लाउन पनि नदिइ खालि खुट्टा आफ्नो देश फर्काइदिने प्रवृत्तिले पनि स्पष्टसंग बुझ्न सकिन्छ, उनीहरु नेपाली सेनाबाट के चाहान्छन् भन्ने कुरा । केहि वर्ष अघिसम्म पनि नेपाली र अंग्रेज शैनिक बिचको तलबमा धेरै असमानता थियो । अहिले माषिक तलब बराबरी गरिएको छ । तर पेन्सनको सवालमा भने नेपालीलाई न्यून रकम दिएर असमानतालाई कायमै राखेको छ । 

विज्ञान र प्रविधिको बढ्दो विकाससंगै युद्धका लागि पनि प्रविधि अनुसारकै मिसाइल, गोलाबारुद र बमहरु निर्माण भइसकेका छन् । त्यसैले पनि अंग्रेजहरुलाई स्थल सेनाको आवश्यकता कम पर्न थालेको बताइन्छ । त्यस्तै, भर्ति परम्परा विकास गरि नेपाली युवाहरुलाई बर्बाद पार्नु, कलंकित पार्नु, दुरुपयोग र व्यापार गरि मुनाफा आर्जन गर्नु र अन्ततः अनिश्चित भविष्यको खाडलमा पार्नुबाहेक यो सेवाको कुनै सकारात्मक प्रभाव रहेन  । दुर्भाग्यवश त्यस्तो कलंकित सेवा दिन अब ब्रिटेन तयार छैन । र त्यस सेवामा आश्रित कयौं नेपाली युवाहरुको भविष्य अन्धकारमा परेको छ । यसले नेपाली समाजमा एउटा उल्लेखनिय उथलपुथल ल्याउने सम्भावना देखिन्छ ।  

लाखौँको संख्यामा लड्न गएका नेपाली युवाहरु मरे या बाँचे भन्ने कुराको नामोनिशानसम्म पनि देशको अभिलेखमा नहुनु निकै लज्जास्पद कुरा हो ।

 

६. जवाफदेही को ?

आफ्ना नागरिकलाई भेडा बाख्रासरह जथाभावी प्रायोग गर्दा त्यसको खोजखबरसम्म नगरी अलपत्र छोडीराख्नु र सोको अभिलेखसम्म नराख्नु नेपाल सरकारको पनि गम्भीर कमजोरी हो । किनकी कुनै पनि देशका नागरिकको रोजगारी र जिउधनको संरक्षक सम्बन्धित देशकै सरकार हुनेगर्छ । तर नेपालले त्यसको अभिभावकत्वको दायित्वलाई ग्रहण गर्न सकेन ।  लाखौँको संख्यामा लड्न गएका नेपाली युवाहरु मरे या बाँचे भन्ने कुराको नामोनिशानसम्म पनि देशको अभिलेखमा नहुनु निकै लज्जास्पद कुरा हो । अंग्रेजहरु यसबारे केहि खुलाउँदैनन् ।  किनकी तथ्याङ्क निकाल्नेबित्तिकै त्यसको क्षतिपूर्ति बुझाउनुपर्ने हुन्छ ।  

यता सरकारलाई पनि त्यसबारे प्रश्नगर्ने बित्तिकै उताबाट आउने सहयोगको ढोका बन्द हुने हो कि भन्ने डर छ  । त्यसैले अंग्रेज र नेपाल सरकारको नाफाखोरी र फाइदाको फन्दामा सोझासाझा नागरिक परेका छन् । यस विषयमा सरकार गम्भीर कहिले हुन्छ ? (’ब्रिटिस गोरखा, सन्धिदेखि सर्वोच्चसम्म’नामक पुस्तकमाइतिहासविद डा सुरेन्द्र केसीले लेख्नुभएको लेखबाट साभार)  ।