कर्णालीको धुलाम्मे सडकले सास्ती
-
नेटिजन संवाददाता
- बुधबार, २८ फाल्गुण, २०८१- १३:४६:००/ Wednesday 03-12-25

काठमाडौं । कर्णाली कोरिडोरको हुम्ला खण्डका चार स्थानमा धुलाम्मे सडकको कारण यातायातका साधनहरूलाई सञ्चालनमा सास्ती खेप्नु परि रहेको छ । सडक धुलाम्मे भएको कारण ती सडकमा सञ्चालनमा रहेका साना ठुला यातायातका सधानहरूलाई गुड्न कठिन हुँदा यात्रा निक्कै कष्टपूर्ण हुने गरेको हो ।
सुर्खेतबाट सिमकोटका लागि सञ्चालनमा आएको मिनी बसका चालक कवीन्द्र खत्रीले कर्णाली कोरिडोरको कालिकोट र बाजुरा खण्डको धुलाम्मे सडकमा केही सास्ती खेप्नु परि रहेको भए पनि हुम्ला क्षेत्रको चार स्थानको सडकमा भने बढी यातायातका साधन गुडाउने बढी समस्या हुने गरेको बताउनुभयो । उहाँले हुम्ला जिल्लाको कवाडीदेखि सिमिकोटसम्मको ९० किलो मिटर सडकमा सर्के गार्ड गाउँपालिका–१ खच्चामा पाँच सय मिटर सडकमा सबै भन्दा बढी यातायातका साधनहरूले सास्ती खेपेर यात्रा गर्नु परि रहेको बताउनुभयो ।
त्यसैसरि सर्के गार्ड गाउँपालिका– ६ को गिउसी र खारामा पनि ३३० सय मिटर सडकमा पनि बाक्लो धुलोको कारण यात्रा कठि हुने गरेको छ भने खपुनाथ गाउँपालिका– १ को बोक्चे गौडामा पनि अवस्था त्यस्तै दयनीय रहेको उहाँले बताउनुभयो । उहाँले सिमिकोटबाट फिर्ता जाँदा र सुर्खेतबाट हुम्ला प्रवेशसँगै ती धुलाम्मे सडकमा पुग्ने समयमा आङ्ग नै झसङ्ग हुने बताउँदै उहाँले धुलो हटाउने कार्यका लागि सरोकारवाला पक्ष मौन बसेको आरोप उहाँले लगाउनुभयो ।
ताँजाकोटबाट खार्पुका लागि बोलेरो जिप चलाउँदै आएका चालक तपेन्द्र मगरले ती तीनै स्थानमा पुग्ने बेला यात्रुहरूलाई झारेर गाडीलाई धकेल्न लगाउनु पर्ने बाध्यता रहेको बताउनुभयो । धुलाको गाडी धकेल्दा यात्रुहरू पनि धुलाम्मे देखिने भए पनि त्यो सहयोग माग्नै पर्ने बाध्यता आफूहरूलाई रहेको उहाँले बताउनुभयो ।
हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेल बहादुर नेपालीले कर्णाली कोरिडोरको ती स्थानमा सडक धुलाम्मे भएर यातायातका साधन सञ्चालनमा समस्या भई रहेको बताउँदै धुलो पन्छाउने कार्य कामको जिम्मा पाएको निर्माण कम्पनीको नभएको कारण पनि समस्या भएको बताउनुभयो । ती सडकको अनुगमन गर्न केही समय अगाडी आफू पनि पुगेको र धुलाम्मे सडकमा गाडीबाट झरेर धकेल्ने कार्यमा सहयोग गरेको उहाँले बताउनुभयो ।
ती खण्डका सडकको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीहरूले सडकको ट्र्याक खुलाउने कार्य सम्पन्न गरेर अन्तिम भुक्तानी लिन बाँकी रहेको कारण आयोजनाले नयाँ काम गर्न नसक्ने अवस्था भएको कारण पनि धुलाम्मे सडकको व्यवस्था गर्न कठिन भई रहेको उहाँले बताउनुभयो । ती सडकमा धुलो माटो निकालेर फाल्ने तर ढुङ्गा बिछ्याउने कार्य नै तत्कालका लागि उपयुक्त उपाय हुन सक्ने भए पनि आफूले हाललाई केही गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।गोरखापत्रबाट।