अमेरिकामा नेपाली पाठशाला
-
नेटिजन संवाददाता
- आइतबार, १० चैत, २०८१- ११:५९:००/ Sunday 03-23-25

काठमाडौं ।अमेरिकाको डेलावर राज्यमा बस्दै आएका नेपाली बालबालिकाले नेपाली भाषा सिक्न थालेका छन् । नेपाली भाषा , संस्कृति र रहनसहनका बारेमा सिकाउन डेलावर नेपाली भ्याली पाठशाला स्थापना गरिएको छ । यो पाठशाला स्थापना भएको छ वर्ष पूरा भएको छ । विद्यार्थी सङ्ख्या थपिँदै गएकाले पाठशालाको आकर्षण बढ्दै गएको थाहा हुन्छ ।
धेरै बालबालिका भर्ना भई नेपाली भाषा पढ्न र बोल्न इच्छुक छन् । यस पाठशालामा डेलावरबाहेक न्युजर्सी र पेन्सिलभेनिया राज्यका नेपाली विद्यार्थी पनि भर्ना भएका छन् । करिब ८० जना बालबालिकाले हरेक आइतबार बिहान १० देखि १२ बजेसम्म पढ्दै आएका छन् । सबै जना पाठशालामा उपस्थित हुन नसक्ने भएकाले अनलाइन नेपाली कक्षामा सहभागी हुन्छन् । बालबालिकाले निःशुल्कमा नेपाली भाषा सिक्दै आएका छन् ।
पाठशालामा आठ जना नेपाली शिक्षक हुनुहुन्छ । उहाँहरूले तलब नलिएर पढाउने गर्नुभएको छ । शिशु, कक्षा, आधारभूत कक्षा एक, उच्च तह कक्षा १, कक्षा २, कक्षा ३, कक्षा ४ र प्रोग्रामिङ गरी सात वटा कक्षामा विभाजन गरिएको छ। विद्यार्थीको पढाइको अवस्था हेरेर ती कक्षा निर्धारण गरिएका हुन् । यो पाठशालामा भर्ना हुन पाँच वर्ष पुगेको नेपाली बालबालिका हुनुपर्छ।
हाल यहाँ पाँचदेखि १५ वर्ष उमेरका बालबालिका नेपाली भाषा पढ्दै आएका छन् । यी कक्षाका लागि अमेरिका नेपाल सहयोगी समाज, अमेरिकाले पाठ्यक्रम तयार गरेको छ । सोही अनुसार पुस्तक पनि तयार गरिएको छ ।
पाठशालाका संस्थापकमध्येका एक शैलेन्द्र देवकोटाले नेपाली जहाँ बसे पनि नेपाली भाषा र संस्कृति लोप नहोस् र नेपालीपन नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्न सकियोस् भनेर पाठशाला सञ्चालन गरिएको बताउनुभयो । पाठशालामा नेपाली भाषा पठनपाठन गर्नुका साथै नेपाली चाडपर्वमा बालबालिकालाई सहभागी गराउने गरिएको छ ।
बालवालिकाले मजाले विभिन्न चाडपर्व मनाउँदै आएका छन् । अन्य जाति सम्प्रदायका चाडपर्व पनि मनाउन पाउँदा उनीहरू निकै रमाउने गरेका छन् । अमेरिकाका विभिन्न राज्यमा पनि नेपाली भाषा प्रवर्धनका लागि नेपालीहरूले नेपाली कक्षा सञ्चालन गर्दै आएका छन् । फ्लोरिडा, मेरिल्यान्ड, भर्जिनिया, टेक्सासलगायतका राज्यमा साप्ताहिक बिदाका दिनमा कक्षा सञ्चालन गरिंदै आएको छ ।
पेन्सिलमेनिया, मेरिल्यान्ड, टेक्सासलगायत राज्यका केही स्थानका विद्यालयमा नेपालीको महान् चाड दसैंमा सार्वजनिक बिदा दिने गरिएको पनि छ। यहाँका विद्यालयमा विदेशीको चाडपर्वमा बिदा दिनु भनेको महत्त्वपूर्ण कुरा हो । यहाँका सरकारी कार्यालय जस्तै शिक्षा कार्यालय, यातायात कार्यालय अदालतसमेतमा नेपाली भाषामा पर्चा, फाराम प्रकाशित गरिएको छ । ती कार्यालयका वेबसाइटमा समेत नेपाली भाषामा पढ्न सकिने व्यवस्था गरिएको छ ।मुनाबाट ।