• आइतबार, ७ बैशाख, २०८२
  • ०९:२६:४२

आजको मौसम कस्तो रहनेछ ?

काठमाडौँ । हाल देशभर स्थानीय र पश्चिमी वायुप्रणालीको प्रभाव सक्रिय रहेको छ। साथसाथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि सामान्य प्रभाव देशको मौसममा देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावस्वरूप देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराई र अन्य भूभागहरूमा मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भूभागमा पनि थोरै स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगहरूमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहन्छ। साथै, यी तीनै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्नेछ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तो मौसमले कृषि, स्वास्थ्य, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।