३१ वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै
-
नेटिजन संवाददाता
- सोमबार, ६ जेठ, २०८२- ११:४८:००/ Monday 05-19-25

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गरेका छन् । तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गरेको उक्त सडक आइतबार मन्त्री दाहालले औपचारिक रूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गर्नुभयो।
दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारदेखि सिम्पानीसम्म र सिम्पानीदेखि महुरेसम्मका सडक कालोपत्रका लागि सरकारले ८६ करोड बजेट उपलब्ध गराएको गाईघाट–दिक्तेल सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो खण्डको सडक कालोपत्रको जिम्मा दिव्यज्योति कन्ट्रक्सन प्रालि धादिङले लिएको छ भने, दोस्रो खण्डको सडक कालोपत्रको जिम्मा रायमाझी कन्ट्रक्सन प्रालि काठमाडौंले लिएको छ ।
दिव्यज्योति कन्ट्रक्सन प्रालिले ४२ करोड लागतमा सम्पन्न गर्ने गरी २०८१ चैत १७ मा तथा रायमाझी कन्ट्रक्सन प्रालिले ४४ करोड लागतमा सम्पन्न गर्ने गरी २०८१ माघ २ मा सम्झौता गरेको हो । दुवै सडकखण्ड चार वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएका छन् ।
फोक्सिङटारमा आयोजित सडक कालोपत्र शुभारम्म कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले खोटाङबाट पूर्वीतराईका विभिन्न जिल्ला जोड्ने यस सडक कालोपत्रको काम समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो ।
यो सडक तपाईंको व्यावसायिक काम मात्र नभइ राज्यप्रतिको उत्तरदायित्व पनि हो । तपाईंले यो सडक कालोपत्र समयमा सम्पन्न गर्नुहुनेछ । यसका लागि आवश्यक बजेट मन्त्रालयले अभाव हुन दिने छैन', उहाँले भन्नुभयो, 'कालोपत्र समयमा सम्पन्न गर्नका लागि जनस्तरबाट पनि खबरदारी आवश्यक छ । यो सडक दुई लेनको बन्ने छ । सडक बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको छ ।'
मन्त्री दाहालले सुकोशीस्थित फोक्सिङटारको पक्की पुल पुनःनिर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको पनि बताउनुभयो । गत असोज–१२ गते आएको बाढीले बगाएको पक्की पुल निर्माण गर्न अर्थ मन्त्रालयले ३५ करोड बजेट सुनिश्चित गरिसकेको र आगामी डेढ वर्षभित्रै फोक्सिङटार पुल पुनःनिर्माण हुने उहाँको भनाइ छ ।
यस सडक यसअघि पनि कालोपत्र सुरु गरिएको थियो । ठेकेदारको चरम लापरबाहीले समयमा सम्पन्न नभएपछि मन्त्रालयले ठेक्का तोडेर अर्को ठेकेदार कम्पनीसँग सम्झौता गरी पुनः कालोपत्र सुरु गरेको हो । रासस ।