संग्रहालयको विकासका लागि स्थानीय सरकारको भूमिका बढाउँन सरोकारवालाको जोड
-
नेटिजन संवाददाता
- आइतबार, ५ जेठ, २०८२- १६:०२:००/ Sunday 05-18-25

ललितपुर । ललितपुर । संविधानले स्थानीय सरकारलाई सम्पदा, संस्कृति, ललितकला तथा संग्रहालयको संरक्षण र प्रवद्र्धन र विकासको अधिकार दिएकाले उक्त अधिकारको कार्यान्वयन मार्फत् स्थानीय सरकारले संग्रहालयको विकासका लागि धेरै काम गर्न सक्ने सरोकारवालाहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय संग्रहालय दिवस २०८२ को अवसरमा आइकम नेपाल, इरोटिक म्युजियम अफ आर्ट, ज्यापु संग्रहालय र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको “संग्रहालयको विकास तथा प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका“ विषयक विचार गोष्ठीमा उक्त धारणा राखेका हुन् । हरेक वर्ष मे १८ तारिखलाई अन्तर्राष्ट्रिय संग्रहालय दिवस मनाउने गरिएकोमा यस वर्ष पनि उक्त दिवस मनाउन सिलसिलामा यो कार्यक्रम आउोवजना गरिएको आयोजकको भनाइ छ । गोष्ठीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संघीय सरकारले संग्रहालय सञ्चालनको अधिकार अझै पनि स्थानीय सरकारलाई दिन नसकेका कारण संग्रहालय विकासमा स्थानीय सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको बताउनुभयो ।
“मैले पटक–पटक संग्रहालयको अधिकार स्थानीय सरकारलाई दिनु पर्ने माग राखेको छु,। पाटकन संग्रहालय ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्नु पर्ने भन्दै संघीय सरकारलाई पत्र समेत पठाएको छु“ मेयर महर्जनले भन्नुभयो, “अब संग्रहालय क्षेत्रका सबै सरोकारवालाहरूको पाटन संग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गर्नका लागि साथ आवश्यक छ ।“
मेयर हर्जनले संग्रहालयको विकासका लागि संग्रहालयकै क्षेत्रमा कार्यरत आइकम नेपाल जस्ता संस्थासंग सहकार्य गर्न महानगरपालिका तयार रहेको भन्दै आगामी दिनमा अघि बढ्नका लागि सहकार्यका एजेण्डा तयार पार्न आग्रह गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले संग्रहालयहरू संस्कृति र मौलिकताको जगेर्नाका लागि अपरिहार्य भएको बताउँदै संग्रहालयको विकासका लागि महानगरपालिका नीति, कार्यक्र, बजेट तथा अन्य आवश्यक कार्य गर्न प्रतिबद्ध रहेको बताउँनुभयो ।
कार्यक्रमका सभापति तथा ललितपुर महानगरपालिकाको उद्योग, पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक विकासमान श्रेष्ठले अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा आयोजित यो कार्यक्रममा महानगरपालिका जोडिन पाउँनु खुसीको कुरा भएको भन्दै संग्रहालयको विकासका लागि महानगरपालिका आगामी दिनमा सबै सरोकारवाहरुसंग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
आईकम नेपालका अध्यक्ष रमेश प्रसाद दवाडीले संग्रहालयहरूको प्रवद्र्धनका लागि आइकम नेपाल स्थानीय सरकारलाई प्राविधिक सहयोग समेत दिएर अघि बढ्न तयार रहेको बताउनुभयो ।
अनुसन्धानकर्ता डा. विधु कायस्थले पाटन क्षेत्र आफैमा खुल्ला संग्रहालय भएकाले यसको व्यापकतालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले संग्रहालयको विकासका लागि धेरै काम गर्न सक्ने भएता पनि त्यता तर्फ खासै ध्यान पुग्न नसकेको भन्दै यस किसिमका कार्यक्रमले हाम्रो सम्पदाको मौलिकता र संग्रहालयको विकासका लागि स्थानीय सरकारको भूमिका बढाउँन मद्दत पुग्ने धारणा राख्नुभयो ।
इरोटिक म्यूजियम अफ आर्टका अध्यक्ष तथा ज्यापु समाज यलका अध्यक्ष सन्तमान महर्जनले ललितपुरमा रहेका कला र संस्कृति सम्बन्धिका संग्रहालयहरूको उचित व्यवस्थापनका लागि स्थानीय सरकारले अभिलेख तयार गर्ने तथा सम्पदा र संग्रहालय सम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।
ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सबिना महर्जनले ज्यापु संग्रहालयको विकासमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेको भन्दै महानगरपालिकाबाट सहयोग प्राप्त भएमा स्थानीय सरकारलाई नै सहयोग पुग्ने कार्यक्रमहरु गर्न सकिने बताउनुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा यस वर्षको अन्तर्राष्ट्रिय संग्रहालयको दिवसको नारा परिवर्तनशील समुदायमा संग्रहालयको भूविष्यको सन्दर्भसंग जोडेर संग्रहालयको प्रबद्र्धन र विकासका लागि स्थानीय सरकारको भूमिका विषयमा छलफल कार्यक्रम संचालन गरिएको थियो । जनप्रतिनिधि,संग्रहालयकर्मी तथा विज्ञहरुसहितको उक्त छलफलले संग्रहालयको विकासका लागि स्थानीय सरकारको भूमिकाको बारेमा सुझावहरु समेत दिएको छ ।