• आइतबार, ७ बैशाख, २०८२
  • ०९:५३:३२

अनलाइन ठगि मा पर्दा के गर्ने ?

काठमाडौं। हालका दिनहरूमा अनलाइन ठगीको जोखिम तीव्ररूपमा बढ्दै गएको छ। कहिले प्रयोगकर्ताको असावधानी त कहिले सेवा प्रदायकको प्रणालीमा कमजोरीका कारण साइबर अपराधीहरूले विभिन्न तरिकाबाट प्रयोगकर्तालाई निसाना बनाइरहेका छन्। यस्ता घटनाहरूमा कहिलेकाहीँ सबै सावधानी अपनाउँदा पनि ठगीको सिकार भइन्छ।

'बैंक प्रतिनिधि' को नाममा फोन गरी गोप्य विवरण माग्ने, मेसेजमार्फत ओटीपी लिने, वा भ्रामक लिङ्क पठाएर डिजिटल वालेट र बैंक खाताबाट रकम चोरी गर्ने घटनाहरू सामान्यजस्तै बनेका छन्।

यदि तपाईं पनि यस्ता साइबर ठगीको सिकार हुनुभएको छ भने, तल उल्लेखित पाँच काम तुरुन्त गर्नुहोस्:

१. बैंकमा तुरुन्त खबर गर्नुहोस्
ठगी भएको थाहा पाउनेबित्तिकै तपाईंले प्रयोग गरिरहनुभएको बैंकलाई तत्काल जानकारी दिनुहोस् र आफ्नो खाता रोक्का गराउन अनुरोध गर्नुहोस्। अधिकांश बैंकले यस्ता आकस्मिक अवस्थाका लागि टोल-फ्री नम्बर उपलब्ध गराएका हुन्छन्।

२. डिभाइस इन्टरनेटबाट डिस्कनेक्ट गर्नुहोस्
मोबाइल, ल्यापटप, कम्प्युटर वा ट्याब जुनसुकै उपकरण प्रयोग गरिरहनु भएको छ, तुरुन्त इन्टरनेट कनेक्सन काट्नुहोस्। यसले थप साइबर जोखिम रोक्न सहयोग गर्छ।

३. ईमेल र पासवर्ड तुरुन्त परिवर्तन गर्नुहोस्
तपाईंको ईमेल आईडी यदि बैंक वा डिजिटल वालेटसँग लिङ्क गरिएको छ भने तुरुन्त पासवर्ड परिवर्तन गर्नुहोस्। पासवर्ड बलियो र अद्वितीय बनाउनुहोस्।

४. प्रहरी वा साइबर ब्युरोलाई जानकारी दिनुहोस्
आफ्नो नजिकको प्रहरी कार्यालयमा प्रत्यक्ष गएर वा १०० मा फोन गरेर उजुरी दिन सकिन्छ। साथै, नेपाल प्रहरीको साइबर ब्युरोको नम्बर ९८५१२८६७७० मा सम्पर्क गरी थप प्रक्रिया अगाडि बढाउन सकिन्छ।

५. साक्ष्य सुरक्षित राख्नुहोस्
प्रहरीमा उजुरी गर्नुअघि तपाईंको सक्कल नागरिकता वा अन्य परिचयपत्रसहित ठगीसँग सम्बन्धित प्रमाणहरू — जस्तै मेसेज, फोन कल रेकर्ड, इमेल वा स्क्रिनशट — संकलन गरी लैजानुहोस्। यी प्रमाणहरूले अनुसन्धानमा सहयोग पुर्‍याउँछ।

समयमै उचित कदम चाल्न सकेमा अनलाइन ठगीबाट जोगिन सकिन्छ, र यदि ठगी भइसकेको छ भने पनि समस्या समाधानमा मद्दत पुग्छ। डिजिटल युगमा सुरक्षित रहन सचेतता र सावधानी अत्यावश्यक बनिसकेको छ।