इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
-
नेटिजन संवाददाता
- मंगलबार, १० असार, २०८२- १४:५०:००/ Tuesday 06-24-25

काठमाडौं । तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्ने छ ।
दुवै पक्षले सम्झौता स्वीकार गर्नुअघि तेहरानले इजराइललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मङ्गलबार बिहान कम्तीमा चार जनाको मृत्यु भएको थियो भने इजरायलले बिहान हुनुअघि इरानभरका ठाउँहरूलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो ।
“अहिलेसम्म कुनै पनि युद्धविराम वा सैन्य कारबाहीको अन्त्यमा कुनै ‘सम्झौता’ भएको छैन”, इरानी विदेशमन्त्री अब्बास अराघचीले एक्समा एक पोस्टमा लेख्नुभएको छ, “यद्यपि इजरायली शासनले इरानी जनता विरुद्धको आफ्नो अवैध आक्रमण तेहरान समय बिहान ४ बजे भन्दा पछि रोक्छ भने, हामीसँग पछि हाम्रो प्रतिक्रिया जारी राख्ने कुनै मनसाय छैन । हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिने छ ।”
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पसँगको समन्वयमा इरानसँग द्विपक्षीय युद्धविराम गर्न इजरायल सहमत भएको बताउनुभएको छ ।
नेतान्याहुले सोमबार राति इजरायलको सुरक्षा क्याबिनेटलाई इरानको आणविक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको खतरा हटाउन लगायत इरान विरुद्धको १२ दिने अपरेसनमा इजरायलले आफ्ना सबै युद्ध लक्ष्यहरू हासिल गरेको जानकारी दिएको बताउनुभयो ।
इजरायलले इरानको सैन्य नेतृत्व र धेरै सरकारी साइटहरूलाई पनि क्षति पुर्याएको र तेहरानको आकाशमा नियन्त्रण हासिल गरेको उहाँले बताउनुभयो ।
“इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिने छ”, उहाँले भन्नुभयो ।
इरानी सहरहरूमा भारी इजराइली हमलाहरू बिहान ४ बजे (स्थानीय समय) को केही समय अघिसम्म जारी रहेको थियो । त्यसपछि इरानी आक्रमणले इजराइलीहरूलाई सूर्योदय हुँदा बम आश्रयमा हतारमा पठायो । इरानी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र आठ जना घाइते भएको इजराइलको मागेन डेभिड आदोम (एमडिए) उद्धार सेवाले बताएको छ ।
इरानले आफ्ना आक्रमणहरू रोक्नका लागि समय सीमा पार गरेको एक घण्टाभन्दा बढी समयपछि ट्रम्पले ट्रुथ सोसलमा लेख्नुभएको थियो, “युद्धविराम अब प्रभावमा छ । कृपया यसलाई उल्लङ्घन नगर्नुहोस् ! डोनाल्ड जे. ट्रम्प, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति !”
इरानी राज्य टेलिभिजनले युद्धविराम ७ः३० बजे (स्थानीय समय) मा लागु भएको तर इरानी अधिकारीहरूले ट्रम्पको घोषणापछि कुनै टिप्पणी नगरेको बताएको छ । केही घन्टाअघि इरानका शीर्ष कूटनीतिज्ञले देश हवाई आक्रमण रोक्न तयार रहेको बताएका थिए ।
“अहिलेसम्म कुनै पनि युद्धविराम वा सैन्य कारबाहीको अन्त्यमा कुनै ‘सम्झौता’ भएको छैन”, इरानी विदेशमन्त्री अब्बास अराघचीले एक्समा एक पोस्टमा लेख्नुभएको छ, “यद्यपि इजरायली शासनले इरानी जनता विरुद्धको आफ्नो अवैध आक्रमण तेहरान समय बिहान ४ बजे भन्दा पछि रोक्छ भने, हामीसँग पछि हाम्रो प्रतिक्रिया जारी राख्ने कुनै मनसाय छैन । हाम्रो सैन्य कारबाही बन्द गर्ने अन्तिम निर्णय पछि गरिने छ ।”
राष्ट्रपति ट्रम्पले दुवै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रपति ट्रम्पद्वारा युद्धविरामको घोषणा
यसअघि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबिचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको थियो ।
उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै युद्धविराम केही घण्टाभित्र लागु हुने बताउनुभएको हो। प्रारम्भमा इरानले युद्धविराम सुरु गर्ने छ भने त्यसको १२ घण्टापछि इजरायलले पनि त्यसमा सहभागी हुने जनाइएको छ। त्यसपछि २४ घण्टाको समयावधिमा दुवै पक्षले युद्धको औपचारिक अन्त्यको घोषणा गर्ने छन्।
राष्ट्रपति ट्रम्पले दुवै राष्ट्रले धैर्य, साहस र समझदारी देखाएकोमा बधाई दिँदै, यस सहमतिले दीर्घकालीन विनाशबाट सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई बचाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले अन्त्यमा सबैलाई एकताको सन्देश दिँदै भन्नुभएको छ, ‘‘ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा समग्र विश्वलाई पनि आशीर्वाद दिनुहोस्।’’ रासस/एपी