• शुक्रबार, १३ असार, २०८२
  • १०:२६:५७

कलाका खानी अरनिको, जसको जन्म मिति नै एकिन छैन    

कसैले अरनिको सन् १२४५ त कसैले सन् १२४४ मा जन्मिएका भन्ने गरेका छन् ।

  • Netizen Nepal
  • शनिबार, २८ फाल्गुण, २०७८- ०६:३५:००/ Saturday 03-12-22

नेटिजन नेपाल 
  काठमाडौँ, २८ फागुन।  नेपालको कला इतिहासका स्मरणीय व्यक्ति भए पनि अरनिकोको बारेमा अझै पनि  धेरै तथ्यहरु खोजि गर्न बाँकी छ।  उनको आकृतिकै बारेमा पनि कलाकारले कल्पनाका आधारमा बनाउने गरेकाले यही नै मुहार हो भन्न सकिने अवस्था छैन । जन्मस्थान लगायतका धेरै गतिविधि अझै पनि यकिन भन्न सकिने अवस्था छैन । यद्यपि केही कुराहरु भने बाहिर आएका छन् ।    
    
 कलिलै उमेरमा तिब्बत र त्यसपछि चीन गएर बौद्ध वास्तुकलामा ख्यातिप्राप्त वास्तुकार थिए अरनिको । कतिपयले उनको जन्म पाटनमा भएको उल्लेख गरेका छन् ।  अरनिको राजा अभय मल्लको पालामा सन् १२४५ (कसैकसैले १२४४ भन्ने गरेका) मा पाटनमा जन्मिएका थिए भन्ने छ । मृत्यु भने १३०६ मा भएको थियो । पछि राजा जय भीमदेव मल्लको पालामा ८० जना वास्तु कलाकारको नेतृत्व गर्दै अरनिको तिब्बत पुगेको कलाकारहरुको भनाइ छ।       
     
 नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य भन्नुहुन्छ, “अरनिकोलाई चिन्ने कसरी रु उहाँको चित्र कल्पनामा मात्रै बनाउन सक्छौँ, प्रतिभालाई ध्यानमा राखेर सिर्जना गर्नु परिसकेको छ ।” उहाँले अरनिकोका बारेमा धेरै खोज जरुरी रहेको पनि औँल्याउनुभयो ।    
    
 विगतमा हुलाक टिकटमा राख्ने चित्र बनाउँदा पनि वर्तमान परिवेशमा चिन्न सक्ने गरी बनाएको उहाँले स्मरण गर्नुभयो । अरनिकोको विषयमा धेरै मानिस अनभिज्ञ रहेको उल्लेख गर्दै कला क्षेत्रका एक अध्येता सञ्जय शाक्य धेरै अध्ययन अनुसन्धान गर्न बाँकी नै रहेको बताउनुहुन्छ ।  मार्च ११ लाई  अरनिको स्मृति दिवसका रुपमा मनाइने गरेको छ।  यस  अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उहाँको सम्झनामा विशेष कार्यक्रम आयोजना गरी स्मरण गरेको छ । सोही अवसरमा पाँचदिने परम्परागत हस्तकला प्रदर्शनीसमेत सुरु भएको छ । 
     
 अरनिको प्यागोडाशैलीको मन्दिर निर्माणमा पोख्त थिए । उनले निर्माण गरेको श्वेत चैत्य चीनको बेइजिङमा पर्यटकको आकर्षणको केन्द्रविन्दु भएर रहेको छ । नेपाली वास्तुकला र नेपाली कलाकारको नेतृत्व गर्दै धातुकलालाई चीन र तिब्बतमा प्रसार गर्ने काम अरनिकोले गरेका थिए ।  नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा भएको उक्त कार्यक्रमका संयोजक धर्मराज शाक्यले अब प्रतिष्ठानबाट अरनिकोका बारेमा थप अध्ययन र अनुसन्धान अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।    
    
 नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार आज नेपालीहरुले गौरव गर्ने दिन भएको उल्लेख गर्दै जसरी सगरमाथा, वीर गोर्खाली र बुद्ध जन्मेको देश भनेर गर्व गरिन्छ, त्यसरी अरनिको जन्मेको देश भनेर गर्व नगर्नु दुःखद हो भन्नुहुन्छ ।  ललितकला क्षेत्रका विज्ञ तथा अग्रज कलाकारहरुले राष्ट्रिय विभूति अरनिकोका बारेमा धेरै खोज तथा अनुसन्धान जरुरी रहेको बताउनुहुन्छ  ।