• बिहीबार, २० बैशाख, २०८१
  • ०३:३९:५१

युवा उद्यमी प्रतिमाको प्रगति

पार्वती अधिकारी 

काठमाडौँ, ६ बैशाख । काभ्रे पाँचखाल नागरपालिका वडा नं ४ को तामाघाटको फर्निचर एण्ड फर्निसिंग पसल अहिले स्थानीय सबैको रोजाई र छनौटको पसल बनेको छ । यहाँ हिड्ने जो कोहिले ’पांचखाल फर्निचर एण्ड फर्निसिंग पसल’ भनेर ठुलो होडिङ बोर्डमा बाहिरैबाट देख्न सकिन्छ । पसलमा ग्राहकको आवतजावत बाक्लै देखिन्छ ।सामानहरु पनि टनाटन छन् । फर्निचर र फर्निसिंगसम्बन्धि सामाग्री आवश्यक परेर पसलसम्म आइपुगेका ग्राहकहरु आफूले खोजे जस्तो  सामान अभावमा रित्तो हात फर्किनु पर्दैन । तर यो पसल शुरु हुनुभन्दा पहिले भने यिनै सामान लिन बनेपा र काठमाडौं  जानुको विकल्प थिएन । 

पसलमा एकजना  २१ वर्षिया युवती ग्राहकसंग कुराकानी गर्दै हुन्छिन् । व्यवसाय प्रशासनमा स्नातक (बिबिए)तह  पढ्दै गरेकी उनि सोहि पसलकी संचालक प्रतिमा चौलागाईं हुन् । व्यवसायका क्रममा नबिल बैंकसंग कर्जा लिएर काम गरेपछि उनलाई अझै सहज भयो । आफ्नै लगानीबाट व्यवसाय शुरु गर्दा थोरै सामान थिए ।  तर नबिल बैंकबाट कर्जा लिएपछि भने उहाँको पसलको रुप नै फेरिएको छ । कर्जा लिएपछि ग्राहकको मागअनुसार आफैंले पलंग, दराजहरु निर्माणसमेत गर्न थाल्नुभएको छ ।     

दुई वर्षअघि प्रतिमा फर्निचरका सामाग्रीहरु किन्नका लागि पाँचखालका फर्निचर पसलमा  जानुभयो । तर वरिपरि नजिकमा कतै चित्त बुझ्दो समान भेटिएन । त्यसपछि यो समस्या अरुलाई पनि परेको हुन सक्छ भनेर त्यो समस्यालाई अवसरमा परिणत गर्ने सोचसहित उहाँले आफैं पसल शुरु गर्ने निधो गर्नुभयो  र विस. २०७६ सालमा लकडाउन हुनुभन्दा केहि दिन अगाडी उहाँले फर्निचर र फर्निसिंग व्यवसाय सुरु गर्नुभयो । लकडाउनले भर्खरै सुरु गरेको व्यवसायमा केहि धक्का त पुग्यो नै, तर त्यहि बिचमा पनि चिनेजानेका मानिसहरु भने सामान किन्न आइरहन्थे ।  कोरोना महामारी मत्थर हुँदै गएपछि उहाँको पसलले गति लिन थाल्यो । अहिले पसल राम्रो चलेको छ ।  व्यवसाय लयमा संचालन भैरहेको छ ।  

प्रतिमा काठमाडौंको एस इन्स्टिच्युटमा व्यवस्थापन संकायअन्तर्गत बिबिए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी पनि हुनुहुन्छ । उहाँ आफ्नो अध्ययनलाई समेत निरन्तरता दिंदै एक उदाहरणीय युवा उद्यमी पनि बन्नुभएको छ । उहाँ भन्नुहुन्छ, “कलेजबाट शुक्रबार र शनिबार छुट्टी मिल्छ , यो छुट्टीको समय आफ्नो व्यवसायमा सदुपयोग गर्छु  । हप्तामा दुई दिन म आफैं समय दिन्छु । अरु दिन चाहिं बाबाले पसल संहालीदिनुभएको छ’ । उहाँले यो व्यवसाय चलाउँदा आफ्नो पढाईमा कुनै बाधा नपरेको बरु धेरै व्यवहारिक कुराहरु सिक्न पाइएको बताउनुभयो ।  पढाइ सकिएपछि पुरा समय पसलमा दिने र यो पसललाई अझ विस्तार गर्ने उहाँको सोच छ ।       
यो व्यवसायको सफलताको पछाडि नबिल बैंकको सहयोग र साथ रहेको उहाँको भनाइ छ ।

व्यवसायलाई अलि बढाउने सोच थियो तर लगानी गर्ने रकम अभाव थियो । सोहि क्रममा उहाँले नबिलबाट सस्तो ब्याजदरमा कर्जा पाइने कुरा थाहा पाउनुभयो । त्यसपछि सबै प्रक्रिया पुरा गरेर उहाँले ’नबिल उद्यमी कर्जा’ लिनुभयो । नबिलबाट १५ लाख कर्जा लिएपछि उहाँले पसललाई अझै बिस्तार गर्नुभयो । नबिलले ऋणसंगै उत्साह पनि दिने र आवश्यक सहयोग गर्ने भएकाले व्यवसाय गर्न निकै सहज भएको प्रतिमाको भनाइ छ । ऋण लिएपछि उहाँले केहि कामदारहरु राखेर दराज, पलंग आफैं बनाउने व्यवस्था गर्नुभयो । पसल बिस्तार गरेपछि ग्राहकको आकर्षण अझै बढेको छ । उहाँले ग्राहकको माग अनुसार तयारी सामान र आफैंले निर्माण गरेको दुवै प्रकारका सामानहरु उपलब्ध गराइदिनुहुन्छ । व्यापार पनि पहिलेभन्दा अझै राम्रो भएको उहाँको अनुभव छ ।

कर्जा लिन त धेरै बैंकहरु छन् तर नबिल बैंक अरुभन्दा बढी विश्वसनीय, भरपर्दो र ग्राहकमैत्री लाग्छ प्रतिमालाई । नबिलले प्रवाह गरेको सस्तो ब्याजदरको कर्जाका कारण पनि धेरै व्यवसायीलाई राहत पुगेको उहाँ बताउनुहुन्छ । 

पछिल्लो समय पाँचखालमा घरबस्ती बढ्दै गएको छ । जसका कारण फर्निचर र फर्निसिंग सम्बन्धि सामानको बाजार पनि राम्रो छ । उहाँ भन्नुहुन्छ, ’पसलबाट महिनामा डेढ लाखजति आम्दानी हुन्छ । घर खर्च, पढाइ खर्चलगायत सबै खर्च कटाएर ५० हजार जति बचत गर्ने गरेकी छु ।’

अहिले पनि समाजमा महिलाप्रति हेर्ने दृष्टिकोण पूर्ण रुपमा परिवर्तन हुन सकेको छैन । प्रतिमा महिलाहरु कमजोर हुन् भन्नेहरुका लागि पनि गतिलो उदाहरण हुनुहुन्छ । चाहाना भयो भने सबै कुरा सम्भव भएको बताउँदै उहाँ भन्नुहुन्छ, ’महिला हुँ भनेर डराएर नबस्नुस्  । आफ्नो लक्ष्य पुरा गर्न निरन्तर लागि पर्नुस् । जे पनि गर्न सकिन्छ ।  महिला वा पुरुष भन्ने कुराले फरक पर्दैन ।’ 

प्रतिमाले अहिले फर्निचर र फर्निसिंग पसलबाट ५ जनालाई रोजगारी दिइरहनुभएको छ । उहाँ अब छिट्टै फर्निचरसंगै सोफा फ्याक्ट्री खोल्ने तयारीमा हुनुहुन्छ । एउटा कलेज पढ्दै गरेको विद्यार्थीले उद्यमशीलताको यो अभ्यास गर्नु सबैका लागि प्रेरणको काम भएका स्थानीयको भनाइ छ ।

ग्राहकहरु उहाँको सेवा देखेर निकै खुसी र सन्तुष्ट छन् । यो पसलमा सामान किन्न आएका स्थानीय ग्राहकहरु पहिले काठमाडौंबाट ल्याउँनु पर्ने सामान अहिले स्थानीय स्तरमै पाइने  भएकाले सजिलो र सस्तो बताउँछन् । ग्राहहरुको यहि सन्तुष्टिले गर्दा प्रतिमालाई यो व्यवसाय अझ विस्तार गर्दै जाने आँट र उत्साह आएको छ ।