• बुधबार, ४ जेठ, २०७९
  • ०१:११:०७

माथिल्लो दोर्दी ए दुई करोड घाटामा

  • Netizen Nepal
  • मंगलबार, २७ बैशाख, २०७९- ०७:३३:००/ Tuesday 05-10-22

नेटिजन संवाददाता 
काठमाडौँ, २७ वैशाख । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भई विद्युत् उत्पादनको तयारीमा रहेको माथिल्लो दोर्दी ए को आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको छ । 


कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको माथिल्लो दोर्दी–ए  निर्माण गरिरहेको छ । असार पहिलोबाट आयोजनाको बिजुली उत्पादन हुने आयोजनाका सञ्चालक राजेन्द्र बस्तीले बताए ।

आयोजनाको बाँकी काम २०७९ जेठभित्र सम्पन्न गरी असार पहिलो साताबाट बिजुली उत्पादन  गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन भएको  विद्युत् कीर्तिपुर सबस्टेसनमार्फत उदिपुर–मार्कीचोक–भरतपुर खण्डको ६ किलोमिटर प्रसारण लाइनको प्रयोग गरी मध्यमस्र्याङदीको स्वीचयार्डमा पुराइने भएको छ ।

चैतसम्मको अवधिमा १ करोड ९९ लाख १८ हजार ६ सय ८० रुपैयाँ घाटामा रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीका घाटा गत वर्षको यही समय अवधिको तुलनामा भने घटेको हो । गत वर्ष ३ करोड २४ लाख ३२ हजार ५ सय २४ रुपैयाँ घाटामा थियो ।

आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत् उत्पादन हुनेछ । विद्युत् उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।