• बिहीबार, १३ बैशाख, २०८१
  • ०६:३९:५५

देशभर ६५ प्रतिशत मत खस्यो 

  • Netizen Nepal
  • शनिबार, ३१ बैशाख, २०७९- ०७:३३:००/ Saturday 05-14-22

नेटिजन संवाददाता 

काठमाडौं, ३१ वैशाख । देशका ७ सय ५३ स्थानीय तहमध्ये १६ जिल्लाका २८ स्थानीय तहका ४३ मतदान स्थलअन्तर्गतका ७७ केन्द्रबाहेकमा शुक्रबार स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार २१ हजार ८ सय ७८ केन्द्रमा मतदान भएको हो ।

आयोगले दिएको प्रारम्भिक विवरणअनुसार मतदान सम्पन्न भएका स्थानीय तहमा देशभरमा गरी करिब ६५ प्रतिशत मत खसेको छ । केही स्थानीय तहमा भने राजनीतिक दलबीचको विवाद र झगडाका कारण छिटपुट घटना भएपछि निर्वाचन स्थगित गरिएको तथा केही स्थानमा खराब मौसमका कारण पनि मतदान स्थगित भएको आयोगले भनेको छ । निर्वाचन शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थगित भएका मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिट्टै मतदानको व्यवस्था गरिने बताए ।

‘एकै चरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौं तर केही स्थानमा दलहरूको बीचमा उत्पन्न विवादले उग्र रूप लिएको र खराब मौसमपछिको वर्षाका कारण ७७ मतदान केन्द्रमा मतदान सम्पन्न हुन सकेन,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

गाउँको सिंहदरबारका रूपमा मानिएको स्थानीय तहको नेतृत्व चयनका लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार कायम छन् । करिब ७५ हजार मतपेटिकामा बन्द हुने मतपत्रको गणना सकिएर अन्तिम परिणाम आउँदा स्थानीय तहमा ३५ हजार २ सय २१ जना जनप्रतिनिधि पाँचवर्षे कार्यकालका लागि पदमा पुग्नेछन् ।

निर्वाचन आयोगले धेरैजसो स्थानीय तहको मतगणना शुक्रबार रातिबाट नै सुरु गरेको छ । तर, केही हिमाली र दुर्गम जिल्लामा शनिबारदेखि हेलिकोप्टरको माध्यमबाट मतपेटिका ओसार्न सुरु गरिने आयोगले जनाएको छ । राजधानी दैनिक