• शुक्रबार, ७ बैशाख, २०८१
  • ०९:३१:३८

मीतज्यु ! स्वर्गमा ‘गु’ पाइन्छ कि पाइंदैन ?

पार्वती अधिकारी 
एकचोटी गुह्य किरा र भमराले मीत लगाएछन् । मीत मीत मिलेर घुमघाम गर्दै गरेको बेला भमराले एउटा प्रस्ताव राखेछ, ’मीतज्यु बरु तपाईं र म स्वर्ग जाउँ ।’ 
आफ्नो मीतको स्वर्ग जाने प्रस्ताव गुह्य कुरालाई ठिक लागेछ । ऊ भमरासँग स्वर्ग जान तयार भएछ । 
जाँदै गर्दा बीच बाटोमा पुगेपछि गुह्य किरालाई एउटा कुरा याद आएछ र भमरालाई सोधेछ, ’मीतज्यु, स्वर्गमा ’गु’ पाइन्छ कि पाइंदैन ?
भमरा छक्क परेछ ।  जसो गरे पनि आफ्नो मीतलाई सुधार्न नसक्ने देखेपछि बीच बाटोबाटै गुह्यकीरालाई उसकै दुनियाँमा फर्काइदिएछ ।  
पछिल्लो समयमा कतिपय मानिसहरु नेतालाई पनि यहि गुह्य किराजस्तै हुन्, जब उनीहरु कुर्सीमा बस्छन्, त्यहि फोहोरमा लट्टीपट्टी भैहाल्छन् भन्ने विम्बमा प्रस्तुत गर्थे ।  

एक समय थियो, जतिबेला राजनीतिको ’रा’ र नेताको ’ने’ शब्द सुन्दा पनि मानिसहरु कान थुन्न खोज्थे । देशका हरेक कुना काप्चामा नेताप्रतिको रुष्टता सजिलै देख्न सकिन्थ्यो ।  हरेक चियापसलमा नेता भनेका बुढा, काम गर्न नसक्ने र भ्रष्टाचारी हुन्छन् भन्ने मानासिकता जो कोहीको थियो ।  कुनै बालक÷ बालिकाले म भोली गएर देशको नेता भन्छु भन्यो भने सबैजना गलल हाँस्थे ।  उसका आमाबुवाले सम्झाउँदै भन्थे, ’बाबु धेरै पढेर ठुलो मान्छे हुने हो, कहाँ नेताहुने हो त।’ 
’अनि नेता ठुलो मान्छे होइन त ?’, बच्चाले प्रश्न गर्छ ।  
’ठुलो मान्छे त हो, तर नेता प्रतिष्ठा भएको काम होइन ।  राजनीति भनेको फोहोरी खेल हो । त्यसैले फोहोरी काम गर्नु हुँदैन’, यसैगरि पढाइन्थ्यो आफ्ना छोराछोरीलाई राजनीतिका बारेमा । र त छोराछोरीले पनि बुझ्नै चाहेनन् ।  त्यसैले उच्च शिक्षा अध्ययन गरिसकेको एउटा देशको परिपक्व युवालाई देशको प्रधानमन्त्री र राष्ट्रपतिको नाम पनि एकछिन सोचेर भन्नुपर्ने अवस्था थियो ।  

राजनीति पनि पानीजस्तै हो । जसमा जुन रङ्ग मिसायो त्यस्तै हुन्छ । नेताहरुले वर्षौंदेखि आफ्ना फोहोरी आदत, लाचारपन, निर्गति गतिविधि सबै राजनीतिमा लगेर मिसाईदिए । राजनीति बागमतीको ढलभन्दा पनि फोहोर भयो ।
राजनीति एक सुन्दर कर्म हो । राजनीतिको सुन्दरता फोहोरले ढाकियो । नेताले फोहोर थपिरहे, जनताले कहिल्यै सफा गर्ने कोशिस गरेनन् । कहिलेकाहीं कसैले सफा गर्न जाने सोच मात्र बनायो भने पनि त्यसलाई यो फोहोर नै हो, नजा भनेर धपाइयो ।  खाडीतिर, अरबतिर र अष्ट्रेलियातिर । त्यसैले राजनीति फोहोरी नै भैरह्यो, सुकिलो हुनै सकेन ।   
राजनीति गर्ने मान्छे कस्ता हुन्छन्  ? नेता भन्नेबित्तिकै तपाईंको मनमा के आउँछ ? जसले खासै पढाइमा जाँगर लगाउँदैन । जसले अलि दादागिरी गर्न खोज्छ । ढुंगामुढा गर्न सक्ने, जेल बसेको, उस्तै परे दुई चार जनाको हड्डी तोडिसकेको मान्छे नेताका लागि योग्य मानिस भनेर बुझिन्थ्यो ।  एउटै घरमा पनि अलि धेरै पढ्ने बच्चा छ भने यो पछि गएर डाक्टर, इन्जिनियर  या यस्तै यस्तै बन्छ भनि बाबुआमाले घोक्रो फुलाउँथे ।  अर्को सन्तान पढाइमा जाँगर नलगाउने छ भने ’यसले पढेन, नेतै बन्ला जस्तो छ ’, यहि भनिन्थ्यो । नेताप्रतिको बुझाइ यहि उदाहरणबाट पनि प्रष्ट हुन सक्छ ।

पढ्नेहरु देशमै बसेनन् ।  शिक्षित जति सबै विदेश भासिए । अनि गालि गरिरहे, लिरिखिरी गरेर देश चलाउनेहरुलाई ।  तर फर्किन चाहेनन् ।  आफु नगर्ने अनि यो भएन र त्यो भएन भन्नु त पढेलेखेका मानिसहरुको पनि मुर्खता नै हो । आफ्नो देशलाई अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, चीन र स्विजरल्याण्डसंग तुलना गरेर पनि त हुँदैन । मेहेनत गरेर छिमेकी सफल भएको छ भने उसंग सफल हुने तरिकाहरु सिक्ने हो ।  उसंग तुलना गरेर आफ्नो बाउलाई गाली गरेर बस्ने होइन । आफुले पनि मेहनत गर्ने हो । 

हामी छिमेकीको मै नोकरी गर्न जान्छौं र छिमेककी कै गानाबजाना गरेर बस्छौं । आफ्नो घर र घरकालाई गाली मात्र गरिरहन्छौं ।  यो हाम्रो कमजोरी नै हो । यस्तै यस्तै क्रियाकलापले पनि हो, नेता भ्रष्टबाट झन् भ्रष्ट बन्दै गएका । घरघरमा पानीको पाइप नपुगेको बेला चुला चुलामा ग्यासको पाइप पुर्याउँछु भन्ने नेताहरुलाई पनि जनताले पत्याएकै हुन् । ताली बजाएकै हुन् । थाहा नभएको कुरामा कि चुप लाग्ने कि तालिमा ताली बजाउने हो । त्यसैले जस्ता भाषणमा पनि जनताले ताली बजाइरहे । कतिले बुझेर बजाए, कतिले नबुझेर बजाए ।तर आकाशका तारा झार्छु भन्ने नेताहरुलाई भोट आयो ह्वारह्वारी । त्यसपछि पाँचवर्ष नाकमुख देखाएनन् ।  
फेरि मुख देखाउने बेलामा अर्को भाषण तयार पारेर ल्याए, ताराका सट्टा चन्द्रमाको कुरा गरे । जनताको दुख आफ्नै दुख भएको नाटक गरे , फेरि ब्याकमेल गरे ।  यसरी नै चलिरहेको थियो राजनीति ।  

समय सधैं एउटै चलिरहँदैन । त्यसैले अब उनीहरुलाई जनताले पत्याउन छाडेका छन् । आजित भएका जनताहरुले बुझ्न थालेका छन्, ’भुक्ने कुकुरले टोक्दैन’ भनेर । त्यसैले नै यसपालिको निर्वाचनमा युवाहरुको सहभागिता बढी देखिएको छ । राजनीतिलाई ढुंगामुढा, जेलनेल र हड्डी तोड्ने खेलभन्दा पनि देश विकास गर्ने अवरसरका रुपमा बुझ्न थालिएको छ ।  यसो भन्दाभन्दै विभिन्न कालखण्डमा विभिन्न प्रकारका निरंकुस शासन परिवर्तनका लागि लडिएको लडाईं र संघर्षलाई भुल्नु भने हुँदैन । उनीहरुले ढुंगामुडा, जेलनेल र बन्दुक उठाएका कारणले नै अहिले लौरो उठाएरै चुनाव जित्न सक्ने वातावरणको सिर्जना भएको कुरा भने भुल्नु हुँदैन। 

यसपालीको स्थानिय निर्वाचनले युवाहरुले अब नेताका झोला बोक्न छाडेर आफ्नो सोच, विचार र बुद्धिविवेक प्रयोग गर्दै अगाडी आउन जरुरी छ भन्ने कुराको सन्देश दिएको छ । आखिर जसरी गरे पनि जनताको सेवा नै गर्ने त हो नि । नेपालको राजनीति अब सहि दिशामा रुपान्तरित होस् ।  जनताको वितृष्णा सधैंका लागि अन्त्य होस् । विदेशिएका युवाहरु देशमै फर्किएर कोहिले राजनीति गरुन्, कोहिले आफ्नो सीपको उपयोग देशमै गरुन् ।  राजनीति एउटा सफा खेल बनोस् । जुन खेल खेल्न उत्कृष्ट खेलाडीहरु मैदानमा जाउन् र जनताहरु सबै दर्शकका रुपमा उनीहरुको खेलमा ताली बजाउन्, हुटिंग गरुन् । अनि नेपालमा सुख र खुशीयाली दुवै छाउँनेछ ।