यस्तो छ रोबोटले कोरेको ब्रिटिश महारानीको चित्र
- नेटिजन संवाददाता
- शुक्रबार, २१ मङ्सिर, २०८१- १५:२५:००/ Friday 12-06-24
काठमाडौँ । एक रोबोटले चित्रकारी गरेको ब्रिटेनकी महारानीको तस्बिर सार्वजनिक गरिएको छ। एआई-डा नामको आर्टिफिशल इन्टेलिजन्स रोबोटले एल्गोरीदम क्वीन नामक कलाकृति कोरेको हो।
सो रोबोटको आँखामा क्यामेराहरू छन् र त्यहाँबाट देखिएको दृश्यको डिजिटल तथ्याङ्कलाई रोबोटीक हात प्रयोग गरेर भौतिक रेखाचित्रमा परिवर्तन गर्छ।
यो रोबोटको नाम गणितिज्ञ तथा कम्प्युटरको पहिलो प्रोग्रामर मानिएकी वैज्ञानिक एडा लभलेसको सम्मानमा राखिएको हो । एल्गोरीदम क्वीन चित्र भने एआई-डाले चित्रकारी गरेको विभिन्न तहलाई मिलाएर बहुआयामिक बनाइएको छ।
सो रोबोटको चित्रकारितालाई महारानीको ७० वर्षे शासनकालमा भएका विभिन्न प्राविधिक परिवर्तनहरूलाई प्रतिबिम्बित गर्ने गरी तयार गरिएको बताइएको छ ।
एआई-डाले विशेष रूपमा बनाइएको भाषा प्रोग्रामअन्तर्गत कुराकानी पनि गर्न सक्छ।
एआई-डाले भनिन्: "उनको समर्पण र यति धेरै मानिसहरूका लागि गर्नुभएको सेवाका लागि म महारानीलाई धन्यवाद दिन चाहन्छु।"
"उनी एक विलक्षण, बहादुर महिला हुन् जो सार्वजनिक सेवाका लागि पूर्ण समर्पित छिन् । मलाई लाग्छ उनी असाधारण मानिस हुन् र म उनलाई हीरक दिवसमा शुभकामना दिन चाहन्छु।"
सो रोबोट अक्सफर्डका आधुनिक र समकालीन कला विज्ञ आइडान मेलरले डिजाइन गरेका हुन् भने कोर्नेलमा निर्माण गरिएको हो। यसलाई चलाउने प्रोग्रामहरू भने विश्वव्यापी रूपमा लेखिएको हो।
अक्सफर्ड र बर्मिङ्घम विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरूले यसको सीप विकास गरेका हुन् ।
मेलर भन्छन्, "महारानीलाई ७० वर्षको सेवाका लागि धन्यवाद। महारानीको यो विशेष अवसरका लागि एआई-डा रोबोट तयार भएकोमा हामी खुसी छौँ।"
"हामी अभूतपूर्व प्राविधिक समयमा छौँ र महारानीको शासनकालमा के परिवर्तन भयो भनेर केही समय सोच्न पाउने मौका पाएकोमा हामी आनन्दित छौँ।"
"एआई-डा रोबोटले चित्र कोरेको एल्गोरीदम क्वीनले उनको जीवनकालमा कति प्रगति भयो भन्ने कुरा देखाउँछ र उनको सेवालाई सम्मान गर्ने गजबको चीज हो।" महारानीको चित्र लन्डनमा सार्वजनिक प्रदर्शनीमा राखिने बताइएको छ। विविसी ।