• शनिबार, १५ बैशाख, २०८१
  • ०४:४३:३६

रोकिएको समय

कसैलाई कुराउनमा जति मजा कुर्नुमा कहाँ छ र ?  सायदलाई प्रतिक्षा गराउन लगाउनेहरु मतलबी भएरै मज्जा लिन्छन। जब हामी कसैको पर्खाईमा हुन्छौ त्यतिबेला घडीको गति पनि कम भएको जस्तो लाग्छ। समयले सायद 'यसले कसैलाई कुरिरहेको छ तँ एकछिन विस्तारै चल है' भनेर आदेश दिएको जस्तो । अझ तँ एकछिन कुर्दै गर म २ मिनेटमा आइपुग्छु भनेर १ घण्टा कुराउनेलाई त एक झापड लगाउन मन लाग्छ । तर, हाम्रो मुर्ख बुद्धि समय कहाँ मानिस जस्तो झुटो छ त ?  आफ्नो रफ्तारलाई एकनाश कायम गर्न सक्ने क्षमता छ उसमा। उसलाई न कहिले थकाई लाग्छ, न भोक न प्यास। अझ 'ढिलासुस्ती' भन्ने शब्द त समयको शब्दकोशमा टर्च लाईट बालेर खोजे पनि भेटिंदैन।

चलिरहेको छ आफ्नै सुरमा, एकनास । यदि समयले पनि चल्न आलटाल गरिदिने हो भने के होला ? मेरो दिमागले सोचिहाल्छ, आहा म त 'बुढी' नै हुन्न। यो सधै जवान रहिरहने चाहना हो कि बुढी नहुने । संसारका हरेक प्राणी धर्तीको पाहुना मात्रै भएकाले यो कुरा त सम्भव नै छैन। मेरो जस्तै सबैको जवान नै रहिरहने चाहना भयो भने बुढो हुने चाहिँ को नी फेरि ?  सृष्टिको नियम उल्लङ्घन गर्न नसकेर पनि हो समयले आफ्नो जिद नछोडेको नत्र चल्न छोड्डिए हुन्न ? कुनै बहाना बनाएर केहि ढिलासुस्ती गरे हुन्न ? 

आज्ञाकारी समयसँगै चल्ने मानिस किन बफादार र आज्ञाकारी बन्न नसकेका होलान ? समयको शब्दकोशमा (ढिलासुस्ती) जुन शब्द छैन त्यो शब्द मेरो मन मष्तिस्क र नशा नशामा छ। यो शब्द मेरो शब्दकोशमा कहिल्यै नमेटिने गरि लेखिएको छ। किनकी नानीदेखि लागेको बानी त्यति सजिलै कहाँ जान्छ र ?

जब सानोमा बाआमाले लौ लौ छोरी यो काम गर भनेर अर्हाउनुहुन्थ्यो, उहाँहरुको आज्ञा पालना गर्नै भए पनि हस त भनिदिन्थे तर त्यहि काम भाई बहिनीले गर्दिहाल्यो भने त भन्ने सोच आउथ्यो र एकछिन बाटो हेरेर बस्थे। 'काम साँचे आफुलाई खान साँचे अरुलाई' भन्छन नी। मेरो काम अरुले किन गर्दिन्थे र ? त्यो बानी अहिलेसम्म पनि उस्तै छ दुरुस्तै छ। ढिलासुस्तीकै कारण कतिपय ठाउँ र समयमा त नमज्जाको गाली समेत खानु परेको छ।

भैरव अर्यालले 'जय भोली' भन्ने निबन्ध मजस्ता भोलिवादहरूलाई नै कल्पना गरेर नै लेखिएको हो। यदि निबन्धको ठाउँमा फेरि पनि जय भोलि नामक कुनै कथा लेखिन्थ्यो भने त त्यसको मुख्य पात्र म नै हुन्थे होला। 'भोलिवाद मानिसको शत्रु' हो। यसले हाम्रो भलो हेर्नै चाहदैन त्यति हुँदा हुँदै पनि जब यसको लत लाग्छ नि यसको दलदलबाट माथि उठ्नै सकिंदैन। तिललाई पहाड बनाउन त कोहि भोलिवादीहरुबाट सिकोस। 

जब सरकारी कार्यालयमा जान्छु त्यहाँको कर्मचारीको कामको स्पिड देखेर आफुमा पनि सरकारी जागिर खाने लक्षण हो कि क्या हो भनेर मख्ख पर्दिन्छु। आफु भलो त जगतै भलो। 'सरकारी काम कहिले जाला घाम' भन्ने कथन सुनेरै पनि अझ सरकारी जागिर खाने भुत चढीदिन्छ । हुन् त सबै सरकारी जागिरे कहाँ घाम जाने प्रतिक्षामा हुन्छन र कतिपय  त इमान्दार र बफादार पनि हुन्छन। 

ढिलासुस्तिकै कारणले कहिलेकहिँ धेरै लज्जित हुनुपर्ने अवस्था पनि आइपर्छ। अझ एकोहोरोपना त ढिलासुस्तीको कारक नै हो मेरो विचारमा । एउटा काममा लागेपछि लाग्यो लाग्यो। दोस्रो विकल्प नै नहुने। आफ्नु बेवकुफी र ढिलासुस्तीले यदि कसैले १ घण्टा कुर्नु पर्यो भने त्यो कुर्नेवालाको हालत के होला ? कहिले सोच्नु भएको छ। हुन त आफ्नो मात्र फाइदा हेर्नेलाई अरुको प्रतिक्षाको मतलब पनि के ?