• शनिबार, २८ असार, २०८२
  • ०२:२१:५१

माग्ने भन्दा गरिब !

पार्वती अधिकारी 
काठमाडौं आएको तिन महिना भईसकेको थियो । म आर्थिक मन्दीको चपेटामा पिल्सिन थालिसकेकी थिएँ । कामका लागि अन्तर्वार्ता दिन त जान्थें तर काम गर्न पनि अनुभव चाहिने रहेछ । अझ चिनेजानेका मानिस चाहिने रहेछ । जागिरको लागि भन्दै मैले फेसबुकको भित्ताहरुदेखि सडकको भित्ताहरुमा टाँसिएका कर्मचारी आवश्यकताका कुनै पोस्टर बाँकी छाडिन। अझ त्यतिबेला म हरेक दिन पत्रिका हेर्ने भएकी थिएँ, कर्मचारी आवश्यकतावाला पाना पल्टाउनका लागि ।

एक दिन फोन गरेर गएको पनि थिएँ, खै के के भन्यो केही बुझिन । जागिर पाउनु छ भने एउटा फारम भर्नुपर्छ भनेर लगायो । आफूसँग अब जम्माजम्मी ३०० मात्र बाँकी थियो । त्यहि पनि बुझाईदिएँ । नत जागिर पाईयो न आफूसँग भएको पैसा नै बाँकी रह्यो । भोलिपल्ट कलेज जाने बेला म संग जम्मा १० रुपैंयाँ मात्र बाँकी थियो । त्यसो त कलेज पुग्न मलाई गाडिमा नै आधि घण्टा लाग्थ्यो । फेरि त्यो दिन कलेज जानैपर्ने थियो । त्यसो त म हत्तपत्त क्लास छुटाउने विद्यार्थी पनि थिईन । १० रुपैंयाँ तिरेर कलेज त पुगें । कलेजबाट फर्कने बेला समस्या भयो । आफूसँग पैसा थिएन, हिंडेर कोठासम्म पुग्न सम्भव पनि थिएन ।

बाटोमा माग्दै गरेको एकजना माग्नेलाई देखें । उसको कचौरा पैसाले भरिएको थियो । आफ्नो खल्ती भने रित्तो रित्तो । म त्यो माग्ने भन्दा पनि गरिब थिएँ । 'कत्रो सपना बोकेर शहर पढ्न आएको । समयले माग्ने भन्दा पनि गरिब बनाईदियो', मनमनै सोच्दै बसस्टपतिर लागें । बसस्टपमा धेरैबेरसम्म एकोहोरिएर बसें । धेरै गाडिहरु ओहोरदोहोर गर्दै थिए । मलाई लैजाने गाडि भने कुनै थिएन, किनकि म संग १० रुपैंयाँ थिएन । 

त्यत्तिकैमा, एकजना खलासी 'कालिमाटी, कलंकी आउनुस् आउनुस्' भन्दै लयात्मक शैलिमा चिच्याईरहेको देखें । यसो हेरेको गाउँको भाइ पो रहेछ । 
भाइ तिमी यहाँ ? मैले सोधें ।
'अँ दिदी !' भाइले मुन्टो हल्लायो ।  
'पढाइ छोड्यौ ?', उ पढाइमा तेज थियो ।  त्यसैले प्रश्न गरिहालें ।  
'छोडें नि दिदी । मन भएर मात्र नहुनी । आमाबासँग पैसा छैन । घरमा खान अन्न दाना समेत छैन । के गरेर बस्नु ? बरु बसको ढोका ढकढकायो भने खान त पेटभरि पाइन्छ । पैसा पनि हुन्छ अलिअलि', अनुहारको निराशा लुकाएर फिस्स हाँस्दै उसले बह्न्यो । 

'यो भाइ त कति भाग्यमानी, काम पनि छ दाम पनि छ । खलासीकै काम पाएको भए पनि गर्थें होला बरु', मनमनै सोचें ।
दिदी के सोचेको ? काँ जाने हो तपाईं ?, उसले सोध्यो।  
'म कलंकी', मैले भनें । 
'यसमै चढ्नुस उसो भए । हाम्रो बस नि कलंकी जाने हो', उसले ढोका ठटाउँदै भन्यो ।   
मलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो। सरक्क गाडिमा बसें । रत्नपार्कदेखि कलंकी पुग्न आधि घन्टा लाग्यो ।  आघि घण्टामा भाईले लय मिलाएर कति पटक 'टेकु, कालिमाटी, कलंकी, कलंकी' भन्यो पत्तो पाइन । मेरो छेउछाउ र वरिपरि कस्तो अनुहार गरेका मान्छे बसेका थिए त्यो पनि छाल पाइन । मैले त मेरै छेउको सिटमा बस्नेलाई पनि याद गर्न बिर्सिएछु ।  मनमा एउटै कुरा खेल्दै थियो, कि यो भाइले भाडा माग्यो भने के गर्ने ? के भन्ने ? १० रुपैंयाँले जीवनमा यति ठुलो तनाब देला भनेर कहिल्यै सोचेकी थिइंन । सायद जिन्दगीको पनि परिक्षा हुन्छ ।  भगवानले मसंग परिक्षा लिंदै छन्  ।  यस्ता गम्भीर परिक्षा पास गर्न सक्यो भने सायद आउने दिनमा कसैले हराउन सक्दैन होला ।  मन कहिले आशावादी हुन्छ, कहिले निराशावादी । बस आफ्नै गतिमा चलिरह्यो।  मन भने म्याराथन भन्दा बढी दौडिरहेको थियो, कता कता ।  

'ल ल, कलंकी झरौं', भाइले फेरि एकपटक ढोका ठटाएर भयो ।  म झल्याँस्स भएँ ।  हल्का निदाएछु ।  मलाई तनाब धेरै भयो भने प्राय: निन्द्रा लाग्थ्यो ।  बसको ढोकामा पुगेर झोला खोतल्न लागेजस्तो गरें ।  भाइ परैबाट चिच्यायो ।  'दिदी भाडा पर्दैन ।'
दिनुपरेको भए पनि मसंग थिएन ।  मनमनै त्यो भाइलाई धन्यवाद दिएँ ।     

भोक लागिरहेको थियो । कोठामा पुगेर यसो हेरेको बोरामा चामल त थियो तर तरकारी थिएन । फेरि तरकारी किन्ने पैसा पनि थिएन । खानेपानी सकिएको रहेछ । गाडि भाडा नहुनेसंग पानी किन्ने पैसा कहाँबाट होस् ? जसोतस‍ो छाक टारें । 

काम थिएन अनि दाम पनि थिएन । त्यसै, बिरक्तिएर बसिरहेकी थिएँ । त्यहिबेला दुईजना महिलाहरुले कुरा गर्दै हिंडेको सुनिहालें कि घर बनाउने ठाउँमा दिनभर बालुवा चाल्यो भने ८०० दिन्छ । म उनिहरुलाई पछ्याउँदै बालुवा चाल्ने ठाउँसम्म पुगें र ती दिदीहरुलाई मलाई पनि काम मिलाईदिन आग्रह गरें । 

'तिमी यति सानी, कलिलो छौ, मेरी छोरी जस्तै । तिमीले कसरी काम गर्छौ नानू ? सक्दैनौ , नगर,' दिदीले मायालु स्वरमा भन्नुभयो ।
पैसा र अभावले ममा भित्रै देखि शक्ति जगाईदिएको थिय‍ो । 'म गर्न सक्छु दिदी । मैले पहिला गाउँमा हुँदा पनि यस्तो काम गर्थें ।' मैले भनें । दिदीले मलाई पनि काम मिलाईदिनुभयो । 
म टाउकोमा नातो र कम्बरमा पटुका कसेर बालुवा चाल्न सुरु गरें । दिनभर काम गरेपछि बेलुका ८०० सय बोकेर कोठामा फर्किएँ । थकानले जिउ पुरै दुखेको थियो । खाना बनाउन सकिन । चिया र बिस्कुट खाएर सुतें । कतिबेला निदाएछु पत्तै पाईन । बिहानै बजेको मोवाईलको रिङले ब्युझाईदियो । ममीको फोन रहेछ ।
'छोरी कलेज कस्तो हुँदैछ ? अनि काम पायौ ?' ममीले सोधिहाल्नुभयो ।
म उत्तरविहिन थिएँ, मधुर स्वरमा भनें, 'अँ राम्रो हुँदैछ, काम पनि गर्दैछु ।'
'के'मा काम गर्न थालेउ ?'
अब झनै जवाफविहिन थिएँ म । 'अँ ममी एउटा कम्पनी छ, त्यसमै हो', मैले जवाफ दिएँ ।
हुन पनि हो, मैले जिवनमा सोच्दै नसोचेको कम्पनीमा काम गर्दै थिएँ । बालुवा चालेर खानु नराम्रो कुरा त होईन, तर एउटा १७ वर्षकि केटीले आफ्नो पढाई खर्च ,दैनिकी र हातमुख जोड्नकै लागि वालुवा चाल्नुपर्ने अवस्था आउनु निकै दुख लाग्दो कुरा थियो।

'होर ! मेरी छोरी पनि जागिर खाने भैसकी । मैले भनेकी थिएँ नि तिमीले जे पनि गर्न सक्छौ । देख्यौ अहिले जागिर खाने भयौ', ममी खुसी हुँदै भन्नुभयो ।

ममीले मप्रति जगाईदिनुभएको हौसला निकै सान्दर्भिक थियो । तर म जा...गिर खाईरहेकी थिएँ । गिर्दै थिएँ, आफु आफैसँग गिर्दै थिएँ। ममीको कुराले भक्कानो भुटेर आईसकेको थियो । ममीलाई साँचो कुरा भन्न सक्ने सामर्थ्य पनि थिएन ममा । किनकी म आफ्नो जिद्दीले शहर पढ्न आएकी थिएँ। ममीले त उति बेला नै भन्नुभएको थिय‍ो कि ' छोरी त्यो शहर हामी जस्तो गरिब र पैसा नहुनेहरुको लागि होईन, नजाउ ।
आफ्नो ईमोसनलनलाई कन्ट्रोल गरें । 'ममी पछि फोन गर्छु है' भन्दै फोन राखिदिएँ । 

बाथरुममा गएर आधि घन्टासम्म डाँको छाडेर रोएँ र मन हलुका बनाएँ । मेरो दुख पोख्ने ठाउँ केवल बाथरुम थियो । मेरो दुख सुनिदिने पनि बाथरुमबाहेक अरु कोहि थिएन । दिनभर बालुवा चाल्दा निकै गार्हो हुने रहेछ ।भोलिपल्टदेेखि म त्यो काम गर्न असमर्थ थिएँ । एक दिन दुई दिन गर्दै ८०० सकिन कत्ति बेर पनि लागेन ।
अब के गर्ने ? मन ढुकढुक हुन थाल्यो । मेरा हातमुख सुक्ने दिन फेरि फर्किए भनेर । 

म भोकले छटपटिन थालें । चिन्ता र रोगले छटपटिन थालें । शोख नभै शोकले छटपटिन थालें । थाहा छैन आखिर जिन्दगीले छल्ने र छलाउने क्रम कहिलेसम्म जारि राख्छ । थाहा छैन, अभाव र गरिबीले निम्त्याएको आगो र छटपटिलाई कहाँको पानी खन्याउँदा शान्ति मिल्छ । सायद खाडिको हावाले निभाउन सक्छ ।

मैले भुत, बर्तमान र भविष्यसम्मका सारा लक्ष्यहरुलाई चटक्क छाडेर खाडी जाने निर्णय गरें । भोलिपल्ट म पनि पासपोर्ट बनाउन लाम लागेका युवाहरु संगै मिसिन पुगें । उनिहरुका कथा नि उस्तै रहेछन । घाउहरु मेरा भन्दा पनि निकै गहिरा र मार्मिक रहेछन ।